सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त, को हुन् सुमनराज ?

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको बैठकले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको छ। ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ (आज) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई कर्मचारीतन्त्रको नेतृत्व सुम्पने निर्णय गरेको हो।

Advertisement 1

मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानु अघि नयाँ नेतृत्व चयन प्रक्रियाबारे छलफल भइरहेको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय हुने बताइँदै आएको यो प्रक्रियामा सुमनराज अर्याल, प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा। कृष्णहरि पुष्कर आकांक्षीका रूपमा चर्चामा रहेका थिए।

छलफलका क्रममा मुख्यसचिव पद देशको प्रशासनिक नेतृत्व, नीतिगत सल्लाह, मन्त्रालयबीच समन्वय र सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडिने भएकाले योग्य, विवेकशील र संस्थागत परम्परा बुझ्ने व्यक्तिहरू नै उपयुक्त हुने बहस प्रशासनिक वृत्तमा निरन्तर चलिरहेको थियो। विशेष गरी राजनीतिक प्रभाव, बिचौलियाको पहुँच र शक्ति–समूहको दबाबबाट मुक्त ‘निष्पक्ष नेतृत्व’ आउनुपर्ने माग कर्मचारी वृत्तमा बलियो देखिएको थियो। यसैबीच मंसिर ८गतेको क्याबिनेट बैठकले अन्ततः अर्याललाई मुख्यसचिवमा नियुक्त गर्यो ।

Advertisement 2

को हुन् सुमनराज ?

त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकै वर्ष २०५२ सालमा सुमनराज अर्यालले सरकारी सेवा प्रवेशका लागि तयारि गरेका थिए। तयारि गरेको पहिलो प्रयासमै सरकारी सेवा प्रवेशका लागि योग्य र सफल भए। उनले १९ वैशाख २०५३ मा केन्द्रीय तथ्याङ्क विभागमा शाखा अधिकृतको रूपमा नियुक्ति लिए।

Advertisement 3

सुमनराजको पारिवारिक माहोल नै अध्ययनशील थियो, सरकारी सेवा प्राथमिकतामा प¥यो । सुमनराजका वुवा दामोदरप्रसाद र सानो वुुवा विश्वनाथ पनि सरकारी सेवामै थिए । वुवा उपसचिव र सानोबुवा सहसचिवबाट निवृत्त भए।

२०७७ माघ १९मा सचिवमा बढुवा हुनुअघि अर्याल सोही विभागको सर्वोच्च पद महानिर्देशकमा पुगे । सचिव बढुवाको ५८ महिनापछि ८ मंसिर २०८२ मा उनै अर्याल निजामति सेवाको सबैभन्दा माथिल्लो पद मुख्यसचिवमा बढुवा भए । २६ असार २०२५ मा काठमाडौंको जोरपाटीमा जन्मिएका अर्याल अब २५ असार २०८३ सम्म अर्थात आठ महिना सो पदमा बहाल रहनेछन् । त्यसपछि भने उनी उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् ।

निजामति सेवाभित्र प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचना कार्यान्वयनमा प्रशासनिक कुशलता भएका ब्युरोक्रेट्सको छवि बनाएका अर्याल महानिर्देशक भएकै बेला केन्द्रीय तथ्याङ्क विभागले इतिहासमै पहिलो पटक आर्थिक गणना सम्पन्न गरेको थियो ।

अर्याल आर्थिक योजना तथा तथ्याङ्क सेवामा प्रवेश गरी नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो प्रशासक पनि हुन् । सचिवमा बढुवा भएपछि अर्यालले सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय योजना आयोगमा जिम्मेवारी निर्वाह गरे । सचिवको रूपमा सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्यालले कठोर आर्थिक अनुशासन कायम गरेका थिए । कोशी प्रदेशको प्रमुख सचिवको हैसियतमा पनि अर्यालले कुशलतापूवर्क कार्यसम्पादन गरेको उनलाई चिन्नेहरू बताउँछन् । महालेखा नियन्त्रकको रूपमा अर्यालले चर्को दबाबका बाबजुद इतिहासमै भुक्तानी प्रणालीलाई अत्यन्त व्यवस्थित बनाएका थिए । प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको अवधिमा उनले सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम तर्जुमा समिति संयोजकको रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहँदा उनले सरकारी, गैरसरकारी संस्थालाई जथाभावी दिइँदै आएको अनुदानमा कडाइ गरेका थिए । युवा तथा खेलकूद मन्त्रालय मार्फत उनले राष्ट्रिय खेलकुद परिषद्को विकृति, विसङ्गतिको अन्त्यको प्रयास गरेका थिए । अर्यालले राष्ट्रिय योजना आयोगमा रहँदा १५ औं राष्ट्रिय योजनाको खाका तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

इमान्दार, अध्ययनशील तथा शालीन प्रशासकका रूपमा सुपरिचित अर्याल शाखा अधिकृतिदेखि सचिवसम्मै खुल्ला प्रतियोगितामा अब्बल प्रमाणित हुँदै बढुवा भएका हुन् । अर्याल मुलुकको सामाजिक तथा आर्थिक अवस्थाको सुक्ष्म मूल्याङ्कन गर्दै वित्तिय अनुशासन कायम गर्ने कुशल प्रशासकका रूपमा स्थापित छन् । अर्याललाई कर्मचारीवृत्तमा राजनीतिक दबाबका कारण अनाकर्षक मानिने निकाय तथा मन्त्रालयहरूमा पटक पटक पदस्थापन गरिएको चर्चा चल्ने गर्छ । त्यसरी पदस्थापन गरिएका जिम्मेवारी पनि उनले कुशलतापूर्वक निर्वाह गरेको उनीसँग काम गरेकाहरू बताउँछन् ।

यसपटक भने उनी जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट कर्मचारीतन्त्रको सर्वोच्च नेतृत्वको जिम्मेवारी प्राप्त गर्न सफल भए । जेनजी आन्दोलनपछि विषम परिस्थितिमा बनेको सरकार २१ फागुनमा निर्वाचन गराउने मुख्य कार्यभार पूरा गर्न प्रयत्नशील छ । सरकारको यो मुख्य कार्यभार सम्पन्न गर्नु कर्मचारीतन्त्रको शीर्षस्थ जिम्मेवारीमा पुगेका अर्यालको पनि ऐतिहासिक अभिभारा बन्नेछ ।

प्रकाशित :२०८२ मंसिर ९, मंगलवार १०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry