स्वास्थ्य बीमा कार्यक्रममा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, डिजिटल दाबी प्रणालीमा जोड

रणनीतिक खरिद अध्ययन कार्यदल गठनदेखि EMR र ICD–११ कोड प्रयोगसम्म बोर्डका महत्वपूर्ण निर्णय
Advertisement 1
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रविधिमैत्री बनाउने गरी विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा सेवामा अनिवार्य गर्ने, बीमितको विवरण डिजिटल प्रणालीबाट अद्यावधिक गर्ने, EMR बाट प्राप्त अभिलेखलाई दाबी मान्यता दिने तथा रणनीतिक खरिद प्रणालीको अध्ययन गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनेछ।
Advertisement 2
त्यस्तै, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई HIIB e–Portal मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, KYC Update प्रभावकारी बनाउन र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
रणनीतिक खरिद प्रणालीको अध्ययन हुने
Advertisement 3
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप वैज्ञानिक, लागत–प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बोर्डले गरेको छ।
कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन तयार गर्नेछ।
उक्त प्रतिवेदन ६० दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
रणनीतिक खरिद प्रणाली कार्यान्वयनमा आए स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवाको गुणस्तर, लागत नियन्त्रण तथा दाबी व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।
EMR बाट प्राप्त विवरणलाई दाबीमा मान्यता
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट EMR -Electronic Medical Record प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डबमोजिम दाबी मान्यता दिने निर्णय गरेको छ।
यससँगै हस्तलिखित प्रेस्क्रिप्सन, म्यानुअल दाबी, कागजी अभिलेख तथा भुक्तानी ढिलाइ क्रमशः घटाउने लक्ष्य लिइएको छ।
बोर्डले EMR बाट प्राप्त डिजिटल तथ्यांकलाई निकट भविष्यमा AI/ML आधारित दाबी समीक्षा प्रणालीमा समेत प्रयोग गर्ने निर्णय गरेको छ। यसले दाबी परीक्षणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमामा ICD–११ कोड प्रयोग
स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ICD–११ Code प्रयोग गर्ने निर्णयसमेत भएको छ।
पहिलो चरणमा २ हजार १५८ वटा Customized ICD–११ Code स्वास्थ्य बीमा सूचना व्यवस्थापन प्रणाली (IMIS) मा प्रयोग गरिनेछ।
यसबाट रोगको निदान अभिलेखीकरणमा एकरूपता कायम हुनुका साथै दाबी परीक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ।
डिजिटल पहिचानदेखि डिजिटल दाबी र रणनीतिक खरिदसम्म
बोर्डको पछिल्लो निर्णयले स्वास्थ्य बीमा कार्यक्रमलाई परम्परागत कागजी प्रक्रियाबाट क्रमशः डिजिटल पहिचान, डिजिटल स्वास्थ्य अभिलेख, डिजिटल दाबी तथा रणनीतिक खरिद प्रणालीतर्फ लैजाने संकेत गरेको छ।
राष्ट्रिय परिचयपत्रको अनिवार्यता, e–Portal मार्फत विवरण अद्यावधिक, EMR बाट दाबी प्रमाणीकरण र ICD–११ कोड प्रयोगले स्वास्थ्य बीमा कार्यक्रममा बीमितको पहिचानदेखि सेवा तथा दाबी व्यवस्थापनसम्मको प्रणालीलाई थप एकीकृत र व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
बोर्डको दोस्रो बैठक २०८३ असोज १२ गते बसेको थियो। बैठकले स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता, लागत नियन्त्रण र दाबी व्यवस्थापनमा सुधार गर्ने दिशामा यी निर्णय गरेको हो।









