नगर प्रमुखकै हातबाट कर्मचारी कुटिए, सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन

काठमाडौं। नगर प्रमुखले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन्। धनुषाको धनुषाधाम नगरपालिकाका प्रमुख वालेश्वर मण्डलले आर्थिक प्रशासन शाखामा कार्यरत सहलेखापाल सुरेश कुमार मण्डललाई कुटपिट गरेका छन्। प्रमुखले कार्यालय समयमा काम गरिरहेको अवस्थामा कुटपिट गरेको सहलेखापाल मण्डलले गुनासो गरेका छन्। उनका अनुसार नगर प्रमुखले आफ्नो कार्यकक्षमा बोलाई मोबाइल खोसेर गालीगलौज गर्दै कुटपिट गरेका थिए।
Advertisement 1
पालिकाका पशु विकास अधिकृत विष्णुदेव यादवले आफूलाई कार्यकक्षबाट बाहिर निकालेपछि ज्यान जोगाउन सफल भएको उनले बताए। यस्तो परिस्थितिमा आफ्नो जिउ–ज्यानको सुरक्षा नरहेको भन्दै उनले कार्यालयमा जान नसकेको बताए। यसबारे नगर प्रमुखसँग कुरा गर्न खोज्दा उनको फोेन विहानै बाट स्वइच अफ भएको वताउछ। मंडलले नगरप्रमुखबाट दुव्र्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरीसमेत दिएका छन्।
यस्तो छ घटनाको विस्तृत कारण
सहलेखापाल सुरेश कुमार मण्डलका अनुसार नगरपालिकामा कार्यरत तत्कालीन लेखा अधिकृत प्रशान्त देव प्रसाद यादवको धनुषाको औरही गाउँपालिकामा सरुवा भएपछि २०८२ मंसिर २८ गते उनले नगरपालिकाको आर्थिक स्रेस्ताहरू बुझिलिई बरबुझारथ गरेका थिए। २०८२ पुस १ गतेदेखि सञ्चालन हुने सहायक स्तर सेवाकालीन तालिममा सहभागी हुन जानुपर्ने भएकाले लेखा स्रेस्ता रहेको कोठा र दराजहरूको साँचो लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर पुरुषोतम कुमार मण्डललाई जिम्मा लगाई आफू २०८२ मंसिर २९ गते काठमाडौं गएको उनले बताए।
Advertisement 2
त्यसपछि सेवाकालीन तालिममा रहँदा महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीसँग लेखा परीक्षण कम्प्युटर अपरेटर पुरुषोतम कुमार मण्डलले गराएको र २०८२ चैत १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएका अनुसन्धान अधिकृतहरूले लेखा स्रेस्ताहरू माग्दा साँचो आफूसँग नरहेको र कम्प्युटर अपरेटरसँग रहेको जानकारी गराएको उनले बताए।
उक्त दिन कम्प्युटर अपरेटर कार्यालयमा उपस्थित नरहेको र फोन गर्दा ‘साँचो मसँग छ, आएर स्रेस्ता दिन्छु’ भनी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएपछि विवाद बढ्दै गएको सहलेखापाल मण्डलले बताएका छन्। पुनः चैत २० गते अनुसन्धान अधिकृत कार्यालयमा आउँदा श्रीमती गर्भवती रहेकाले चेकजाँच गराउन आफू बिदामा बसेको र उक्त दिन कम्प्युटर अपरेटर पनि उपस्थित नरहेकाले अनुसन्धान अधिकृतले लेखा शाखा बन्द रहेको मुचुल्का उठाएर गएको बताए।
Advertisement 3
त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू, नगर प्रमुख, प्रशासन प्रमुख, इन्जिनियर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दास र कम्प्युटर अपरेटर पुरुषोतम कुमार मण्डललाई चैत २३ गते बर्दिबास कार्यालयमा उपस्थित हुन बोलाएको थियो। सबै जना उपस्थित भएपछि कम्प्युटर अपरेटरले २४ गते साँचो बुझाउने कबोल गरेको उनले बताए। २४ गते कार्यालय समयमा साँचो माग्दा कम्प्युटर अपरेटरले ‘नगर प्रमुख आएपछि मात्र साँचो दिने’ भनेको र नगर प्रमुखलाई फोन गर्दा जनकपुर भानु चोकमा भेट्न भने पनि आफूले कार्यालयमै भेट्ने बताएपछि केही समयमा नगर प्रमुख कार्यालयमै आएर बिहान करिब ११ बजे काम गरिरहेको अवस्थामा कुटपिट गरेको सहलेखापाल मण्डलले गुनासो गरे।
उनका अनुसार नगर प्रमुखले आफ्नो कार्यकक्षमा बोलाई मोबाइल खोसेका थिए। साथै लेखा स्रेस्ता रहेको साँचो पनि कम्प्युटर अपरेटरले नियन्त्रणमा लिएका थिए। सो क्रममा गालीगलौज, हातपात र कुटपिट भएको उनले बताए।
साथै नगरपालिकाको स्थापनाकाल २०७१ सालदेखि हालसम्मको लेखा स्रेस्ता रहेको कोठाहरूको साँचो नगर प्रमुखको नियन्त्रणमा रहेको र यसबीच अख्तियारमा परेको उजुरीसँग सम्बन्धित कागजात नष्ट गर्ने प्रयास भएको आशंका व्यक्त गरेका छन्।
कानुनको पालना गराउने जिम्मेवारीमा रहेका नगर प्रमुख स्वयंले नै कानुन हातमा लिएको, ज्यान मार्ने प्रयास गरेको भन्दै शान्ति सुरक्षा प्रदान गरी नगर प्रमुख वालेश्वर मण्डललाई पक्राउ गर्न तथा गालीगलौज र अभद्र व्यवहारको मुद्दा दर्ता गरी हदैसम्मको कारबाही गर्न उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

















