विश्व स्तनपान सप्ताह आजदेखि, ‘दिगो जीवनको स्वस्थ सुरुवात’ अभियान देशभर

काठमाडौं। ‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने राष्ट्रिय नारासहित विश्व स्तनपान सप्ताह–२०८३ आजदेखि देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ सुरु भएको छ। परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका अनुसार साउन १६ देखि २२ गते (१–७ अगस्ट २०२६) सम्म सप्ताह मनाइनेछ।
Advertisement 1
महाशाखाका अनुसार जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने र पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासले नवजात शिशुको स्वास्थ्य, पोषण र बाँच्ने सम्भावना उल्लेखनीय रूपमा बढाउँछ। जन्मिएपछि आउने बाक्लो पहेँलो दूध (बिगौती दूध) लाई शिशुको पहिलो खोपका रूपमा लिइने गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउँदा करिब ३३ प्रतिशत नवजात शिशुको मृत्यु रोक्न सकिने उल्लेख गरिएको छ। स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने तथा कुपोषण, झाडापखाला र श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम कम गर्ने बताइएको छ। आमाका लागि पनि स्तनपानले अत्यधिक रक्तस्राव रोक्न, पाठेघर सामान्य अवस्थामा फर्काउन तथा स्तन र पाठेघरको क्यान्सरको जोखिम कम गर्न सहयोग पुग्ने महाशाखाले जनाएको छ।
Advertisement 2
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार नेपालमा पूर्ण स्तनपानको दर ५६ प्रतिशत, जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने दर ५५ प्रतिशत र दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिने दर ७४ प्रतिशत रहेको छ। यस्तै, नेपाल बहुसूचक सर्वेक्षण (MICS) २०२४–२५ ले पूर्ण स्तनपानको दर ६९.७ प्रतिशत रहेको देखाएको छ।
महाशाखाका अनुसार सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री नियन्त्रण, स्तनपानमैत्री कार्यस्थल विस्तार, स्तनपान कक्ष स्थापना, मातृ–शिशु मैत्री अस्पताल कार्यक्रम सञ्चालन तथा स्तनपान परामर्श सेवाको विस्तारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल ६५ भन्दा बढी अस्पतालमा मातृ–शिशु मैत्री सेवा अभियान लागू भइसकेको छ भने थप अस्पतालमा विस्तार गर्ने तयारी भइरहेको छ।
Advertisement 3
विश्व स्तनपान सप्ताहका अवसरमा देशभरका स्वास्थ्य संस्था, स्थानीय तह तथा सरोकारवाला निकायले जनचेतनामूलक कार्यक्रम, परामर्श सेवा, अन्तरक्रिया तथा स्तनपान प्रवद्र्धनसम्बन्धी अभियान सञ्चालन गर्ने जनाइएको छ।








