अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

जनकपुरधाम। वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
Advertisement 1
अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उनीहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन्।
अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताए।
Advertisement 2
टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुगमन गरेको थियो। अवलोकन पछि तयार पारी बुझाएको प्रतिवेदनमा जैविक जोखिमयुक्त फोहरलाई सामान्य फोहरसँग मिसाएर व्यवस्थापन गरिएको उल्लेख छ।
फोहरको वैज्ञानिक वर्गीकरण नभएको तथा सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार नभएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिए।
Advertisement 3
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ।
फोहर व्यवस्थापन ऐन, २०६८ तथा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन निर्देशिका, २०२० ले स्वास्थ्य संस्थाबाट निस्कने जैविक जोखिमयुक्त फोहरको वर्गीकरण, सङ्कलन, भण्डारण, ढुवानी र अन्तिम व्यवस्थापनका स्पष्ट मापदण्ड तय गरेका छन्। व्यवहारमा कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्वास्थ्य संस्थाबाट निस्कने फोहर स्वयं सार्वजनिक स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम यस समस्याको प्रतिनिधि उदाहरणका रूपमा देखिएको छ। बिरामी उपचारका लागि अस्पताल पुग्छन् र स्वस्थ भएर घर फर्कने अपेक्षा गर्छन्।
उपचारपछि निस्कने जैविक जोखिमयुक्त फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रणाली नयाँ सङ्क्रमण र प्रदूषणको स्रोत बन्ने जोखिम बढिरहेको छ।
जनस्वास्थ्य विज्ञ डा कालीप्रसाद यादव प्रयोग भइसकेका सिरिन्ज, सुई, रगतले दूषित सामग्री, प्रयोगशालाका नमुना, शल्यक्रियापछि निस्कने जैविक पदार्थ तथा औषधिजन्य अवशेषजस्ता फोहर सामान्य फोहरभन्दा धेरै जोखिमयुक्त हुन्छ, भन्छन्।
उक्त सामग्रीको वैज्ञानिक व्यवस्थापन नभए हेपाटाइटिस–बी, हेपाटाइटिस–सी, एचआइभी तथा अन्य सङ्क्रामक रोग फैलिने सम्भावना रहन्छ। स्वास्थ्य सेवा विस्तारसँगै जनकपुरधाम क्षेत्रमा स्वास्थ्य संस्थाको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहले उपमहानगरपालिकाअन्तर्गत २६ र प्रदेश सरकारअन्तर्गत ५० भन्दाबढी स्वास्थ्य संस्था सञ्चालनमा छन्।
जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १९ मा डम्पिङसाइट स्थापना गरी नगरको फोहर व्यवस्थापन गर्दै आएपनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरका लागि छुट्टै वैज्ञानिक प्रणालीको आवश्यकता देखिएको छ।








