भोटेकोशी बाढीले एनआईसी एशियाका ३ शाखा पूर्णरूपमा क्षतिग्रस्त, सबै कर्मचारी सुरक्षित

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका रसुवा र नुवाकोटस्थित ३ शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ।
Advertisement 1
बैंकका अनुसार २०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पनि बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको बैंकले जनाएको छ।
३ वटै शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएकाले अर्को व्यवस्था नभएसम्मका लागि शाखा बन्द रहने बैंकले जानकारी दिएको छ। बैंकका अनुसार प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेका छन्। आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी बैंकले गरेको छ।
Advertisement 2
बैंकले आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण प्रभावित क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
त्यसैगरी, हालसम्म सम्पर्कमा आउन नसकेका नागरिकको शीघ्र तथा सकुशल उद्धारका लागि बैंकले कामना गरेको छ। घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत बैंकले कामना गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।








