सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं। बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
Advertisement 1
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो।
सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ।
यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ।
Advertisement 2
रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचारकक्षले जनाएको छ।
त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेकोे मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ।








