कर प्रशासनमा योगदानको कदर : अधिकृतदेखि कार्यालय सहयोगीसम्म ११ कर्मचारी सम्मानित

काठमाडौं। राजस्व संकलनको लक्ष्य हासिल गर्नेदेखि करदातालाई सेवा प्रवाहसम्मको जिम्मेवारीमा खटिने राजस्व प्रशासनका ११ कर्मचारी राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्। सरकारले यसपटक पद र तहभन्दा पनि कार्यक्षेत्रमा रहेर योगदान पु¥याएका कर्मचारीलाई समेट्दै विभिन्न कार्यालयमा कार्यरत जनशक्तिलाई सम्मान गरेको हो। मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनीहरूलाई सम्मान गरेका हुन्।
Advertisement 1
सम्मानित हुनेमा आन्तरिक राजस्व विभागका तीन जना कर्मचारी छन्। विभागका सिनियर डिभिजनल केमिष्ट ईश्वरप्रसाद कोइराला, निर्देशक रामबहादुर केसी र शाखा अधिकृत राजेश पण्डित सम्मानित भएका छन्।
त्यस्तै, ठूला करदाता कार्यालयकी कर अधिकृत मञ्जु पोख्रेल, आन्तरिक राजस्व कार्यालय जोरपाटीका कर अधिकृत छबिलाल भट्टराई र दाङका कर अधिकृत लुटबहादुर बुढाथोकी पनि सम्मानित भएका छन्।
Advertisement 2
कार्यालय तहमा रहेर सेवा प्रवाहमा योगदान पु¥याउने कर्मचारीसमेत सम्मानको सूचीमा परेका छन्। आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा प्रदीप बराल, बानेश्वरकी नायब सुब्बा निर्मला तिमल्सिना र आन्तरिक राजस्व विभागका कम्प्युटर अपरेटर राजेन्द्रबहादुर बम सम्मानित भएका छन्।
यसैगरी, आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कार्यालय सहयोगी रामबहादुर कार्की र लहानका कार्यालय सहयोगी धर्मनाथ साहलाई पनि सम्मान गरिएको छ। सम्मानित ११ जनाको सूचीले राजस्व प्रशासनको कार्यसम्पादन केवल नीतिगत निर्णय र उच्च तहका अधिकारीको भूमिकामा मात्र निर्भर नरहने पक्षलाई समेत उजागर गरेको छ। प्राविधिक जनशक्तिदेखि कर अधिकृत, प्रशासनिक कर्मचारी र कार्यालय सहयोगीसम्मको भूमिका समेटेर गरिएको सम्मानले राजस्व प्रशासनमा सामूहिक योगदानको महत्त्वलाई संकेत गरेको छ।
Advertisement 3









