/* google adsense */

यो आर्थिक बर्षभित्रैमा १२ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएका छौं

सात महिना देखि युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कमाण्ड गरिरहेका छ डा कल्याण रोक्का । राजनीति र प्रध्यापन पृष्ठभूमि बोकेका रोकाका अघि युवा तथा स्वरोजगार कोषप्रति विगतमा लागेको कालो धब्बा मेट्नुमात्र छैन्,कोष भनेको साच्चैं युवाहरुको भन्ने बनाएर देखाउनु पनि छ । उनका कार्यकक्षमा अहिले पनि दैनिक सयौंका संख्यामा युवाहरु कर्जा मिलाइदिनु पर्यो भन्दै आउँछन्,धेरैलाई भ्रम छ,कोष आफैंले युवालाई कर्जा दिन्छ भनेर,तर कर्जा सहकारीमार्फत मिल्छ,जम्मा ८ प्रतिशत ब्याजदरमा । कर्याविधि छ नै त्यस्तो । उनी त्यसरी आएका युवालाई कन्भिन्स मात्र गर्दैदनन्,स्वदेशमै केही गरौं भन्ने उर्जा भरेर पठाउँछन्,आफूलाई भेटन आएका युवाहरुलाई । जनसंख्या अध्ययन, समाजशास्त्र मानवशास्त्र, इन्टरनेशनल इकोनोमिक कोअपरेशन र राजनीतिकशास्त्र सहित ४ विषयमा स्नात्तकोत्तर गरेका र चीनको वेइजिङ्गबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी उतीर्ण गरेका उनी एक कुशल अर्थ राजनीतिक विश्लेषक पनि हुन् :-

० कोरोनाको कहरमा नेतृत्व लिनु भएको छ । तपाईंको आफ्नो कार्यकाल सफल बनाउन के कस्ता योजनाहरू छन ?
७ महिनाको अवधिमा हाम्रो काम धेरै नै भएको छ । विश्वभरि कोरोनाको महामारी भए पनि हामीले कामलाई निरन्तरता दिएका छौँ । म आउनुभन्दा अगाडि कार्यविधिहरू थिएनन् । बन्द हुने अवस्थामा पुगेको थियो । जिल्लामा हाम्रो संरचना बन्द भएको थियो हाल ६० ओटाभन्दा बढी जिल्लामा हाम्रो संरचनाहरूले पुनर्जन्म पाएको छ । कोसी इकोनोमिक करिडोर, तराई–मधेश स्वरोजगार कार्यक्रम, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, भेरी–कर्णाली इकोनमिक कोरिडोरहरूको नाममा कार्यक्षेत्र बनायौँ । नीतिगतरूपमा हामीले धेरै परिर्वतन ल्याएका छौँ । हामीले सफ्टवेयर निर्माण गरेका छौँ । यो साउन १ गतेदेखि लागू गर्दै छौँ । हामीले अध्ययन अनुसन्धानको कामलाई पनि अगाडि बढाएका छौँ । अपांगको क्षेत्रमा के गर्न सकिन्छ, द्वन्द्वपीडितहरूलाई के गर्न सकिन्छ, रिमोट एरियामा के गर्न सकिन्छ भनेर हामीले अध्ययन अनुसन्धान गरेका छौँ । यस्ता कामहरू भएका छन् ।
० कति युवाहरूलाई स्वरोजगार बनाउने तपाईंको योजना रहेको छ ?
पैसा कति छ भनेर हामी हेर्दैनौँ । हामी मान्छेको आवश्यकतालाई हेर्छौँ । ७ महिनाको अवधिमा पनि १० हजार युवालाई स्वरोजगार बनाएका छौँ । साउन १ गतेदेखि आर्थिक वर्षभरिमा १२ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । १२ हजारमा हामी चित्त बुझाएर बस्दैनौँ, राज्यले दिएको दायित्वभन्दा दोब्बर पु¥याउने हाम्रो योजना छ ।
० स्रोत साधनको अवस्था कस्तो छ ?
स्वरोजगार, उद्यम सिर्जना भनेको पैसाले गर्दैन । उद्यमशील बन्नको लागि सोच चाहिन्छ । त्यही धारणा भएको व्यक्तिलाई उद्यमशील र स्वरोजगार बनाउने काम हामी गर्दछौँ । यसले पैसा मात्र वितरण गर्ने होइन युवाहरूलाई कसरी सक्षम बनाउने कुरामा पनि ध्यान दिएको छ ।
० तपाईंहरूलाई के आरोप छ भने सत्ता निकट भएका मान्छेले मात्र अवसर दिनुहुन्छ, सामान्यलाई अवसर पाउन गाह्रो छ । वास्तविकता के हो ?
हिजो यो माओवादीकालमा खुल्यो र त्यतिबेला उहाँहरूले आफ्नो मान्छेलाई पैसा वितरण गर्नुभयो । उहाँहरूले ५ करोडसम्म लैजानुभयो । त्यो हामीले ९५ प्रतिशत फिर्ता ल्याएका छौँ । हुनत हाम्रो नियुक्ति राजनीतिक हो । तर, पनि हामीबाट त्यस्तो हुँदैन । सरकारको नीतिअनुसार हामी काम गछौँ । हाम्रो आँखामा कोही पनि कांग्रेस, एमाले, माओवादी हुँदैन । हाम्रो लगानी सही ठाउँमा गयो कि गएन भन्ने मात्र हुन्छ । हिजोको दिनमा जस्तो पैसा निकालेर सहकारीमा हाल्ने, जग्गा किन्ने, आफ्नो कार्यकता पाल्ने हुँदैन ।

खोटाङे डा. रोकाको काँधमा युवा स्वरोजगार कोष « Tuwachung.com
० युवा तथा साना व्यवसायी स्वरोजगार कोषको परिचय र उद्धेश्य के–के हुन बताउनुहोस् न !
देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट विस। २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

स्थानीय श्रोत, साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम घोषणा गरी सञ्चालनमा ल्याएको छ । मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिकरूपमा सक्षम, सामाजिकरूपमा जिम्मेवार, सास्कृतिकरूपमा जागरुक एवं सिर्जनशील बनाई स्वरोजगार कार्यक्रमहरूमा उनीहरूको सहज पहुँच, प्रयोग र स्रोत परिचालन गर्न सक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराई स्वरोजगार/ रोजगार सिर्जनाका कार्यक्रमलाई प्रभावकारी बनाउन युवा स्वरोजगार कोषका नियमित तथा थप कार्यक्रम र क्रियाकलापहरू सञ्चालित भइरहेका छन् । आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरू तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति रु। दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरूको आय आर्जनमा वृद्घि गरी जीविकोपार्जनलाई सहज बनाउनु मुख्य उद्देश्य रहेको छ । कोषको अन्य उद्देश्यहरू देहाय वमोजिम रहेका छन्ः रिक्सा, अटोरिक्सा, ठेलागाडा व्यवसाय, दुग्धजन्य व्यवसाय, प्लम्बिङ, इलोक्ट्रोनिक्स तथा इेक्ट्रिकल, साना तथा घरेलु व्यवसाय, सिकर्मी तथा डकर्मी, रंग–रोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालनजस्ता स्वदेशी श्रम, सीप, ज्ञान एवं सानो पूँजीबाट सञ्चालन गर्न सकिने स्वरोजगार कार्यमा ऋण उपलब्ध गराउने । स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीयस्तरमा उत्पादन हुने वस्तुको व्यवसायिकरणमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने । ‘एक गाँउ–एक उत्पादन’ र ‘एक परिवार–एक रोजगार’जस्ता परियोजनामा लगानी गर्ने ।
० ऋण लिन कस्तो तालिम आवश्यक पर्छ ?
सरकारी निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था जुनसुकै निकायबाट लिइएको तालिमको प्रमाणपत्र ऋणका लागि मान्य हुनेछ । परम्परागत सीप भएका व्यक्तिले गर्ने व्यवसायका लागि भने तालिमको प्रमाणपत्र चाहिँदैन । तर, ऋण दिने बैंक तथा वित्तीय संस्थाले नै तोकिएको व्यापार व्यवसाय गर्न सक्ने वा नसक्ने भन्ने कुराको यकिन गरी ऋण प्रदान गर्नेछ ।
० ऋण लिइएको व्यापार व्यवसायका लागि बिमाको व्यवस्था छ कि छैन ?
ऋणको भाका अवधिभित्र ऋणीको मृत्यु भएमा वा ऋणी स्थायी रूपमा अपांग भएमा वा भवितव्य परी सम्बन्धित परियोजनामा नोक्सान भएमा ऋणीको ऋण बिमा कम्पनीले तिर्ने व्यवस्था गरिनेछ । सम्बन्धित व्यापार, व्यवसायको बिमाबापत लाग्ने प्रिमियम नेपाल सरकार, अर्थ मन्त्रालयले बेहोर्नेछ । तर, क्षतिको विवरण तथा सूचना आधिकारिक निकायबाट सिफारिस वा पुष्टि भएको हुनुपर्नेछ ।
० ऋण दुरूपयोग गर्नेलाई के हुन्छ ?
जुन उद्देश्य र प्रयोजनका लागि ऋण लिइएको हो, त्यसबमोजिम काम नगरी ऋणको दुरूपयोग गरेमा वा सयमा ऋणको साँवा, ब्याज भुक्तानी नगरेमा प्रचलित कानुनअनुसार ऋणीबाट साँवा, ब्याज असुलउपर गरिनेछ । साथै, कर्जा सूचना केन्द्रमा त्यस्ता व्यक्तिको नाम सूचीकृत गरी निजलाई खराब ऋणीमाथि हुने कारबाही गर्ने, राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने, समाजबाट बहिष्कार गर्ने तथा सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट बञ्चित गर्नेजस्ता विविध कारबाही गरिनेछ । यसका अतिरिक्त ऋणीको जुनसुकै सम्पत्ति वा जायजेथाबाट ऋण असुलउपर गर्न सकिनेछ ।
० अब युवा स्वरोजगारमा थप गर्नुपर्ने सुधार तथा नयाँ योजना पनि केही छन् कि ?
हामीसँग अवसरै–अवसर छन् । जसलाई मानिसहरूले समस्याका रूपमा लिएका छन् हामीले त्यसलाई अवसरको रूपमा लिएका छौँ । हामीसँग पर्याप्त मात्रामा साधन स्रोत छ । हामी चाहिँ अगाडि बढिरहेका छौँ । हाम्रो प्रतिबद्धता, खासमा कोषमा काम गरिरहेका कर्मचारीहरूको कामप्रतिको निष्ठा हामीले प्राप्त गरिरहेका छौँ । यसको लागि केही समय त निश्चितरूपमा पर्खिनुपर्छ । त्यो परिणामहरू प्राप्त हुन सुरु भएको छ । त्यो एकदम सकरात्मक दिशातिर गइरहेको छ । हामी अगाडि बढ्न सक्छौँ । श्रम बजारमा उपस्थित रहेको बेरोजगार यही काममा लगाउन सक्छौँ । कुनै दिन सक्छौँ । त्यो तत्कालै आजै भोलि नसके पनि क्रमशः हामी त्यो दिशातर्फ गइरहेका छौँ । अब धेरै पर्खिन पर्दैन । आगामी वर्षदेखि प्रतिवर्ष एक लाखका दरले स्वरोजगार सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ । नीतिगत हिसाबले र कार्यक्रमका हिसाबले पनि संस्थागत विकास गर्दै लैजाने सन्दर्भमा पनि हामी सबैको सहयोगको अपेक्षा गर्दछौँ ।
० कोषमार्फत प्रदान गरिने ऋणमा धितोको कस्तो व्यवस्था छ ?
ऋण स्वीकृत भएपछि, जुन व्यापार व्यवसायका लागि ऋण लिइएको हो सोही व्यापार व्यवसाय नै ऋणको साँवा, ब्याज भुक्तानी नगरुन्जेलसम्मका लागि ऋणको सुरक्षणका रूपमा सम्बन्धित वित्तीय सस्थाले धितोका रूपमा राख्नेछ । यसका लागि ऋणी स्वयं र निजको परिवारका सदस्य जमानी वा धितोका रूपमा बस्नुपर्छ । सम्पत्तिभन्दा व्यक्तिको इमान नै महत्वपूर्ण भएकाले यसमा व्यक्तिको चरित्र वा इमानलाई नै धितोका रूपमा राख्ने व्यवस्था गरिएको हो । साथै सहकारी संस्थाको व्यवस्थाअनुसार कर्जा सुरक्षण गर्न अन्य आवश्यक धितो राख्न सकिनेछ ।
० कस्तो व्यवसायले ऋण पाउँछन ?
व्यावसायिक खेती तथा पशुपंक्षीपालन, कृषि तथा वन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय, सहर बजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय, परम्परागत सीपयुक्त व्यवसाय, पर्यटन सम्बन्धी व्यवसाय, स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र ‘एक गाउँ–एक उत्पादन’सम्बन्धी परियोजनाका साथै द्वन्द्वपीडित व्यक्ति, अपांग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता दिने ।
० काम गर्दै जाँदा देखिएका खास चुनौतीहरू के के हुन् ?
कर्जा प्रवाहको जतिसुकै कुरा गरेपनि बिना धितो दिनुपर्ने भएको हुनाले जोखिममा रहन सक्छ । त्यो एउटा हाम्रो समस्या र चुनौती हो । अर्को कुरा स्थानीयस्तरमा संयन्त्र नहुँदा पनि समस्या देखिएको छ । जिल्लास्तरमा पनि हाम्रो संयन्त्र हुन्थ्यो, कार्यालय र कर्मचारी हुन्थे भने अनुगमनको कार्यलाई प्रभावकारी ढंगले अगाढि बढाउन सक्थ्यौँ ।
० अन्यमा, आम पाठकलाई के भन्न चाहनुहुन्छ ?
म युवाहरूलाई आग्रह गर्न चाहन्छु की हामीकहाँ सस्तोमा कर्जा उपलब्ध छ । कर्जा लिनुहोस् । के जानेको छ रु के गर्ने योजना छ रु के लक्ष्य लिएको छ रु आफ्नो व्यवसायिक प्रस्ताव वित्तीय संस्था र सहकारीमा प्रस्ताव गर्नुहोस् हामीले सस्तोमा कर्जा उपलब्ध गराएका छौँ, जसको कारण तपाईं व्यवसायी बन्न सक्नुहुन्छ, उद्यमी बन्न सक्नुहुन्छ । यहीँ पौरख गर्नुपर्छ, यहीँ पसिना बगाउनु पर्छ । हाम्रो स्वरोजगार पनि यही हुन्छ । मुलुकलाई पनि हामीले सम्मृद्ध बनाउन सक्छौँ । बाहिर जाने युवाले जे भोगिरहेका छन त्यत्तिको मेहनत र परिश्रम यही गर्ने हो भने हामी यही आफू पनि सम्पन्न हुनसक्छौँ र मुलुक पनि बन्छ । हाम्रो आफ्नो समस्या पनि सम्बोधन गर्न सक्छौँ । म यही कुरा अनुरोध गर्न चाहन्छु ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:२९

प्रतिक्रिया दिनुहोस्