गाउँपालिकाको प्रशासनिक भवनको ठेक्का तोडियो

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का रद्द गरिएको छ । निर्माणाधीन प्रशासनिक भवनको ग्राउण्ड फ्लोरको पिलरको फेल भएको ल्याब रिपोर्टको सट्टा निर्माण व्यवसायीले पास भएको नक्कली ल्याब रिपोर्ट बनाएको खुलेको केही समयपछि ठेक्का रद्द गरिएको हो ।
Advertisement 1
गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीका प्रतिनिधिले ‘फेक’ ल्याब रिपोर्ट तयार पारेर पेस गरेको खुलेको थियो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्र वा सोभन्दा माथिल्लो आधिकारिक सरकारी निकायबाट विज्ञ ल्याएर स्थलगत ल्याब परीक्षण गर्ने मौका दिइए पनि निर्माण व्यवसायीले सो अनुसार ल्याब परीक्षण गर्न नसकेपछि सोमबार ठेक्का सम्झौता तोडिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।
Advertisement 2
ऐसेलुखर्क गाउँपालिकाले प्रदेश सरकारसँगको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २६ माघ २०७६ मा टेन्डर आव्हान गरेको थियो । ३० चैत्र २०७७ मा पेस्की २२ लाख ५० हजार फर्छ्यौट गरेको निर्माण व्यवसायीले ३९ लाख ९० हजार ७५३ रनिङ बिल मार्फत भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ । निर्माणाधीन भवनको पहिलो ग्राउण्ड फ्लोरको पिलरको गुणस्तर परीक्षणका लागि स्याम्पल ९कंक्रिट क्यूव० संकलन गरेर २१ जेठ २०७८ मा ल्यावटेष्ट गर्न गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पठाइएको थियो ।
सोको ल्याब रिपोर्ट फेल भएर आए पनि निर्माण व्यवसायीले पास भएको अर्को नक्कली ल्याब रिपोर्ट तयार पारेर गाउँपालिकामा बुझाएको खुलेको थियो । ‘फेक’ ल्याब रिपोर्ट ‘भेरीफाई’ नभएसम्मका लागि भन्दै गाउँपालिकाले १५ भदौमा पत्राचार गर्दै निर्माण कम्पनीलाई काम रोक्न पत्राचार गरेको थियो । त्यस यता भवनको काम ठप्प छ ।