व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदान

कञ्चनपुर। कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक किसानलाई छनोट गरेर ५० प्रतिशत अुदान उपलब्ध गराएको छ।
Advertisement 1
केन्द्रले किसानलाई उत्पादन सामग्री, सिँचाइ र क्षमता अभिवृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको छ। स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ‘एक स्थानीय तह, एक कृषि उत्पादन’ मार्फत उत्पादन र बजारीकरणमा सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार निर्देशक हरिप्रसाद पनेरुले जानकारी दिए।
उनका अनुसार कृष्णपुर नगरपालिकामा किसानलाई रु ४० लाख बजेटबाट ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ। कृष्णपुरमा ४० वटा समूह र सहकारीबाट तरकारीखेतीमा छनौटमा परेका किसानलाई केन्द्रले ५० प्रतिशत अनुदानमा आवश्यक यन्त्र उपकरण तथा कृषि सामग्री वितरण उपलब्ध गराउँदै आएको उनले बताए।
Advertisement 2
“उक्त कार्यक्रमले तरकारीखेतीको क्षेत्र विस्तार हुनुका साथै उत्पादनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ”, उनले भने, “उत्पादन अभिवृद्धि गर्न कृषकहरूलाई आवश्यक पर्ने यन्त्र उपकरणदेखि प्रविधि, तालिम तथा प्राविधिक परामर्शसम्म निरन्तर सहयोग गर्दै आएको छ।” यसले कृषकको श्रम घटाउनुका साथै खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुगेको छ। ज्ञान केन्द्रको अनुदान र प्राविधिक सहयोगले कम लागतमा बढी आम्दानी गर्न सहयोग पुगेको यहाँका कृषक प्रेमबहादुर डगौराले बताए। “बीउविजनदेखि बजारीकरणसम्मको सहयोग पाएका छौँ यसले हामीलाई आत्मनिर्भर हुन ठूलो सहयोग पुगेको छ”, डगौराले भने।
आर्थिक अभावमा छोरा छोरीको पठनपाठन गर्न शुल्क समेत तीर्न नसकेर रोजगारीका लागि भारत जानेहरू ज्ञान केन्द्रको सहयोगपछि तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेको इन्द्रेणी कृषक समूह कृष्णपुरका अध्यक्ष सुनिल चौधरीले बताए।














