विनाशकाले विपरीत वुद्धी
न निर्मिता केन न दृष्टपूर्वा न श्रूयते हेममयी कुरङ्गी । तथाऽपि तृष्णा रघुनन्दनस्य विनाशकाले विपरीतबुद्धिः॥
Advertisement 1
यो श्लोकको अर्थ हुन्छ कि सुनको मृग न कसैले बनायो न त कसैले देख्यो , यो त रघुनन्दनको तृष्णा जस्तै हो जव अन्त्यको बेला आऊछ बुद्धी र विवेक पनि विपरीत हुन पुग्छ। नेपालका राजनीतिक दल, तिनीहरूको वर्तमान र भावि नेत्तृत्त्व र कार्यकर्ताको रवैयाले उक्त श्लोकलाई चरीतार्थ गरीरहेको आभास भै रहेको पाईन्छ। नेपालको राजनीतिक फांट अहिले चुनावमय भै रहेको छ। भनिन्छ,राजनीति सब भन्दा उत्तम नीति हो। देशको सबै नीतिलाई डोर्याउने नीतिको रूपमा मानिएको राजनीतिलाई डोर्याउने क्षमता भएको ब्यक्तिले सो नीतिको नेत्तृत्त्व गर्न पायो भने मुलुकले निकास पाउन सक्छ। लोकतान्त्रिक ब्यबस्थाको बलियो माध्यम निर्वाचन हो र यसैको माध्यमबाट नेत्तृत्त्व चुनिन्छ। त्यसैले चुनिने मान्छे त सक्षम हुनु पर्छ नै त्यति मात्रै हैन चुन्ने मान्छे वा मतदाता पनि उत्तिकै जिम्मेवार र सक्षम हुन जरूरी हुन्छ। तत्कालै नेपालका दुईवटा राजनीतिक दलले महाधिवेशनको नाममा चुनाव सम्पन्न गरे।
ती दुईले छानेको नेत्तृत्त्वले दुई फरक फरक सन्देश दिएको छ। एउटाले नेत्तृत्त्वलाई निरन्तरता दिएको छ भने अर्कोले नयां नेत्तृत्त्व ल्याएको छ। संसदीय मूल्य मान्यतालाई बिखण्डन गरेको, अरूको विचारलाई कदर नगरेको, आफ्नो बिचारमा बिमती राख्नेलाई पाखा लगाएको, राज्यका अंगहरूलाई आफ्नो नियन्त्रणमा राखेको आरोप खेपेको नेत्तृत्त्वले सम्पन्न एउटा महाधिवेशनबाट निरन्तरता पाएको छ।यो अधिवेशनमा विचारले नेत्तृत्व गर्नु पर्छ भन्नेहरू पराजित भएका छन्।यसको अर्थ अहिले मुलुकलाई चाहिएको राजनीतिक नेत्तृत्त्व यस्तै हो भन्ने हो कि नेत्तृत्त्वलाई मतदाताले छनौट गर्नु पर्नेमा मतदातालाई नै नेत्तृत्त्वले छनौट गरेको हुदा यस्तो नेत्तृत्त्व आयो भन्ने हो? निर्वाचनमा निरन्तरता पाऊनु पर्ने खाले नेत्तृत्त्वले निरन्तरता पायो कि पुरानै प्रवृत्ति दोहोर्याउने नेत्तृत्त्वले निरन्तरता पायो भनेर जवाफ खोज्ने हो भने पछिल्लो जवाफ भेटिन्छ। यसरी संविधान र कानूनको वर्खिलाप गर्ने, राज्यका अंगहरूलाई आफ्नो नियन्त्रणमा लिन खोज्ने ब्यक्तिले निरन्तरता पाउनु भनेको देश र जनताको चाहनालाई प्रतिनिधित्व गर्ने मानिस नेत्तृत्त्वमा पुगेको मान्न सकिन्न। यस्तो ब्यक्ति हमेसा सत्तामा रहन खोज्नु त्यो उसको सत्ता लिप्सा होला तर त्यस्तैलाई सत्तामा पुर्याउन भर्यांग बन्ने मतदाता वा कार्यकर्तालाई के भन्ने? यसलाई त्यही भन्नु पर्ला- विनाशकाले विपरीत वुद्धी:।
Advertisement 2
त्यस्तै निर्वाचनबाट नेत्तृत्त्व फेरेको अर्को पार्टीले एक यूवा पुस्ताका प्रतिनिधिलाई छनौट गरेको छ जुन सकारात्मक नै मान्नु पर्छ तर यूवा भन्नाले नयां सोच र नयां अवधारणाको माध्यमबाट देशलाई विकास गर्ने लक्ष्य लिएको हुनु पर्छ। ब्यक्ति उमेरको गणितले मात्र यूवा भएर हुदैन र सो ब्यक्ति विचारमा पनि यूवा हुनु पर्छ। पुरातनवादी र वहिष्कृत सोचलाई आधुनिकताको टालोले छोपेर आएको अवधारणा बोकेको ब्यक्ति आउनु भनेको पनि विनाशकाले विपरीत वुद्धी कै पर्याय नै हो। हुन त यो पार्टी त्यस्तै वासी विचार वोकेकाहरूको समूह हो तै पनि लोक तान्त्रिक विचार बोकेका दलहरू क्रमश: कमजोर देखिदै गएको पृष्ठभूमिमा यस्तो विचारले स्थान पाउनु पनि अस्वभाविक मान्न सकिदैन तै पनि यूवाहरूको नामबाट चर्चामा आयो यो पार्टीको महाधिवेशन। लामो समय सम्म देशको राजनीतिमा अनुभव संगालेको अर्को पार्टीले निकट भविष्यमै महाधिवेशन गर्दै छ। यो पार्टीले हाल सम्म गरेको महाधिवेशनको तयारीको अवस्था हेर्दा आफ्नो निकट विगतको चरीत्रमा केही फरक ल्याउने छनक देखाएको छैन।
जुन नेत्तृत्त्वले आफ्नो पार्टीलाई संसद भित्रै पनि बाईनाकुलर लगाएर खोज्नु पर्ने बनायो, सत्ता संग साझेदारी गरेर प्रतिपक्षी विहीन संसद बनायो, पार्टी भित्र विपक्षीको सृजना गर्यो, त्यही नेत्तृत्त्व दोहोरिने कोशिसमा छ र संस्थापन ईतरको समूह पनि मूक दर्शक भएर बसेको मात्र हैन कि बिकल्पकको लागि एक हुन पनि नसकेको अवस्था छ। यसरी परीक्षण भै सकेका नेत्तृत्त्वहरूले सकारात्मक सन्देश दिन नसकिरहेको अवस्थामा यस्तो नेत्तृत्त्वलाई निरन्तरता दिईनु कदापि राम्रो मान्न सकिदैन । यस्तो अवस्थामा यस्तो नेत्तृत्त्वलाई नदोहोर्याएर नयां ब्यक्तिलाई सो स्थानमा लग्न मतदाताहरू लाग्नु पर्ने हो तर हाम्रो देशमा यस्तो भै रहेको पाईदैन। यस्तो किन हुन्छ? यसको कारण खोज्न जरूरी भएको छ। या त मतदाताहरू नेत्तृत्त्वको प्रभावमा परेका छन् या मतदाताहरू स्वार्थी छन्।
Advertisement 3
सो नेत्तृत्त्वलाई सत्तामा पुर्याएर त्यसबाट आफ्नो स्वार्थ पूर्ति गर्न चाहने मतदाताहरू वास्तवमा मतदाता हैनन् र मतदातालाई प्रभावमा पार्ने उम्मेद्वार पनि सही उम्मेद्वार हुन सक्दैनन्। यसैले यस्तो बेलामा सोचेर बुझेर, गुट उपगुटमा नलागेर सही नेत्तृत्त्वको छनौट गर्नु आजको आवश्यकता हो। त्यस्तै अर्को दलले राष्ट्रिय भेलाको नामबाट गर्न लागेको महाधिवेशन पनि कर्मकाण्डीय हुनेमा कुनै शंका छैन। किनभने अहिले भन्न सकिन्छ कि नयां विचार वोकेको ब्यक्तिले सो अधिवेशनमा पनि नेत्तृत्त्व लिने छैन। यसरी नेपालका हरेक दलले देश र जनताको भावना र लयलाई सम्बोधन गर्न नसकेको अवस्था छ र तत्कालै सम्वोधन गर्न सक्ने ल्याकत राख्ने लक्षण पनि देखिदैन। यस्तो लक्षण देखिनु शुभ संकेत हैन। यस्तो अवस्थामा नेत्तृत्त्वको विवेक र वुद्धी पनि विपरीत हुन जान्छ र मुलुकले अझै पनि दुर्गति भोग्नु पर्ने अवस्था रहन्छ।