भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको पहिचान गर्न बाँकेबाट १६ जनाको डीएनए नमुना

बाँके । भोटेकोशी बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि बाँकेबाट १६ जना आफन्तको डीएनए नमुना सङ्कलन गरिएको छ। बाढीका कारण बाँकेका धेरै व्यक्ति बेपत्ता भएको र फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा कठिनाइ भएपछि आफन्तको डीएनए परीक्षण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Advertisement 1
नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा नमुना सङ्कलन गरिएको हो। अन्य आफन्तको भने काठमाडौं र चितवनस्थित अस्पतालमा नमुना लिइएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार—बाबु, आमा, छोरा वा छोरी—को ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
नेपालगञ्ज–२० का अनलाल रोकायाले डीएनए नमुना दिएपछि बाढीमा बेपत्ता भएका आफ्ना छोरा, दाजु र भाउजूको अवस्था पहिचान हुने आशा पलाएको बताए। उनका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीया भाउजू विष्णुमती बाढीपछि एकैसाथ बेपत्ता छन्।
Advertisement 2
जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीपछि बाँकेका २३ जना अझै बेपत्ता छन्। हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनालाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
यसैबीच, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ सहयोग जम्मा भएको छ। २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन्।
Advertisement 3
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सबैभन्दा बढी ६ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। नेपाल ज्वेलर्सले २ लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट सङ्कलित रकम पनि कोषमा जम्मा गरिएको प्रशासनले जनाएको छ।








