पर्वहरूले उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छन्ः नेता आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पर्वहरूले समाजका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन्।
Advertisement 1
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने अवसर साउने सङ्क्रान्ति तथा यही दिन किरात–लिम्बू समुदायले श्रद्धापूर्वक मनाउने सिसेःक्पा तङ्नामको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
नेता आङ्देम्बेले साउने सङ्क्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ अब लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि बिदा गर्नुपर्ने उल्लेख गरेका छन्।
Advertisement 2
जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा साउने सङ्क्रान्ति र सिसेःक्पा तङ्नाम पर्व प्रतिबद्धताको दिन पनि बनोस् भनी उनले शुभकामना व्यक्त गरेका छन्।
नेपालको सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय पहिचान र गौरव हो। हिन्दू धर्मावलम्बीले साउने सङ्क्रान्तिलाई स्नान, दान, पूजाआजा तथा लुतो फाल्ने’ परम्परासहित स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै मनाउँछन्।
Advertisement 3
मगर समुदायले पनि यही साउने सङ्क्रान्तिलाई आफ्नो सांस्कृतिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै प्रकृतिप्रति सम्मान, सामुदायिक एकता, कृषि जीवनको निरन्तरता र सुख–समृद्धिको कामना गर्ने परम्परालाई जीवन्त राख्दै आएका छन्।
त्यसैगरी लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नाममा नयाँ फलफूल तथा अन्नबाली तागेरानिङ्वा फुमाङलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ भने साक्नाःप्मामार्फत भोकमरी, अभाव र दुःखलाई प्रतीकात्मक रूपमा बिदा गर्दै सम्पन्नता र समृद्धिको कामना गरिन्छ।








