छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

महेन्द्रनगर। छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ।
Advertisement 1
युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए।
‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सोही क्रममा सोमबार मात्रै त्यस क्षेत्रमा १५० भन्दा बढी पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ।
Advertisement 2
“रातिको समयमा छाडा पशुचौपायाको राजमार्गमा हुने आवतजावत नदेखेर सवारी दुर्घटना बढेपछि त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले यो अभियान थालेका हौँ।” स्थानीय युवा भट्टले भने, “स्वतस्फूर्त रुपमा २०÷२२ जना युवा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्ने अभियानमा जुटेका छौँ।”
स्थानीय युवाको उक्त कार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत साथ दिएको छ। उनले भने, “यहाँ छाडा पशु चौपाया प्रमुख समस्या भए पनि स्थानीय सरकारले यसको व्यवस्थापन गर्न सकेका छैनन्।”
Advertisement 3
कञ्चनपुर जिल्लामा मात्रै हजारभन्दा बढी छाडा पशु चौपाय रहेको आकलन गरिएको छ। शुक्लाफाँटा नगरपालिकाले भने पछिल्लो समय छाडा पशु चौपाया व्यवस्थापनमा जुटेको छ। अन्य पालिकाले पनि छाडा पशु व्यवस्थापनमा पहल गरे पनि सार्थकता पाउन सकेको देखिन्न।
समाजसेवी भट्टले भने, “गौमाताको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणमा आफ्नो क्षेत्रबाट योगदान दिन सबैलाई आग्रह गर्दछु।”








