फोहोरी खेल नै हो त राजनीति ?
भनिन्छ राजनीति फोहारी खेल हो तर पनि मानिसहरु राजनीति गरिरहेका हुन्छन् र यसो भन्नेहरुकै भीडबाट राजनीतिकर्मी, नेता र कार्यकर्ताको उत्पादन भइरहेको हुन्छ । हुन त मानिस स्वभावैले महत्वाकांछी प्राणी हो । ऊ शक्तिको भोको हुन्छ र त्यसको उपयोग गरी शक्तिको शिखरमा पुग्न चाहन्छ । सबैको बीचमा चर्चामा आउन पनि चाहन्छ । त्यही स्वभावका कारणले मानिस राजनीतिमा होमिएको पाइन्छ ।
Advertisement 1
दार्शनिक थोमस हब्सका अनुसार मानिस स्वार्थी हुन्छ, शक्तिको स्वाद लिने इच्छाले ऊ परिचालित हुन्छ । त्यसैले मानिस राजनीतिमा होमिन्छ । अन्य नीति या पेशा–व्यवसाय जेमा लागेपनि मानिस स्वार्थबाट नै परिचालित हुन्छन् । हब्सको भनाइ जे रहे तापनि आज मानिसहरु राजनीतिमा संलग्न रहिरहेका छन् । हलिउड, बलिउडका नामी कलाकार, प्रसिद्ध उद्योगी, व्यापारी, वकिल, चिकित्सक, कहलाएका धनीमानी सबले राजनीति गर्ने चाहना राख्दछन् ।
हलिउडका राम्रा कलाकार रोनाल्ड रेगन अमेरिका जस्तो महाशक्ति राष्ट्रको राष्ट्रपतिमा नै निवार्चित भए । त्यस्तै भारतका अमिताभ बच्चन सांसद् बने । इटालीका हास्य कलाकार विप्पे ग्रलो पनि राजनीतिका नेता बने । नेपालमा पनि कलाकारहरु रेखा थापा र भुवन केसी दोस्रो संविधानसभाको चुनावताका चर्चामा आए । गायिका कोमल वली पनि राजनीतिमा लागेकी छिन् । नेपालका ठूला व्यापारिक घरानाका मानिसहरु पनि चर्चामा आए राजनीति गर्ने भनेर । गैरराजनीतिक क्षेत्रबाट राजनीतिक क्षेत्रमा प्रवेश गर्नेहरुका यस्ता धेरै उदाहरणहरु छन् ।
Advertisement 2
त्यसो भए के राजनीतिमा लाग्ने सबै पद र शक्तिका भोका मात्र हुन्छन् त ? हब्सको यो भनाइ पनि अपवाद भने नभएको हैन । महात्मा गान्धी, नेल्सन मण्डेला, अब्राहम लिङ्कन जस्ता मानिसहरुको व्यवहारलाई हेर्दा हब्सको यो भनाइ अपवाद जस्तो देखिन्छ । किनकि, यी व्यक्तिहरुको व्यवहारले राजनीतिमा कोही, कोही मानिस साँच्चै समाजसेवाका भावले देश, जनता र समाजका लागि समर्पित भएर पनि राजनीतिमा लाग्दा रहेछन् भन्ने देखायो ।
राजनीति दुई प्रकारको हुन्छ एउटा प्रत्यक्ष र अर्को अप्रत्यक्ष । प्रत्यक्ष भनेको संगठित हुने, नेता बन्ने, चुनाव जित्ने र सत्तामा या पदमा पुग्ने हो भने अप्रत्यक्ष भनेको राजनीतिमा सीधै प्रकट नहुने तर रुचि भने राख्ने हो । पहिलो खालको राजनीति प्रत्यक्ष देखिन्छ भने अर्कोको खालको त्यति देखिन्न । यसरी हेर्दा प्रत्यक्ष राजनीतिमा प्रकट नभएपनि कुनैपनि मानिस राजनीतिको लगावले नछोएको विरलै पाइन्छ । पाइला पाइलामा राजनीति भएको हुन्छ ।
Advertisement 3
राजनीति गर्दिनँ भन्नेलाई पनि राजनीतिले पछ्याइरहेको हुन्छ । पद प्राप्तिलाई मात्र राजनीति भनिन्न । जीवनको पाइला पाइलामा मानिसले राजनीति त गरिरहेकै हुन्छ । तर कसैले सकारात्मकतालाई अँगालेर समाज, राष्ट्र र त्योभन्दा पनि माथि उठेर मानवता र जीवात्माकै लागि राजनीति गर्दछन् भने कसैले नकारात्मक सोच र निहित स्वार्थको लागि आत्मकेन्द्रित भएर गरेका हुन्छन् । कोही मानिस आफ्नो प्रस्ट विचार तथा दृष्किोणकासाथ समाज परिवर्तनका लागि राजनीति गर्दछन् त अर्काथरी पेशा र व्यवसायको रुपमा यसलाई उपयोग गर्न खोज्दछन् । यसैलाई आयआर्जन र जीविकोपार्जनको माध्यम बनाएर हिँडेका हुन्छन् ।
समाज परिवर्तनका दृष्टिले राजनीति नै उच्च तथा राजा नीति हो । कुनै पनि देशको सामाजिक तथा आर्थिक परिवर्तन त्यो देशको राजनीतिक गतिविधिमा नै निर्भर गर्दछ । देशमा सञ्चालित राजनीतिक क्रियाकलापले नै देश र जनताको भविष्य कोरिने हो । जुन–जुन देशमा विकास भएको छ त्यो त्यहाँको राजनीतिक कार्यक्रमले नै ल्याएको विकास हो । राजनीति भनेको नेतृत्वमा निर्भर गर्ने वस्तु हो ।
जुन देशका राजनेताहरु प्रस्ट विचार र दृष्टिकोण भएका, इमानदार, देश र जनताका लागि चिन्तनशील, असल र सुसंस्कृत छन्, ती देशहरुले छोटो अवधिमा पनि धेरै विकास गरेका छन् । जहाँ–जहाँ राजनेताहरु बेइमान तथा स्वार्थी छन्, आफ्नो निहित स्वार्थमा लाग्दछन्, आत्मकेन्द्रित भएर निर्णय गर्दछन्, ती देशहरु कि त द्वन्द्वको चपेटामा परेका छन् कि गरीबी र पछौटेपनले पिल्सिइरहेका छन् । नेपाल पनि ती देशहरुमध्ये एक हुन पुगेको छ । अपार प्राकृतिक स्रोत र साधनको धनी देश भएरपनि आज अति गरीब तथा विपन्न राष्ट्रको रुपमा परिचित हुन पुगेको छ नेपाल ।
विकासको प्रचुर अवसर हुँदाहुँदै पनि अहिले प्रत्येक नेपालीको टाउकोमा ऋण थोपरिएको छ । एक्काइसौं शताब्दीमा प्रवेश गर्दापनि विकासका पूर्वाधार तयार छैनन् । देश विकासमा युवाशक्तिको आवश्यकता रहँदारहँदै पनि आज लाखौंलाख युवाशक्ति विदेशिएको छ । हाम्रो सुन्दर प्राकृतिक सम्पदा, जलस्रोत, जडीबुटी, जैविक विविधता, साँस्कृतिक सम्पदा र जनशक्तिको उपयोग गरी देशमा विद्यमान गरीबी र पछौटे पनको अन्त्यका लागि असल राजनीतिक नेतृत्वको खाँचो छ ।