बर्दियामा वर्षाले ३ घरमा क्षति, नदीको बहाव बढ्दो

बर्दिया। लगातारको वर्षाका कारण बर्दियाका विभिन्न स्थानमा तीन वटा कच्ची घरमा क्षति पुगेको छ भने केही घरमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
Advertisement 1
बाँसगढी नगरपालिका–८ रेशम टोलमा जलबहादुर चौधरीको चारकोठे कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएको छ। खोरमा रहेको एउटा बङ्गुर मरेको प्रहरीले जनाएको छ।
त्यस्तै, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता र बारबर्दिया नगरपालिका–९ खैरेनीस्थित दुईकोठे कच्ची घरको पश्चिम तथा दक्षिणतर्फको भित्ता भत्किएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
Advertisement 2
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार निरन्तर वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको छ।
गुलरिया नगरपालिका–१ छेदापुर चोकमा स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि पाँच वटा कच्ची घरमा पानी पसेको छ। प्रभावित परिवारलाई प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा उद्धार गरी छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको बोहराले जानकारी दिनुभयो।
Advertisement 3
बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा समेत पानी पसेपछि परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र डुबानको जोखिममा पर्ने गरेका छन्। नदीको जलसतह खतरा तह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन साइरन बजाउने व्यवस्था गरिएको छ।
कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर ८ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार हुने जनाइएको छ। हाल उक्त केन्द्रमा जलसतह खतरा तहभन्दा तल रहे पनि निरन्तर वर्षाका कारण नदीको सतह बढिरहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो।
यस्तै, बबई नदीको जलसतह पनि हाल खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिनुभयो।








