कर्मचारीमाथि भइरहेका आक्रमणप्रति स्थानीय सेवा कर्मचारी सञ्जालको आपत्ति

काठमाडौं। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले देशभरका स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि भइरहेका भौतिक आक्रमण, अभद्र व्यवहार, धम्की तथा दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement 1

सञ्जालका महासचिव दीपक सिंह धामीद्वारा जारी विज्ञप्तिमा कार्यालय परिसरभित्र तथा कार्यसम्पादनकै क्रममा कर्मचारीमाथि भइरहेका गैरकानुनी र अमानवीय गतिविधिको घोर भत्र्सना गर्दै कडा निन्दा गरिएको छ। यस्ता घटनाले स्थानीय तहमा कार्यरत कर्मचारीहरूमा असुरक्षा, त्रास र निराशाको अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।

सञ्जालले संविधान र कानुनबमोजिम सार्वजनिक सेवा प्रवाहमा खटिएका कर्मचारीमाथिको आक्रमणलाई कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र नभई विधिको शासन, सुशासन, सार्वजनिक प्रशासन तथा राज्यको सेवा प्रणालीमाथिकै प्रहारका रूपमा व्याख्या गरेको छ।

Advertisement 2

सेवा प्रवाहका क्रममा उत्पन्न हुने असहमति, गुनासा वा विवादको समाधान कानुनी तथा संस्थागत प्रक्रियाबाट खोजिनुपर्ने भन्दै सञ्जालले हिंसा, धम्की र अराजक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने जनाएको छ।

सञ्जालले नेपाल सरकार तथा सम्बन्धित निकायसँग कर्मचारीमाथि भएका सबै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न, स्थानीय तहका कर्मचारीको भौतिक सुरक्षा सुनिश्चित गर्न तथा सुरक्षित, सम्मानजनक र भयमुक्त कार्य वातावरण निर्माण गर्न माग गरेको छ।

Advertisement 3

त्यस्तै, कार्यस्थलमा हुने हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, कर्मचारीको जीवन, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राख्न तथा यस्ता घटना पुनः दोहोरिन नदिने गरी प्रभावकारी सुरक्षा व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

सञ्जालले समयमै आवश्यक पहल नभए र कर्मचारीमाथिका आक्रमण तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम नचालिए देशभरका स्थानीय तहका कर्मचारीको सुरक्षा, सम्मान र पेशागत मर्यादाको रक्षाका लागि देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

प्रकाशित :२०८३ असार १९, शुक्रबार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry