पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं। प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Advertisement 1
काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा श्रेष्ठलाई साउन २७ गते बुधबार राति पक्राउ गरी उनको निजी निवास खानतलासी गर्नुका साथै सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ।
काउन्सिलले सञ्चारमाध्यम तथा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा प्रचलित कानुन तथा पत्रकार आचारसंहिताअनुसार उजुरी लिने, छानबिन गर्ने र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गर्दै आएको जनाएको छ।
Advertisement 2
प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै पत्रकार तथा सञ्चारकर्मीले सत्य, तथ्य र सन्तुलित पत्रकारितामार्फत आफ्नो व्यावसायिक अभ्यासलाई उच्चतम मर्यादामा राख्नुपर्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले पत्रकार र सञ्चारमाध्यमको अनुगमन आफ्नो क्षेत्राधिकारभित्र रहेर गर्दै आएको भन्दै कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझेमा काउन्सिलमा उजुरी दिन सरोकारवालालाई आग्रह गरेको छ।
Advertisement 3
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र त्यसको दुरुपयोग हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने उल्लेख गरिएको छ।









