विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन। यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ।
Advertisement 1
विश्वबिद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो। ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने ३ वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ।
विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिए। उनले भने, “ ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा छलफल गरी सुझाव लिने र कतिपय समस्या तत्कालै समाधान हुने गरी आवश्यक निर्देशन भयो। ”
Advertisement 2
उपकुलपति प्राडा कट्टेलसँगै रजिष्ट्रार प्राडा सुबिर सिंह, कृषि सङ्कायका डिन प्राडा सुन्दर तिवारी र वन सङ्कायका डिन प्राडा गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो। सो क्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ। यस विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञानको स्नातक र सोभन्दा माथि अध्ययन अध्यापन हुन्छ।








