आँबुखैरेनी भित्रका विद्यार्थीको उपचार निःशुल्क

दमौली। आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

Advertisement 1

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिए। ‘विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो,’ उनले भने, ‘अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन।’ शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ।

निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताए। केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरुले यसमा चासो लिएको चुमानको भनाइ छ।

Advertisement 2

स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्य चौकीलाई विसं २०७९ मङ्सिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो।

अस्पतालले तनहुँको आँबुखैरेनीका अलावा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।

प्रकाशित :२०८१ चैत्र २६, मंगलवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry