१ महिनामा २ हजार नागरिकता प्रदान

घोराही। दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।
Advertisement 1
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा २ हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमार्फत ती नागरिकता वितरण गरिएको हो।
सोही अवधिमा १ हजार ४९९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ३२ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ।
Advertisement 2
कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार घोराहीबाट ८९६, तुलसीपुरबाट १ हजार ६७ र लमहीबाट ६८३ जनाले नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ।
त्यस्तै जेठ महिनामै १ हजार २१७ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ। त्यस घोराहीबाट ४१५, तुलसीपुरबाट ५१० र लमहीबाट ३०२ जनाले ई–पासपोर्ट सेवा लिएका छन्।
Advertisement 3
राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिएको छ। जेठ महिनामा ७ हजार ८९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ।
अधिकृत गौतमका अनुसार घोराहीमा ३ हजार २२०, तुलसीपुरमा ३ हजार २४२ तथा लमहीमा १ हजार ४३५ जनाको दर्ता भएको तथ्याङ्कमा उल्लेख छ।








