राष्ट्रसेवक हुनु त देवेन्द्र कुमार झाजस्तो !

अञ्जनकुमार हिमाली
Advertisement 1
सरकारी सेवामा आकर्षण जति छ,उत्तिकै विभिन्न कारणले बदनाम पनि बन्दैछ यो सेवा । ढिलासुस्ती,कामचोर साथैं कमिसनखोर प्रवृत्तिका कारण व्युरोक्रेट बदनाम छ । तर यही व्युरोक्रेसीभित्र केही यस्ता इमान्दार कर्मचारी पनि छन् जो दत्तचित्त भएर जनताका सेवामा खटिरहन्छन्,जहाँ पुगे पनि,जहाँ रहे पनि ।
एकै पाइलाबाट शुरू गरिन्छ हजारौं माइलको यात्रा पनि । सामान्य परिवारमा जन्मे हुर्केका मधेसको एउटा युवामा त्यो चेतको प्रादुर्भाव नभइदिएको भए नेपाल खुलादिसा मुक्त मुलुक बन्ने थिएन होला । मधेसमा नेता तथा सभ्रान्तवर्गका मानिस बाहेक अरूलाई शिक्षा कल्पना भन्दा बाहिरको कुरा हो । अशिक्षा, गरिबी, र उत्पीडनलाई मोहरी बनाएर राजनीतिको फसल गर्न चाहने मधेसबादीको के कमी छ र ! तर मधेस अझै अशिक्षा, गरिबी र उत्पीडनको दलदलबाट व्युँझिन सकेको कहाँ छ र ।
Advertisement 2
भनिन्छ, कमल फूलको प्रदार्पण पनि हिलोमै हुन्छ । मधेसको त्यो विभीषिखालाई छल्दै २०२८ वैशाख १९ गते लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ धनुषामा बाबु महन्य झा र आमा अनुरागीदेवी झाको पाँच सन्तान मध्ये कान्छो सन्तान देवेन्द्र झा नै खुलादिसा मुक्त क्षेत्र अभियानका अभियोजनकर्ता हुन भन्दा अन्याय हुँदैन । गाउँकै लक्ष्मीनिया माविबाट २०४४ सालमा एसएलसी गरेपछि किन पढ्नु पर्यो भन्नेहरुको के कमी थियो र गाउँमा ।
आर्थिक अवस्था भन्दापनि पुरातन सोच बोकेकाहरु उनको यात्रामा तगारो बन्न चाहन्थे । खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तो उनले आफ्नो अध्यनको निर्णयलाई मर्न दिएनन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे लगतै २०४८ मा राप्ती एकीकृत ग्रामीण परियोजना तुल्सीपुर नगरपालिकामा सबओभरसियर भएर ०६३ सम्म काम गरे । नगरपालिकामा कार्यरत हुँदैका बखत ०६३ मै नेपाल सरकारको स्थायी कर्मचारीमा नाम निस्के लगतै खानेपानी डिभिजन कार्यालय दैलेखमा प्रमुख भएर गए । दैलेखमा खानेपानीको अवस्था मात्रै हैन सरसफाईको अवस्था गएगुज्रेको थियो ।
Advertisement 3
प्राचिनकालदेखि नै पवित्र भूमिका रुपमा चिनिएको भएपनि, सुर्खेतबाट जम्माजम्मी ६८ कि.मी टाढा दैलेख आर्थिक अवस्था नाजुक त थियो नै त्यसैलाई आधार मानेर प्राकृतिक, धार्मिक पुरातत्विक एवं ऐतिहासिक दृष्टिकोणले समृद्ध नै मानिएको जिल्लामा खानेपानी र सरसफाइ अस्तव्यस्त भएका कारण अकालमा ज्यान गुमाउने बच्चाहरुको सख्या बढोत्तरी थियो । झा ले सरसफाई र शुद्ध पिउने पानीको लागि अभियान चलाए । दैलेख जतिबसे देलेखीको मन मुटुमा बसे ।
२०६८ मा दैलेखबाट खोटाङ सरुवा भए । खोटाङमा पनि खानेपानीको त्यस्तै समस्या । काकाकुल खोटाङबासीको मनमा जुनजोगी आएपनि कानै चिरेका भन्ने अवस्था थियो । त्यति मात्रै कहाँ हो र पशु र मानिसहरु एउटै कुवाको पानी पिउँथे । गाईभैँसी त्यही मानिस पनि त्यही । तर उनले जनताहरूसँग प्रतिवद्धता जनाए, जति बस्छु गाउँवस्तीमा खानेपानी समस्या हल गरेरै छाड्छु । नभन्दै उनको कार्यकालमा खोटाङका दुर्गमबस्तीहरुमा शुद्ध खानेपानीको मात्र समस्या हल भएन जिल्ला खानेपानी तथा सरसफाई अन्तर्गत दैलेख र खोटाङलाई खुला दिसामुक्त जिल्ला बनाए ।
२०७१ को फागुनमा सिनियर डिभिजन इन्जिनयरमा बढुवा भएपछि उनको सरुवा तराईको महोत्तरी जिल्लामा भयो । महोत्तरीको जलेश्वर नेपालकै एक नम्बरको फोहोरी ठाउँमा पर्थ्यो होला साहेद । शौचालय कोही कसैको घरमा भएपनि सडकमा शौच गर्ने आदत बसेकाहरुलाई सडक सार्वजानिक स्थल भएकोले त्यही नै शौचको लागि उत्तम स्थान ठान्थे । राजनीतिक चेत भएकाहरु हुन वा साहु महाजन नै किन नहुन बिहानै लोटा लिएर दिसा गर्न सडकमा लाइन लाग्थे । खुला दिसापिसाब, फोहोर पिउने पानीका कारण दैनिक ३० जना बच्चाहरु झाडा पखालाले ज्यान गुमाइरहेका हुन्थे ।
जब उनी जलेश्वर पुगे उनले “लोटा छिन्” अभियान चलाए । सडकमा दिसा गर्न निस्कनेहरुलाई पुलिस लगाएर खेद्न थाले । जसका बिरुद्ध सडकमा दिसा गर्न पाउनु पर्छ भनेर आन्दोलन नै गरे । तिनताका महोत्तरीमा सिडिओ थिए दीपक काफ्ले । झाले सिडिओसंग कोडिनेशन गरी त्यहाँ भएका सबै राजनीतिक दलका प्रमुख, पत्रकार, नागरिक अगुवा, पुलिस प्रशासन लगायत सबैलाई भेला गरी शौचालय नबनाउनेहरुलाई सरकारी सेवा सुविधाबाटै वञ्चित गराउने अभियान चलाए । निम्न वर्गका परिवारलाई शौचालय बनाउन सहयोग गर्ने जानकारी गराए । तर नानी देखि लागेको बानी कसै गरेनी नजाने भने जस्तो महोतरी बासीले सडक मा दिसा गर्न नछाडे पछि उनीहरू लाई नागरिकता दिनै रोकियो । घरमा बत्तीपानी काटियो । बैंकले ऋण दिन रोक्का गरिदियो । त्यो सँगै उनीहरूले जनचेतना को अभियान पनि चलाए । दैनिक ३० जना बच्चा मर्नको कारण दुषित वातावरण भनेर चेतना जगाए ।
बिस्तारै मान्छेहरुमा चेत आयो । सरकारी सेवानै अवरुद्ध भएपछि शौचालय निर्माण भयो । फोहोर महोत्तरी एकाएक सुन्दर महोत्तरीमा रूपान्तरण भयो । वातावरणमा आएको परिवर्तनले बालमृत्यु दर ह्वात्तै घट्यो । दैनिक ३० जनामा ५ जनामा झर्यो । सरसफाई अभियानमा सहमति जुटाउन पनि उनले लाखौं खर्चेर भात खुवाउनु पर्यो । जे गरेर पनि उनी आफ्नो अभियान मा सफल भैछाडे ।
२०७३ मा खानेपानी ढल व्यवस्थापन विभागमा पुगेपछि उनी राष्ट्रिय खानेपानी सरसफाई तथा स्वास्थ्य समन्वय समितिको सदस्य सचिव भए । त्यहाँ बसेर उनले नेपाललाई नै खुलादिसा मुक्त देश बनाउने अभियान अन्तर्गत अनवरत लागिरहे । फलस्वरूप २०७६ असोज १३ गते साउथ एशिया मै पहिले खुलादिसा मुक्त मुलुक बन्यो नेपाल ।
सेवाग्राहीको नजरमा प्रविधिकहरु भ्रष्ट हुन्छन् भन्ने बलियो छाप परेको छ । सत्यता पनि छ । तर झालाई कसैको दुईपैसाले आकर्षण गरेन । तराईमा बस्दा उनलाई निकै डर थियो । केही फटाहा हरुले फसाउँछन भन्नेमा । तर इमान्दार भएर काम गरियो भने कहीँ कसैले दच्काउन नसक्ने रहेछन् भन्ने पाठ तराईको बसाइँले सिकायो । शुरुमा उनलाई सराप्नेहरु पछिल्लो समय भगवाननै ठान्न थाले ।
जिम्मेवार पुरा गरेपछि ०७७ जेठमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङमा कार्यभार सम्हालेका उनलाई अन्य क्षेत्रमा भन्दा यहाँ निकै सहज लागेको बताउँछन् । एकाध बाहेक यहाँका जनता निकै सहयोगी भावका भएको बताउँछन् । उनी जनतालाई एक रत्तिपनि दुःखानुभुती नहोस् भन्ने चाहन्छन् । इमान्दरितापूर्वक काम गरियो भने कसैसंग डराउन नपर्ने उनको बुझाइ छ । मुलुकलाई परिवर्तन गर्ने हो भने पहिला सज्जन कर्मचारी कै आवश्यक छ ।
उनी लप्पनछप्पन जान्दैनन् । जनताको काम हुनुपर्छ । राष्ट्रलाई ठग्न हुन्न भन्ने मान्यता बोकेका उनलाई एउटा अब्बल र इमान्दार कर्मचारीको रूपमा चित्रण गर्नुहुन्छ, लमजुङ्गका निवर्तमान सिडिओ सहसचिव होमप्रसाद लुइँटेल । एउटा वफादार राष्ट्रसेवक प्रहरी अफिसर लमजुङ जिल्लाका डीएसपी कृष्ण बहादुर कार्की हुन वा जिल्ला प्रशासन कार्यालय लमजुङ्गका लेखापाल रमेश विश्वकर्मा हुन काम गर्ने मामलामा झालाई खोट लगाउने कुनै ठाउँ देख्दैनन् । लमजुङमा अवरुद्ध कयौ खानेपानीको योजनाहरू उनले सुचारु गरेका छन् ।
करोडौंको बजेट तोब्बा पारेर जनतालाई खानेपानीबाट वञ्चित गराउन चाहने पानीमाफियाको उदेश्य उनले पुराहुन दिएका छैनन ।
उनको यही जनप्रेमीशैली देखेर निवर्तमान लमजुङ्गका सिडिओ लुइँटेलले जन सेवाश्री पदकका लागि सिफारिस पनि गरेका थिए तर झा आफैले पुरस्कार इन्कार गरे । यसो त पुरस्कार, प्रशंसापत्र, विभूषणको कुनै कमी छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा को हातबाट ०७४ साउनमा सहिद नवराज विष्ट मेमोरियल अवार्ड, ०७४ मै निजामति सेवा पुरस्कार, ०७५ मा मधेसी पत्रकार समाजले The100 Heros of madhes, उपराष्ट्रति नन्दबहादुर पुनको हातबाट शिखर नेपालको शिखर सम्मान २०७४, प्रहरी दिवस २०७८ मा लमजुङ प्रहरीबाट कदरपत्र लगायत थुप्रै सम्मान तथा पुरस्कार भन्दा जनताको माया र स्नेहनै आफ्नो लागि गौरवको विषय ठान्ने झा उदाहरणिय, प्रेरणाका पात्र बन्न सकेकोमा गौरव गर्छन् माननीय धनञ्जय दवाडी पनि ।