भोटेकोशी बाढीः ४ हजार २१६ अझै सम्पर्कविहीन

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।
Advertisement 1
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्।
यसैगरी, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका ३ तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन्।
Advertisement 2
प्राधिकरणका अनुसार नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन्। जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। खोज तथा उद्धारमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन्।
Advertisement 3
५ हजारभन्दा बढीको उपचार
बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्।
हाल ३ हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा राखिएको प्राधिकरणले जनाएको छ। बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार २५२ पुगेको छ।
प्राधिकरणका प्रवक्ता महतका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ।
हवाई उद्धारलाई उच्च प्राथमिकता
दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको जनाएको छ।
खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ। बुधबार मात्रै सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ। निजी क्षेत्रबाट पनि हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ।
सडक सम्पर्कविच्छेद भएका र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पु¥याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्। अझै ४ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।








