“दसैँको शुभयात्रा, सद्भाव र परिवर्तनको बाटो

नेपालको महान् पर्व बडादसैँ पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, क्षमा, सहिष्णुता र सामाजिक एकताको पर्व हो। पेसा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा देशका विभिन्न भूभाग र विदेशमा पुगेका नेपालीहरू यस अवसरमा जन्मथलो फर्कन्छन्। परिवारसँग खुसी साटासाट गर्ने, दुःखसुख बाँड्ने र सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने यस पर्वले हामीलाई आफ्नो व्यक्तिगत जीवनसँगै समाज र राष्ट्रप्रतिको दायित्व स्मरण गराउँछ।

Advertisement 1

पछिल्लो समय जेनजी आन्दोलनले देशमा परिवर्तन, सुशासन, जवाफदेहिता र सुधारका अपेक्षालाई नयाँ ढङ्गले अगाडि ल्याएको छ। यसले राज्यका निकायलाई जनताको आवाज सुन्न, सार्वजनिक जिम्मेवारीप्रति गम्भीर बन्न र विद्यमान कमजोरी सुधार्न दबाब सिर्जना गरेको छ। परिवर्तनको अपेक्षा स्वाभाविक हो। तर परिवर्तनको यात्रामा समाजभित्र बढ्ने पूर्वाग्रह, द्वेष, वैमनस्यता र शत्रुतापूर्ण व्यवहारलाई समयमै सम्बोधन गर्न नसकिए सामाजिक एकता र विश्वास कमजोर हुन सक्छ।

परिवर्तनको अर्थ प्रतिशोध होइन, न्याय र सुधार हो। राज्यले विगतका कमजोरीको समीक्षा गर्दै दोषीलाई कानुनअनुसार जवाफदेही बनाउने र निर्दोष नागरिकको सम्मान तथा अधिकार सुरक्षित गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ। राजनीतिक विचार, व्यक्तिगत सम्बन्ध, समूहगत आबद्धता वा सामाजिक पूर्वाग्रहका आधारमा कसैलाई अपराधी ठहर गर्ने वा कसैको अपराध ढाकछोप गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। सामाजिक असहमति र राजनीतिक मतभिन्नता अपराध होइनन्; तर कानुनले अपराध मानेका कार्यलाई कुनै पनि बहानामा उन्मुक्ति दिन मिल्दैन।

Advertisement 2

अपराधको निष्पक्ष अनुसन्धान, प्रमाणका आधारमा अभियोजन, स्वतन्त्र न्यायिक प्रक्रिया र कानुनबमोजिमको दण्ड सुनिश्चित हुनु राज्यको दायित्व हो। अपराध गर्ने व्यक्ति पहुँचवाला होस् वा सामान्य नागरिक, सत्तामा होस् वा प्रतिपक्षमा, कुनै समूहसँग सम्बन्धित होस् वा नहोस्—कानुनको दायराबाट कोही पनि अनुचित रूपमा उम्कन नपाउने अवस्था निर्माण गर्नुपर्छ। त्यस्तै, आरोप लागेकै आधारमा कसैलाई दोषी ठहर गर्ने होइन; निष्पक्ष सुनुवाइ र कानुनी प्रक्रियाको सम्मान पनि उत्तिकै आवश्यक छ। न्यायमा समान पहुँच र कानुनको समान कार्यान्वयन नै विधिको शासनको आधार हो।

तर राज्यको दायित्व छ भन्दैमा समाजप्रतिको हाम्रो जिम्मेवारी समाप्त हुँदैन। समाजमा बढेको द्वेष, अविश्वास, विभाजन र वैमनस्यता व्यवस्थापन गर्ने काम सरकारको मात्र होइन, आम नागरिकको पनि हो। फरक विचार राख्ने व्यक्तिलाई शत्रु नठान्ने, असहमतिलाई संवादबाट समाधान गर्ने, व्यक्तिगत रिसइबीलाई सामाजिक द्वन्द्वमा परिणत हुन नदिने र गलत सूचना तथा उत्तेजनाबाट टाढा रहने संस्कार विकास गर्नुपर्छ। अन्यायको विरोध गरौँ, तर प्रतिशोधलाई न्यायको विकल्प नबनाऔँ। गल्तीको आलोचना गरौँ, तर व्यक्तिको मानवीय मर्यादा र कानुनी अधिकारको सम्मान गर्न नछोडौँ।

Advertisement 3

समाजमा कुनै घटना, दुर्घटना, अन्याय वा अपराध भएको देखेमा त्यसलाई नजरअन्दाज गरेर पन्छिने होइन। आफ्नो क्षमता र परिस्थितिअनुसार पहिलो प्रतिक्रिया दिने जिम्मेवार नागरिक बन्नुपर्छ। यसको अर्थ आफैँ अनुसन्धानकर्ता, न्यायाधीश वा दण्ड दिने व्यक्ति बन्नु होइन। पीडितलाई सुरक्षित राख्ने, सम्भव भएसम्म तत्काल सहयोग गर्ने, जोखिमको अवस्थामा प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्ने, प्रमाण नष्ट हुन नदिने र कानुनी प्रक्रियामा सहयोग गर्ने काम जिम्मेवार नागरिकका व्यवहार हुन्। अपराधलाई लुकाउने, अपराधीलाई संरक्षण गर्ने वा भीडको आवेगमा आफैँ सजाय दिने प्रवृत्ति भने न्याय र सामाजिक शान्ति दुवैका लागि हानिकारक हुन्छ।

विधि, विधान, कानुन र प्रशासनिक प्रक्रियाको ज्ञान भएका राष्ट्रसेवकहरू यस सन्दर्भमा अझ जिम्मेवार हुनुपर्छ। कुन प्रकृतिको घटना कुन निकायमा सम्प्रेषण गर्ने, पीडितलाई कहाँबाट सहयोग उपलब्ध गराउने, प्रशासनिक प्रक्रियालाई कसरी अघि बढाउने र नागरिकलाई सही सूचना कसरी दिने भन्ने विषयमा उनीहरूले समाजलाई मार्गदर्शन गर्न सक्छन्। कानुनको ज्ञान कार्यालयभित्रका काममा मात्र सीमित हुनु हुँदैन; त्यसको सकारात्मक उपयोग समाजमा न्याय, अनुशासन, सद्भाव र सुशासनको संस्कार विकास गर्न पनि हुनुपर्छ।

आज सामाजिक सञ्जाल समाजको आवाज अभिव्यक्त गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ। यसको सदुपयोगबाट जनचेतना फैलाउन, विपद्का बेला सहयोग जुटाउन, अन्यायविरुद्ध आवाज उठाउन र सार्वजनिक निकायलाई जवाफदेही बनाउन सकिन्छ। तर अपुष्ट सूचना फैलाउने, चरित्रहत्या गर्ने, व्यक्तिगत गोपनीयता भङ्ग गर्ने, उत्तेजना बढाउने र समूहबीच शत्रुता सिर्जना गर्ने गरी यसको प्रयोग हुँदा समाजमा द्वन्द्व गहिरिन सक्छ। त्यसैले कुनै सूचना साझा गर्नुअघि सत्यता जाँच्ने, संवेदनशील घटनामा पीडितको मर्यादा जोगाउने र आवश्यक सूचना सम्बन्धित निकायसम्म पु¥याउने जिम्मेवार अभ्यास आवश्यक छ।

यस कार्यमा सेवामा रहेका र सेवा निवृत्त राष्ट्रसेवकहरूको भूमिका विशेष महत्त्वपूर्ण छ। सेवाबाट निवृत्त हुँदैमा समाजप्रतिको दायित्व समाप्त हुँदैन। सेवामा रहँदा प्राप्त गरेको अनुभव, कानुन तथा प्रशासनसम्बन्धी ज्ञान र सार्वजनिक सेवाको भावनालाई समाजको हितमा उपयोग गर्न सकिन्छ। विवाद समाधानमा सहजीकरण गर्ने, युवालाई सही सूचना र मार्गदर्शन दिने, विपद्का बेला सहयोग परिचालन गर्ने, नागरिकलाई अधिकार र कर्तव्यबारे सचेत गराउने तथा सामाजिक सद्भाव कायम गर्न पहल गर्ने काममा राष्ट्रसेवकहरूले उदाहरण प्रस्तुत गर्न सक्छन्।

नेपालको भूगोल विविध छ। कतिपय दुर्गम बस्तीमा राज्यका सेवा, सूचना र न्यायमा पहुँच अझै सहज छैन। त्यस्ता ठाउँमा पनि नागरिकलाई आफ्ना अधिकार, कर्तव्य, कानुनी उपचार र उपलब्ध सरकारी सेवाबारे जानकारी पु¥याउनु आवश्यक छ। प्रविधिको पहुँच भएका ठाउँमा सामाजिक सञ्जालमार्फत र अन्य ठाउँमा सामुदायिक छलफल, व्यक्तिगत भेटघाट तथा स्थानीय अगुवाको सहकार्यबाट सकारात्मक सन्देश फैलाउन सकिन्छ। समाजमा असल अभ्यासको विस्तार ठूला भाषणबाट मात्र होईन, साना तर जिम्मेवार व्यवहारबाट सुरु हुन्छ।

यस दसैँमा हामीले एउटा साझा सङ्कल्प गरौँ- अपराधलाई संरक्षण नगर्ने, निर्दोषलाई अन्याय हुन नदिने, कानुनलाई प्रतिशोधको साधन नबनाउने र सामाजिक मतभिन्नतालाई शत्रुतामा रूपान्तरण हुन नदिने। राज्यले निष्पक्ष न्याय, जवाफदेहिता र सुशासन सुनिश्चित गरोस्; नागरिकले पनि आफ्नो व्यवहारमा संयम, सत्यनिष्ठा, सहिष्णुता र सामाजिक उत्तरदायित्व प्रदर्शन गरून्। राज्य र नागरिकको साझा प्रयासबाट मात्र विश्वास, शान्ति र सद्भावमा आधारित समाज निर्माण गर्न सकिन्छ।

समाजलाई असल दिशामा डोर्‍याउने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो। सेवामा रहेका र सेवा निवृत्त सम्पूर्ण राष्ट्रसेवक, सामाजिक अगुवा तथा सचेत नागरिकलाई आफ्नो ज्ञान, अनुभव र प्रभावको सदुपयोग गर्दै समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न हार्दिक आह्वान गर्दछु।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, पारिवारिक सद्भाव र सामाजिक एकताको कामनासहित बडादसैँको हार्दिक मंगलमय शुभकामना!

नमस्कार।

प्रकाशित :२०८३ आश्विन २७, मंगलवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम