छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै, नदी तथा जलाशयमा विशेष तयारी

काठमाडौं। सूर्यदेवप्रति आस्था र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने चारदिने छठ पर्वअन्तर्गत आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा आराधना गरिँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको आज षष्ठी तिथिमा देशभरका व्रतालुहरू निराहार व्रत बसेर साँझ सूर्यको उपासना गर्ने तयारीमा छन्।

Advertisement 1

छठ पर्वको मुख्य विधिअन्तर्गत व्रतालुहरूले नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा तयार पारिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई फलफूल, ठकुवा, भुसुवा, नरिवल, उखु तथा विभिन्न प्रसादसहित अघ्र्य अर्पण गर्छन्। सूर्यको उपासना, शुद्धता, संयम र पारिवारिक सुखसमृद्धिको कामनासँग जोडिएको यो पर्व विशेषगरी तराई–मधेसमा श्रद्धापूर्वक मनाइए पनि पछिल्लो समय देशभर फैलिएको छ।

धार्मिक मान्यताअनुसार छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा गरे परिवारको कल्याण, सन्तानको सुख, आरोग्यता तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। लोकमान्यताले यही प्रसङ्गलाई छठ पर्वको परम्परासँग जोडेको छ।

Advertisement 2

त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। व्रतको प्रभावबाट उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। पुराणमा सूर्यको आराधनाबाट साम्ब कुष्ठरोगमुक्त भएको प्रसङ्गसमेत उल्लेख गरिएको छ।

चार दिनसम्म चल्ने कठोर व्रत

Advertisement 3

छठ पर्वको विधि चार दिनसम्म चल्छ। पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा व्रतालुहरूले स्नान गरी शुद्ध भोजन गरेर व्रतको सुरुआत गर्छन्। दोस्रो दिन पञ्चमीमा खरना गरिन्छ। यस दिन सखर मिसाएर बनाइएको खीर षष्ठी मातालाई चढाएपछि व्रतालुले प्रसाद ग्रहण गर्छन्।

तेस्रो दिन अर्थात् आज षष्ठीमा व्रतालुहरू दिनभर निराहार व्रत बस्छन्। साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ। गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीको रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ।

चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत सम्पन्न गरिन्छ। यसरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गर्नु छठ पर्वको विशिष्ट विशेषता हो।

तराईबाट राष्ट्रिय पर्वको पहिचानसम्म

कुनै समय तराईका सीमित क्षेत्रमा मात्रै मनाइने छठ पर्वले अहिले राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ। विसं २०४६ अघिसम्म क्षेत्रीय रूपमा सीमित रहेको यो पर्व पछिल्ला दशकमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहर र बस्तीमा व्यापक रूपमा मनाउन थालिएको हो।

छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिने परम्परासमेत सुरु गरेको थियो। केही वर्ष बिदा कटौती भए पनि पछिल्लो समय पुनः सार्वजनिक बिदा दिन थालिएको छ।

यस वर्ष पनि राजधानीका विभिन्न नदी तथा पोखरी किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ। गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पूजाका लागि घाट निर्माण तथा व्यवस्थापन गरिएको छ।

छठ पर्वले धार्मिक आस्था मात्रै नभई सामाजिक सद्भाव, पारिवारिक एकता, अनुशासन र प्रकृतिप्रतिको सम्मानलाई समेत अभिव्यक्त गर्छ। सूर्यको प्रकाश र ऊर्जाप्रति कृतज्ञता व्यक्त गर्दै मनाइने यस पर्वमा व्रतालुहरूले शुद्धता, संयम र निष्ठालाई विशेष महत्त्व दिने गरेका छन्।

भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षको चारदिने छठ पर्व विधिपूर्वक सम्पन्न हुनेछ।

प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]