केहि दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र सेवा पुनः सञ्चालनमा

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याएको छ। प्राविधिक समस्या देखिएपछि करिब १० दिनदेखि अवरुद्ध रहेको सेवा पुनः नियमित सञ्चालनमा आएको विभागले जनाएको छ।
Advertisement 1
विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा उत्पन्न प्राविधिक गडबडीका कारण वैशाख २१ गतेदेखि सेवा प्रवाह प्रभावित भएको थियो। समस्या समाधानका लागि गरिएको मर्मत कार्य सम्पन्न भएपछि सेवा पुनः सुरु गरिएको हो।
विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्रणालीमा देखिएको त्रुटिका कारण नयाँ इनरोलमार्फत प्राप्त हुने राष्ट्रिय परिचय नम्बर भ्यालिडेट गर्ने प्रक्रिया अस्थायी रूपमा अवरुद्ध भएको जानकारी दिए। विभागले जारी गरेको सूचनामा उक्त प्राविधिक समस्या समाधान भइसकेको उल्लेख गर्दै सेवा पुनः सञ्चालनमा आएसँगै अब नियमित सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।
Advertisement 2
सेवा अवरुद्ध हुँदा सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी विभिन्न कामकाजमा कठिनाइ भोग्दै आएका थिए। सेवा सुचारु भएपछि ती सबै प्रक्रिया सामान्य रूपमा अघि बढ्ने विभागले जनाएको छ।













