प्रहरी हिरासतमा रहेकी जनप्रतिनिधिको यस्तो छ गुनासो!

अञ्जन कुमार, गण्डकी। गण्डकी प्रदेश रजिस्ट्रार कार्यालय पोखराका वित्तीय विश्लेषक निर्मल गौतमका कारण अहिले लमजुङ सदरमुकाममा रहेको जनकल्याण सहकारी संस्थाका पदाधिकारी नै तनावग्रस्त छन्। सो संस्थाको मस्र्याङ्दी गाउँपालिका ङादी शाखामा रहेको सेवा केन्द्रमा आर्थिक अपचलन भएको चाल पाएर छानबिन गर्न रजिस्ट्रार कार्यालयलाई आग्रह गरे लगत्तै गौतमको टोलीले छानबिन गरेको थियो। छानबिनले अस्वाभाविक रहस्य बाहिर ल्याइदियो।
Advertisement 1
१-२ करोड जति हिनामिना हुनसक्ने आशंका गरिएको संस्थामा ११ करोड २० लाखभन्दा बढीको अपचलन भएको तथ्यांक स्वतः अपत्यारिलो थियो। निर्मल गौतमको प्रतिवेदनकै कारण ङादी शाखाका प्रबन्धक विरेन्द्र गुरुङ पक्राउ परे। गुरुङ देख्दा निकै सरल इमानदार जस्ता। कागजी रुपमा संस्थालाई चुस्तदुरुस्त राखे पनि फर्जी ऋणी खडा गरेर पैसा हिनामिना गरेको देखियो। गत मंसिर १६ गते पक्राउ परेका विरेन्द्रले आफूले जग्गामा लगानी गर्ने र राम्रो मुनाफा आउँछ भनेको हुनाले मस्र्याङ्दी गाउँकार्यपालिका सदस्य मधुमाया बगालेलाई आफुले रकम दिएको बताए। विरेन्द्रकै कुरालाई आधार मानेर प्रहरीले एमाले मस्र्याङ्दी गाउँपालिका–९ कि अध्यक्ष समेत रहेकी बगालेलाई पक्राउ गर्यो। गम्भीर अपराधीझैं पक्राउ परेकि तिनै बगाले हुन्, जसले जिल्लामा आउने प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीहरुका लागि सम्मान मात्रै हैन दशैंमा कार्यालयमै खसीबोका पठाइदिन्थिन्। प्रहरी चौकीदेखि लिएर खान नपाउने गरिब वस्तीमा आफ्नो गाँसै काटेर भए पनि, ऋण खोजेरै भए पनि गर्जो टारिदिन्थिन्। तर आज तिनै बगाले जनकल्याण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मंसिर १७ गतेदेखि जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा छिन्।
सहकारी रजिस्ट्रार कार्यालयका गौतमले के आधारमा ११ करोड २० लाखको प्रतिवेदन तयार पारे संस्थाका अध्यक्ष तारा घले समेत तीनछक्क छन्। २÷३ करोड तलमाथि हुनसक्ने आशंका गरे पनि यत्रो रकम कसरी भो हामी आफै चकित छांै घलेको भनाई छ। उता, बयानका क्रममा बिरेन्द्र गुरुङले बगालेलाई ३ करोड दिएको भनेतापनि आधिकारिक पुष्टि भएको छैन। छानबिनमा आएका गौतमले मधुमाया बगालेलाई फोनमा धम्काउनुको साथै उनकी भदैनी अनिशा भण्डारीलाई रातिको समयमा एक्लै बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएको गलत मनसाय व्यक्त गर्न खोजेको बगाले परिवारको आरोप छ। बगाले बिरामी भएर अस्पताल भर्ना भएको बेलामा डिएसपी निशान्त श्रीवास्तवको ठाडो निर्देशनमा अस्पतालको बेडमा समेत हत्कडी लगाएर राख्न लगाइएको थियो। बुझिएअनुसार बगाले सहकारीको कुनै पदमा मात्रै हैनन् कि साधारण सदस्य समेत छैनन्। सहकारीमा उनको आइनोसाइनो केही छैन। तर प्रहरी र रजिस्ट्रार कार्यालयका निर्मल गौतम बगाले नै सहकारीको रकम हिनामिना गर्ने मुख्य पात्र हुन् भन्दै उनको पछि लागेका छन। प्रमुख बिरेन्द्र गुरुङलाई प्रभावमा पारी रकम हिनामिना गरेको आरोप लगाए पनि प्रहरीले हालसम्म कुनै ठोस प्रमाण जुटाउन सकेको छैन। गत मंसिर १७ गतेदेखि पटकपटक म्याद थप्दै प्रहरी हिरासतमा राखिएकी बगालेलाई मानसिक रूपमा गलाएर आरोप सकार्न लगाउने रणनीतिमा प्रहरी देखिन्छ।
Advertisement 2
नबिराउनु नडराउनु भनेझै बगाले कुनै टसमस हुने छेकछन्द देखिँदैन। जानकारका अनुसार ११ करोड २० लाख अपचलन हुँदासम्म सहकारीका सञ्चालकले के हेरि बसे? बिरेन्द्र गुरुङको आरोपलाई सही मानिदिने हो भने ८ करोड २० लाख रकम कसले खायो? निर्मल गौतमहरुले त्यो रकम कहाँबाट भरथेग गर्लान्? सहकारी संस्था बदनाम बन्दै गएको बेला जनकल्याण सहकारीलाई पनि दागी बनाउने काम भयो।
आफुलाई मुटु, दम, प्रेसरको समेत बिरामी बताउने बगाले सहकारीको एक पैसा पनि हिनामिना नगरेको बताउँछिन्। ‘म अनपढ मान्छे मैले कसरी त्यत्रो रकम प्रभावमा पारेर हिनामिना गर्न सक्छु,’ उनले भनिन्, ‘म सहकारीको कुनै जिम्मेवारीमा भएको भए पनि लौ प्रभावमा पार्न सक्थे होला। चार तिरको ऋणले किचिएको छु। बरु मलाई नै कतिले ठगेका छन्, ११-११ करोड ठग्न सक्ने म यहाँ यस्तो बेहालसँग बस्थे उनको प्रश्न थियो। तर प्रहरीले भने बगालेलाई सहकारी ठगी मात्र नभएर सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाइएको छ।
Advertisement 3
ऋण काडेरै भए पनि सामाजिक कार्यमा सहयोग गर्दै आएकी उनी आफुलाई कुनै दया नचाहिएको बताउँछिन्। ‘निष्पक्ष छानबिन होस् गल्ती गरेको भए आफू सजायको भागेदार हुन तयार छु,’ उनले भनिन्, ‘प्रहरी प्रशासन कसैको दबाबमा आफुमाथि बढी नै पुर्वाग्रही बनेको छ। खाएको बिष लाग्ला खाँदै नखाएको बिष त के लाग्ला?’