एकाघरका सातै सन्तान सरकारी सेवामा,दाजु बहिनी नै सरकारका सचिव

पारिवारिक पृष्ठभूमि
मेरो जन्म तेह्रथुम जिल्लाको तम्फुला गाविस हाल म्याङ्लुङ नगरपालिका-१० मा भएको हो। मेरा माता पिता तथा म बाहेक छ जना तीन भाइ तीन बहिनी छन्। माता पिता खेती किसानीमा हुनुहुन्छ। हाल मेरा भाइ-बहिनी सबै सरकारी सेवामा नै रहेका छन्। मेरो माइलो भाइ पुष्पप्रसाद गुरागाईं राजस्व न्यायाधिकरणमा लेखा सदस्य, ठूली बहिनी देवकुमारी गुरागाईं सचिव नेपाल सरकार, साइलो भाइ झइन्द्रप्रसाद गुरागाई( उपसचिव (कानून), माइली बहिनी सरस्वती गुरागाईं विद्यालय निरीक्षक, कान्छी वहिनी दोनुका गुरागाईं/ शिक्षक र कान्छो भाइ चिरञ्जीवी गुरागाईं सूचना अधिकृत, चलचित्र विकास वोर्डमा कार्यरत छन्।

Advertisement 1

वाल्यकाल
तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिकामा रहेको मेरो गाउँ केउरेनी सदरमुकामसँग जोडिएको भएपनि तुलनात्मक रूपमा सुख्खा क्षेत्रमा पर्दछ। मौसमको अनुकूलतामा खेती बाली हुने भएता पनि केही वर्ष सुख्खा भएर गाउँमा नै उब्जनी नहुने अवस्था थियो। केही तल नदी वहने भएता पनि बसोवास क्षेत्रको गाउँभर सिँचाइको व्यवस्था गर्न सकिएको थिएन । यसै कारण मेरा माता पिता ३० साल पूर्व भाइ(बहिनी सहित मोरङको सिँजुवा बसाइँ सर्नुभयो भने म चाहिँ तेह्रथुममै मामाको घर (सुर्के) मा बसी प्राथमिक तथा जिरिखिम्तीमा निम्न माध्यमिक शिक्षा हासिल गरेँ। मामा घरको व्यवस्थापनमा जिल्ला सदरमुकाम म्याङ्लुङमा रहेको सिंहबाहिनी माध्यमिक विद्यालयबाट २०३८ सालमा एस।एल।सी। गरेँ।मेरा माता पिताले खेती किसानी गरी भाइ-बहिनीलाई मोरङ सिजुवाकै स्कूलमा पढाउनु भयो।

उच्च शिक्षा अध्ययन र निजामती सेवामा प्रवेश
त्यस बखत मेरो मामा तोयनाथ भट्टराई काठमाडौंमा सरकारी जागिरमा हुनुहुन्थ्यो। वहाँकै सहयोगमा म एस।एल।सी। पश्चात् काठमाडौं (नेपाल ल क्याम्पस) मा उच्च शिक्षा अध्ययन गर्न आएँ। घरको आर्थिक स्थितिले मेरो पढाइ तथा भाइ(बहिनीका लागि धान्न सक्ने अवस्था थिएन। त्यसैंले काठमाडौं आउना साथ मामाको गाइडलाइनमा बसी जागिरको खोजीमा लागेँ। मेरो उमेर १८ वर्ष नपुगेको हुँदा वहिदार वा सो सरहको पदमा मात्र दरखास्त दिन पाउने व्यवस्था थियो। दैनिक गोरखापत्र हेरी जहाँ १६ वर्षले फाराम भर्न पाइने विज्ञापन भयो त्यही त्यही फाराम भर्दै परीक्षा दिँदै गर्दा छ महिनामा रिजल्ट आउन थाले। केही ठाउँमा सफल भइन भने अधिकाँश विज्ञापनमा लिखितमा नाम निस्कन थाल्यो। अन्तरवार्तामा भाग लिन थालेँ, केहीमा वैकल्पिक भएँ भने पहिलो पटक नेपाल विद्युत कर्पोरेशन (हाल नेपाल विद्युत प्राधिकरण) मा २०४१ पौषमा क्लर्क तेस्रो तहमा सिफारिस भयो। विहान क्याम्पस पढ्दै दिउसो जागिर गर्न थालेँ। यो जागिर मिलेपछि म आत्मनिर्भर भएँ। यसै क्रममा जागिर र पढाइ साथसाथै लग्न थालेँ। मेरा लागि नपुग हुने भरथेग मामाबाट भइरहेको थियो। करीव ५ महिना क्लर्क जागिर गरेकै अवस्थामा लोक सेवा आयोग म.क्षे.नि.बाट मुखिया पदमा सिफारिश भयो तर आयोगकै सोही वर्षको विज्ञापनमा लगत्तै खरिदार (न्याय) मा सिफारिस भएको हुँदा मुखियाको नियुक्ति लिन परेन। यसपछि २०४२ वैशाखमा न्याय सेवाको खरिदार (डिठ्ठा) मा महान्यायाधिवक्ताको कार्यालयमा नियुक्ति पाई नेपाल विद्युत कर्पोरेशन छाडी निजामती सेवामा प्रवेश गरेँ। निजामती सेवामा आउने प्रेरणा मामाबाट नै प्राप्त भएको हो र सेवामा आउनु उल्लिखित अवस्थाले वाध्यता पनि थियो।

Advertisement 2

निजामती सेवाको अनुभव र उपलव्धि
महान्यायाधिवक्ताको कार्यालयमा खरिदार पदमा रहँदा मैले हालसम्मको पद र योग्यता हासिल गर्न धेरै विषयमा जानकारी भयो। महान्यायाधिवक्ताको कार्यालयमा रहँदा रिट शाखामा काम गर्दा मुद्दाका विषयमा जानकारी भयो, अदालती प्रक्रियाबारे जानकारी भयो जसले उच्च शिक्षा हासिल गर्न समेत मद्दत भयो। पछि मेरो कामको कदर गरी महान्यायाधिवक्ताले पेश गर्ने वार्षिक प्रतिवेदन तयारी गर्ने अनुसन्धान शाखाको जिम्मेवारी पाएँ। यसले प्रतिवेदन तयारी सम्बन्धमा जानकारी भयो। पछि जिन्सी शाखामा पदस्थापन भयो त्यसबाट जिन्सी व्यवस्थापन सम्बन्धमा जानकारी भयो। पदमा रहँदा मिहेनत गरेर काम गर्यो भने माथिका पदका कर्मचारीले माया गर्ने, थप जिम्मेवारी दिने, थप जिम्मेवारी पाउँदा थप कुरा सिकिने अनुभव मैले गरेको छु । यसले थप माथि जान सहयोग हुने रहेछ। बीच बीचमा लोक सेवा आयोगका परीक्षा पनि दिँदै गएँ भने यही जागिरकै दौरान आई।एल। सकेँ। बी।एल।को पढाइ लगत्तै शुरू गरेँ। २०४६ सालमा ना।सु। प्रशासनमा आयोगको परीक्षा उत्तीर्ण भएपछि मैले सञ्चार मन्त्रालय अन्तरगत हुलाक सेवा विभागमा नियुक्ति पाएँ र विभागमा काम शुरू गरेको थिएँ। यसै समय बी।एल।को पढाइ पनि सकियो।

महेन्द्र गुरागाईं र देवकुमारी गुरागाईं

त्यस बखत २०४६ सालको जनआन्दोलन चलिरहेको थियो।यसै बीचमा २०४६ सालमा बी.एल. सकियो तर लोक सेवा आयोगका विज्ञापन भएनन्। त्यस समयमा प्रशासन सेवा अन्तरगत हुलाक समूह गठन भई त्यहाँका कर्मचारीलाई हुलाक समूहमा राखियो। पछि सबैभन्दा पहिलो विज्ञापन २०४९ सालमा हुलाक समूहको शाखा अधिकृत खुल्यो। हुलाक सेवामा नै कार्यरत भएकाले हुलाक सम्बन्धी ऐन कानून, हुलाक सम्बन्धी अन्य विषयमा पूर्ण जानकारी भएकाले हुलाक अधिकृतमा सफल हुन कुनै कठिनाइ भएन। त्यसताका हुलाक समूहमा कार्यरत केही कर्मचारी साथीहरू पास भयौं र हुलाक समूहको अधिकृत पदमा काम गर्न थालियो। यसै समय नाइट कक्षा चल्ने भएकाले एम।पी।ए। अध्ययनका लागि जन प्रशासन क्याम्पसमा भर्ना भएँ र मास्टर डिग्रीको अध्ययन पनि साथै लगेँ।

Advertisement 3

यस बीचमा अधिकृत पदमा पाँच वर्ष पुगेपछि उपसचिव पदमा लोक सेवा आयोगका परीक्षा दिन थालेँ। दुई पटक हुलाक समूह कै उपसचिव पदमा लिखितमा नाम निस्कियो तर सिफारिशमा पर्न सकिन। तेस्रोपटक प्रशासन सेवाको उपसचिवमा नाम पनि निस्कियो र सिफारिश पनि भएँ। यसरी मेरो अनुभवमा एक दुई पटक सफल हुन नसके पनि आफ्नो कमीलाई ध्यान दिई थप मिहेनत गरेमा सफल हुन सकिने रहेछ भन्ने आत्मविश्वास बढ्दै गएको थियो।उप सचिव पदमा सोलुखुम्बु जिल्लामा स्थानीय विकास अधिकारी पदमा पदस्थापन भयो र दुई वर्ष स्थानीय विकास अधिकारीको रूपमा २०५६ वैशाखदेखि २०५९ वैशाखसम्म कार्यरत रहेँ। यस अवधिमा जिल्लाको विकास प्रशासन, योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन मुल्याङ्कन लगायत धेरै विषयमा जानकारी हासिल गर्ने मौका मिल्यो। २०५८ साल मंसिर महिनामा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको द्वन्दको घटना पछि केही समय स्थानीय विकास मन्त्रालयमा काजमा रहेको थिएँ। सोलुको घटनाका कारण जिल्ला जान त्यति मन मानेन र सरूवा भई स्वास्थ्य मन्त्रालय आएँ। स्वास्थ्य सेवामा विगत देखि रोकिएका बढुवा तथा पदपूर्तिको व्यवस्थापन गर्दा कर्मचारीको सेवा समूह सम्बन्धी कानूनमा परिचित हुने मौका मिल्यो भने नेपालको स्वास्थ्य प्रणालीका बारेमा पूर्ण जानकारी भयो।
स्वास्थ्य सेवामा कार्यरत रहँदा विभागमा एक वर्ष र मन्त्रालयमा तीन वर्ष कार्यरत रहेँ। त्यसपछि उपसचिव पदमै लोक सेवा आयोगमा सरूवा भयो। लोक सेवा आयोगमा रहँदा शाखा प्रमुखको रूपमा कार्यरत रहँदा आयोगको बारेमा जानकारी भयो। केही वर्षको प्रयास पछि सहसचिव पदमा पास भएँ र सञ्चार मन्त्रालयमा पहिलो पदस्थापना भयो। हुलाकमा १० वर्ष काम गरेको अनुभवले मन्त्रालयमा काम गर्न सहज भयो भने मन्त्रालयको काम तथा मातहत निकायका नीतिगत विषयमा जानकारी पाउने मौका भयो। सञ्चार मन्त्रालयमा अढाइ वर्ष काम गरेपछि पुनः सहसचिव पदमा लोक सेवा आयोगमा नै सरूवा भयो। यस पटक मैले मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा क्षेत्रीय निर्देशक पदमा रही आयोगका अपरेशनल कार्य बारे जानकारी हासिल गरेँ। एक वर्ष काम गरेपछि मेरो सरूवा सामान्य प्रशासन मन्त्रालयमा भयो। त्यस बेलाको निजामती सेवा ऐनले गरेको २४घ१ को व्यवस्था कार्यान्वयन गर्ने जिम्मा मेरो भागमा पर्‍यो र त्यो जिम्मेवारी केही साथी तत्कालीन उपसचिव झरेन्द्र चापागाई र नरेन्द्र कुँवर तथा कर्मचारी संघ संगठनको पूर्ण सहयोगमा कुशलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा मैले गौरव महसुस गरेको छु।
डेढ वर्ष सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहेपछि मेरो सरूवा पुनः अर्को पटक लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा भयो। मैले त्यस निर्देशनालयमा रहँदा यस अघि सुर्खेतमा रहँदा अनुभव गरेका र कार्यान्वयन गर्न बाँकी कार्यहरू कुशलतापूर्वक सम्पन्न गर्न सफल रहेँ।सहसचिव पदमा आयोगको क्षेत्रीय निर्देशनालयमा चार वर्ष अवधि काम गरेपछि मेरो नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा भयो र मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासक पदमा पदस्थापना भयो। क्षेत्रीय प्रशासक पदमा कार्यरत रहेको अवस्थामा क्षेत्रभित्रको सुरक्षा लगायत समग्र विकास निर्माणका काम अनुगमन गर्ने काम गरेँ। सोही बीचमा निर्वाचन सम्बन्धी काम पनि थियो निर्वाचन आयुक्त आउनु भएको हुँदा सबै जिल्लामा निर्वाचन सम्बन्धी कार्यक्रममा वहाँसँग गई आवश्यक कार्य सम्पादन समेत गर्ने अवसर मिल्यो। यस अघि लोक सेवा आयोग र क्षेत्रीय प्रशासकमा सोही क्षेत्रमा परेको हुँदा उक्त क्षेत्रका सबै जिल्लामा पटक पटक भ्रमण गरी वस्तुस्थिति बुझ्ने तथा आवश्यकतानुसार समस्या समाधान गर्ने पहल गरेँ। यसले मलाई अझ थप भौगोलिक जानकारी हासिल गर्न सघाउ पुर्‍यायो। सोही वखत नेपालगञ्ज तथा वर्दियामा बाढी डुवान भयो र प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी तथा विकास कार्यालय एवं निजी कालिका कन्ष्ट्रक्सन कम्पनी समेतको सहयोगमा उद्दार तथा राहतको कार्य समयमै कुशलतापूर्वक सम्पन्न भयो। यसबाट दैवी प्रकोप, उद्दार तथा राहत सम्बन्धी कामको राम्रो अनुभव भयो।

छ महिना क्षेत्रीय प्रशासक भई कार्य गरेपछि पुनः सचिव पदमा समेत लोक सेवा आयोगमै सरूवा भयो। उपसचिव तथा सहसचिव पदमा रहँदा गरेको कामको अनुभवका आधारमा आयोगको विभिन्न काममा थप सुधार गर्ने प्रयास गरेँ। बीस महिना कार्यरत भएपछि मेरो सरूवा प्रधानमन्धी तथा मन्त्री परिषद्को कार्यालयमा भयो। यस कार्यालयमा डेढ वर्ष कार्यरत रहँदा शासकीय सुधार, सुशासन प्रवर्द्धन, विकास निर्माण र प्रदेश समन्वय सम्बन्धी कामको जिम्मेवारी सम्हालेको थिएँ। यस कार्यालयमा रहँदा अलि छुट्टै प्रकृतिको काम गरेको र सोबाट मेरो सोचको दायरा फराकिलो भयो। यस बीच कोभिड-१९ को संक्रमण नेपालमा आयो। यस रोगको व्यवस्थापनका लागि नेपाल सरकारबाट गठित उच्चस्तरीय समिति (CCMC) अन्तरगत सचिवालय संयोजकका रूपमा समेत दश महिना कार्यरत भएँ। यस अवधिमा कोभिड-१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने अवसर मिल्यो। यस अवधिमा भएका काम कारवाही र उपलव्धिको विवरण मेरो सक्रियतामा प्रतिवेदनको रूपमा कोभिड-१९ महामारी र प्रतिकार्य पुस्तक प्रकाशन समेत भएको छ।यस अवधिमा नेपाल सरकारबाट नेपालको संविधान बमोजिम पेश हुने दुईवटा वार्षिक प्रतिवेदन तयार गर्ने काममा समेत मेरो महत्वपूर्ण भूमिका रहेको छ।

हाल पुनः लोक सेवा आयोगको सचिव पदमा २०७७ फागुनमा सरूवा भई हालसम्म कार्यरत रहेको छु। कोभिड(१९ को संक्रमणको कारण र आयोग गठनमा भएको ढिलाईका कारण आयोगबाट सञ्चालन हुन नसकेका परीक्षाहरूको कोभिड(१९ को संक्रमणको सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाई हाल करिव डेढ वर्ष रोकिएका कार्य छ महिना भित्र सम्पन्न गरी आयोगको नियमित काममा ल्याइपुर्‍याउन प्रयास भइरहेको छ। दैनिक १४ देखि १६ घण्टासम्म काम भइरहेको छ। यसबाट जस्तोसुकै चुनौती भएपनि लगनशील र इमान्दारिताका साथ काम गरेमा सफलता पाउन सकिन्छ भन्ने उदाहरणीय कार्य भएको महसुस गरेको छु।

निजामती सेवाका विभिन्न सहायकदेखि विशिष्ट श्रेणीसम्म कार्यरत रहँदा धेरै वटा कार्यालयमा काम गरेको अनुभव छैन तर जति कार्यालयमा कार्यरत रहेँ हरेक तहमा कम्तीमा एउटा उल्लेख्य आफूलाई गौरव लाग्ने कार्य गर्न सफल भएको महसुस गरेको छु। हालसम्म हुलाक कार्यालय भित्र दश वर्ष र लोक सेवा आयोग भित्र करिव दश वर्ष कार्यरत रहेँ। हुलाक अधिकृत भई काभ्रे जिल्ला हुलाकमा रहँदा कर्मचारीलाई उनीहरूले इच्छा गरेको स्थानमा खटाउँदा पनि लगभग ८० प्रतिशत कर्मचारीलाई खटाउन सकिने रहेछ भन्ने अनुभव गरेँ। गोश्वारा हुलाकमा कार्यरत रहँदा हुलाक वस्तु हराउने र कर्मचारीले क्षतिपूर्ति व्यहोर्नु पर्ने अवस्थालाई व्यवस्थापकीय सुधार गरी नहराउने भएको अनुभव मेरो रहेको छ।लोक सेवा आयोग भित्र विभिन्न कार्यालय तथा केन्द्रमा रहँदा आयोगको काम कारवाहीलाई समयसापेक्ष बनाइ सुधार गर्न योगदान पुगेको छ भन्न मलाई हिचहिचाहट छैन। अन्य कार्यालयमा रहँदा गरेको कामको अनुभव र सिकाइ माथि प्रसंग प्रसंगमा उल्लेख गरेको छु।

जिल्ला तथा वैदेशिक भ्रमण
कार्यरत अवधिमा काम गर्न तथा सरकारी कामको सिलसिलामा नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा पुगेको छु। थोरबहुत सबै जिल्लाको बारेमा जानकारी प्राप्त भएको छ। मनाङ र मुस्ताङ दुई जिल्ला सदरमुकाम भने पुग्न बाँकी छ, मेरो बाँकी सेवा अवधिभित्र पुग्ने लक्ष्य राखेको छु। वैदेशिक भ्रमण तालिमका हकमा मेरो अनुभव अली कम नै छ। सेवा अवधिमा विभन्न कार्यालयमा कार्यरत रहेको अवधिमा भारतको दिल्ली, देहरादुन र मुम्वइ, थाइल्याण्ड, तेहरान इरान, बुसान कोरिया, ह्याङ्जाउ चीन, योग्यकार्टा इण्डोनेशिया, सिङ्गापुर, टोकियो जापान, दुवई, पेरिस फ्रान्स, कोपनहेगन डेनमार्क आदि मुलुक तथा स्थानमा सरकारी तालिम तथा गोष्ठी सेमिनारमा भाग लिने अवसर भयो।यी मुलुकहरूको भ्रमणबाट विभिन्न विषयमा थप ज्ञान सीप तथा विकसित मुलुकका विकास निर्माणसम्बन्धी जानकारी हासिल गर्ने अवसर मिलेको छ।

निजामती सेवामा प्रवेश गर्दा र अहिलेको अवस्था
२०४२ सालमा निजामती सेवामा मैले प्रवेश गर्दा र अहिलेको अबस्थामा आकाश जमिनको फरक भएको मेरो अनुभव छ। त्यस बेला सबै काम टाइपराइटरबाट गरिन्थ्यो भने अहिले टाइपराइटर देख्न पाइन्न। अझ सरकारी सेवा सबै म्यानुअल रूपमा गर्नु पर्दथ्यो भने अहिले धेरै सेवाहरू अनलाइन रूपमा गर्न सकिने भएको छ। त्यस बेलामा कैयौं दिन लगाएर गर्नु पर्ने काम कर्मचारीले चाहेमा अहिले केहीबेरमा सम्पादन गर्न सकिने गरी टेक्नोलोजीको विकास भएको छ। सरकारी निकायमा नयाँ टेक्नोलोजीको प्रयोग बढेको छ। कर्मचारीको मनोभावनामा परिवर्तन भएको छ। लोकतन्त्रको प्रतिफल कर्मचारीले पनि उपभोग गरिरहेको पाइन्छ। यदाकदा भने कर्मचारीको सेवाभावमा भने तुलनात्मक रूपमा खस्केको हो कि भन्ने भान हुन्छ।

अन्त्यमा,
निजामती सेवा यस्तो सेवा हो यसले जो कोहीलाई देशको जुनसुकै भागमा काम गर्ने अवसर मिल्दछ। पढेर जानेको भन्दा काम गरेको अनुभवबाट सिकेका कुरा व्यावहारिक हुनुको साथै दिगो हुने रहेछ भन्ने मैले महसुस गरेको छु। मलाई एउटा कुरामा भने गौरव लागेको छ कि नेपाल विद्युत कर्पोरेशनको क्लर्क तेस्रो तहदेखि नेपाल सरकारको विवशिष्ट श्रेणीसम्मको सरकारी पदमा पुग्दा सचिव पद बाहेक अन्य सबै पदमा लोक सेवा आयोगबाट लिइने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पुग्न सफल भएको हुँ। लोक सेवा आयोगको योग्यता, निष्पक्षता, स्वच्छता र आयोगले अवलम्बन गरेका मेरिट प्रणालीबाट नै विशिष्ट श्रेणीको पदमा पुग्न सम्भव भएको हो।

यी माथि भनिएका कुराहरू मेरो सरकारी जीवनमा अनुभव गरेका सार कुरा हुन्। यस छोटो भनाइमा सबै कुरा नसमेटिएका हुन सक्छन् तर जति यसमा समेट्न सकिएको छ यसले म जस्ता ग्रमीण भेगबाट केही गरौं भन्ने सोचका साथ अगाडि बढ्न चाहनेहरूका लागि केही उदाहरणीय वा मननयोग्य हुन सक्लान्, यसले कसैको जीवनमा केही मद्दत पुग्ला भन्ने सोचकासाथ मेरा व्यक्तिगत कुराहरू बताएको हो, यसलाई अन्यथा नसम्झिदिन म आग्रह गर्दछु।

प्रकाशित :२०७८ आश्विन २१, बिहीबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry