महिलालाई अघि बढाउने सबालमा महिला नै बाधक बन्ने अभ्यास लज्जाको विषय भयो
मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्ना इतिहास । त्यस्तै अग्लो राजनीतिक इतिहास बोकेकी नेत्री हुन् मनु सिग्देल । तत्कालीन एमाले हुँदा देशभरको एक्लो महिला अध्यक्ष बनेर इतिहास रचेकी मनु विभाजनअघि नेकपाको मकवानपुर जिल्लाको अध्यक्षको भूमिका छिन् । पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी उनी तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गरिन् । ३० वर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मनुको पारिवारिक परिचय अझै चर्चित छ । उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालीन एमालेका सांसद विरोध खतिवडाकी श्रीमती र मिस नेपाल श्रृंखला खतिवडाकी आमा । प्रतिनिधिसभाको निर्वाचन (०७४) मा श्रीमान विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट । मनु अहिले त्यहाँको प्रदेश सांसदको भूमिकामा छिन् ।
० आइतबार मात्र सर्वाेच्चले नेकपाको आधिकारिताको लडाइँ ऋषि कट्टेलको पक्षमा मात्र दिएन उसले साविकको एमाले र माओवादी ब्युँताउने काम पनि ग¥यो भनिँदै छ यो निर्णयलाई कसरी हेरिरहनुभएको छ ?
– अदालतको निर्णय मान्दिनँ भन्न मिलेन । अदालतले असाध्यै गैरजिम्मेवारपूर्ण ढंगले फैसला ग¥यो । अदालतले कानुनी निर्णय गर्नुपर्ने राजनीतिक निर्णय ग¥यो । ऋषि कट्टेलको गुनासोथ्यो मेरो नाम अर्कैले लग्या, नाम दिलाइपाऊँ भनेर माग्नुभएको । तर, सर्वाेच्चले उहाँको मागभन्दा पनि अघि बढेर तिमीहरू अलग–अलग हौ । हिजो एमाले, माओवादीकै हैसियतमा फर्क भनिदियो । पार्टी विघटन भएरै नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । त्यहीपछि एमाले विघटन भयो अहिले सन्ध्या कट्टेलहरूको नाममा दर्ता छ, नेकपा माओवादी विघटन भयो गोपाल किराँतीको नाममा त्यो पार्टी दर्ता भइसकेको स्थिति छ । यो फैसलाले सिंगो कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का पुगेको छ । अदालतको फैसलाबाट पार्टी एकता नै भाँड्ने काम भयो । मुलुक झनै अस्थिरताको दिशातिर अघि बढ्ने भयो । पहिलादेखि नै सेटिङ भनिँदै आएको थियो । सेटिङचाहिँ यतातिर भएको रहेछ । प्रतिनिधिसभा पुनःस्थापना भयो । यो फैसलाले मुलुक अर्काे संकटमा फस्यो । संसद् पुनःस्थापना हुने दिन नै पारेर अदालतबाट यो फैसला आउनुले पनि शंकालाई झन् मलजल गरेको छ ।
० सर्वाेच्चको यो फैसलासँगै नेकपाकै एकता संकटमा परेको छ । तर, यो घडीमा एउटा पंक्ति खुशीयाली मनाइरहेको छ । कस्तो लाग्दै छ ?
– एउटा विश्लेषण गर्ने क्षमता हुनुपर्छ । पार्टी एकता अहिलेको आवश्यकता हो । पार्टी अदालतले फुटाउनुपर्ने आवश्यकता थिएन । पार्टी नेतृत्वको कमीकमजोरी होला । त्यसलाई सच्याएर पार्टी एक होस् भन्ने नै पार्टी पंक्तिका इमान्दार कार्यकर्ताको चाहना छ । तर, अदालतको माध्यमबाट कम्युनिष्ट आन्दोलनलाई नै छिन्नभिन्न पारिएको छ । यो कुरा गलत हो । यसमा खुशी मनाउनु दुर्भाग्यको कुरा हो ।
० एकातिर निर्णायक तहमा महिलाको प्रतिनिधित्व पनि कम हुने, अर्काेतिर नेतृत्वहरूको प्रतिवाद झण्डै शून्यको स्थितिमा देखिन्छ । किन यस्तो भएको होला ?
– अहिले दास मनोवृत्तिको विकास भयो । हिजो आन्दोलनमा लाग्दा महिलाको हैसियत थियो तर अहिले आफ्नो हैसियत भएन । पुरुषले देलान भनेरै आश्रित हुनुपर्ने स्थिति रह्यो । नेतृत्वको विरोधमा बोल्दा नियुक्ति नपाइएला, नेतृत्व बिच्किएला, मेरो भविष्य के होला ? भन्ने मानसिकताले डेरा जमायो । दुःख नगरी पद प्राप्त गर्नका लागि नेतृत्वको चाकडी गर्नुपर्ने, नेतृत्वको प्रतिवाद गर्दा अवसर गुम्ने डरले नै त्यस्तो भएको हो । महिलामा जुन खालको विद्रोही स्वभाव हुनुपथ्र्याे । हिजोका दिनमा विद्रोह गरेरै हामी यो ठाउँमा आइपुगेका हौं । अहिले समानुपातिक प्रणालीले त झनै महिलालाई दास बनायो । नेतृत्व तहमा विद्रोह गरेको खण्डमा पाएको पद गुम्छ, पद पाइन्न । यो दास मनोवृत्ति हो । अधिकारका लागि लड्ने, भिड्ने हो । हिजो आन्दोलनमा लाग्दा सांसद, मन्त्री बनौँला भनेर लागेको हो र ? हामी अधिकारका लागि लडेका हौं । अहिले जुन खालको दास मनोवृत्ति बढेको छ । हरेक पार्टीमा हाबी छ यो प्रवृत्ति ।
० प्रतिनिधित्वकै कुरा गर्ने हो भने पनि ३३ प्रतिशत अनिवार्य महिला सहभागिताको मुद्दा संविधानको (धारा)पानामै सीमित रह्यो । क्याबिनेट, संसद्, पार्टी कतै पनि महिलाको ३३ प्रतिशत सहभागिता नहुनुमा पुरुषहरूको मानसिकताले काम गरेको हो वा सक्षम महिला नभेटिएर हो ?
– सक्षम नभएको कसरी भनौं ? हिजो युद्ध लडेर आएका महिला प्रशस्त छन् । सँगसँगै पुरुषसँगै कमाण्डर भएर पार्टीको महŒवपूर्ण जिम्मेवारी लिएका महिला कमरेडहरू हुनुहुन्छ । तर, सहभागी गराउनै पर्दा ३३ प्रतिशत पु¥याउनका लागि सहभागी गराउने, निर्णायक तहमा महिलालाई नलानेचाहिँ पितृसत्तात्मक मानसिक नेतृत्वमा हाबी छ । बागमती प्रदेशकै कुरा गरौं न, यत्रो प्रदेशको राजधानी, त्यहाँको क्याबिनेटमा एक जना पनि महिला छैनन् । आफ्नै गुटको बनाए पनि भयो नि ? त्यो पनि छैन । यो भनेको पितृसत्तात्मक सोचको चरम विकृत नमुना हो । महिलालाई दिनै नखोज्ने । कमजोर देख्ने । महिलालाई सदैव आफूभन्दा तल राख्न खोज्ने, हेप्ने । निर्णायक तहमा पु¥याउने मामलामा सक्षम नदेख्ने । कार्यकारी पद महिलालाई दिनै नचाहने पार्टीभित्रै यो संस्थागत रूपमै रहेको, त्यसकै प्रतिविम्ब हो ।
Advertisement 1
० राजनीतिमा पनि सिण्डिकेट देखिन्छ । जति माथि उठेका वा आएका महिला छन् ती कतै न कतै पुरुषसँगको नातागोताका आधारमा माथि उठेका देखिन्छन् । श्रीमान् वा आफन्त उपल्लो पदमा भएका कारण महिला उठेको देखिन्छन् । यो विकृति होइन ?
– हिजो क्रान्ति वा आन्दोलनबाट आएको पार्टीमा श्रीमान्÷श्रीमती दुबै आन्दोलनमा लागेका कारण अवसर पाएको एउटा कुरा भयो । क्षेत्रीय पार्टीहरूमा त्यो अझै बढी देखिन्छ । योगदानभन्दा पनि अनुदानका आधारमा माथि उठाइएकाहरू धेरै छन् ती पार्टीहरूमा । यो ३३ प्रतिशतको चरम दुरूपयोग हो । सबैलाई एकै भाँडोमा हालेर हेरिदिनुचाहिँ भएन । जस्तो अहिले ओनसरी घर्ती, वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, शक्ति बस्नेत सत्या पहाडी यस्ता राजनीतिक पात्र धेरै छन् जो दुबै आन्दोलन, युद्धमा सँगै होमिएका थिए । एउटा मोर्चा सम्हालेर आएका थिए । मेरै सबालमा प्रश्न गर्नुहुन्छ भने म पार्टीको अध्यक्ष । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको हुँ । यसरी श्रीमान् वा परिवारसँग जोडिँदा के राजनीति गर्नु ? परिवारको एक जनाले मात्र राजनीति गर्नुपर्ने रहेछ भन्ने पर्छ । कहिले काहीँ संसद्मा यति जोडी, यी श्रीमान्÷श्रीमती माननीय भनेर आउँदा मन खिन्न हुन्छ । विगतमा ती महिलाहरूको आन्दोलनमा योगदान थियो वा थिएन ? योगदानको कारण आए वा अनुदानका कारण आए वा अरू कुनै कारणले आए त्योचाहिँ छुट्याइदिनुपर्छ ।
० कुनै समय अखिल नेपाल महिलासंघको नेतृत्व गर्नुभएको व्यक्ति अहिले राष्ट्र«पतिको भूमिकामा पुग्नुभयो । मुलुकले पहिलो महिला राष्ट्र«पति पायो । यो गर्वको विषय बन्यो । उहाँको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
– उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो जंगलमा न्युरो टिप्न गएका महिला बलात्कारपछि हत्या भयो । त्यो समयमा उहाँले आफ्नो मात्र बचाऊ गर्नुभयो । त्यो समयमा पनि उहाँको विषयमा धेरै कुरा उठेका थिए । उहाँबाट त्यस्तो अपेक्षा थिएन । हाम्रै प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न खोज्नुभयो । उहाँलाई चित्त बुझेन । जुनियन मान्छेलाई मुख्यमन्त्री बनाउन उहाँले धेरै जोडबल गर्नुभयो । उहाँको जोडबलको अघि कसैको केही चलेन । महिला मात्र भनेर हुँदैन रहेछ भन्ने यहाँबाट प्रस्ट हुन्छ । वा त महिला पुरुष भन्नै भएन, महिला पुरुष जो भए पनि खुला प्रतिस्पर्धा गरेर आऊ भन्नुप¥यो । महिलाको कुरा पनि ठुल्ठूला स्वरमा गर्ने फेरि सक्षम महिलालाई अघि बढ्न बाधा अड्चन पु¥याउने प्रवृत्ति साह्रै नराम्रो हो । महिलालाई अघि बढाउने सबालमा महिला नै बाधक बन्ने यो अभ्यास लज्जाको विषय भयो । म यहीँ जिल्लामा पहिलो पटक पार्टी अध्यक्ष बन्दा महिलाहरूबाटै सोचेजस्तो सहयोग भएन । महिलाकै लागि भनेर चलाइएका संघ, संस्था छन् । ती पनि गुटमा लागे । कि त महिला भन्नै भएन । आफ्नै पार्टीको महिला उठेपछि गुटगत आँखाले हेर्ने प्रवृत्ति मौलायो ।
० सार्वभौम राष्ट्रपति गुटको कार्यकर्ता बन्न मिल्ने कि नमिल्ने ?
– राष्ट्रपतिजस्तो गरिमामय पद गुटमा सिमित भयो । गरिमामय पद एउटा गुटमा सीमित भयो । पार्टीभन्दा माथि उठेर राष्ट्रको हकहितलाई सर्वाेपरी मानेर निर्णय गर्नुपर्नेमा एउटा पार्टीको, सानो गुटको हितमा काम हुन थाल्यो । त्यसले गर्दा पनि महिलालाई माथि पु¥याएर के काम ? झन् कच्चा निर्णय हुँदो रहेछ, अक्षम हुँदा रहेछन् । ती अर्काेको इसारामा चल्दा रहेछन् भन्ने मान्यता स्थापित हुँदै गएको छ । यसले महिलालाई स्थापित हुन झन् अप्ठ्यारो पार्ने देख्दै छु ।
० अनेमसंघको पछिल्ला गतिविधि कस्तो लाग्दै छ ?
– निर्मला पन्तको बलात्कारपछि हत्या भयो । वर्षाैंसम्म दोषी पत्ता लाग्न नसक्दा अनेमसंघ कहाँ थियो ? भागरथी हत्या हुँदा अनेमसंघले बोल्न नहुने ? रामकुमारी झाँक्रीले बोलेकै आधारमा उनीमाथि कारबाहीका लागि ज्ञापन दिनुपर्ने ? रामकुमारीले एउटा प्रवृत्तिको कुरा गर्नुभएको हो । हामीकहाँ एउटा महिलालाई कतिबेला अघि सारिन्छ भने जतिबेला उसको श्रीमान्को मृत्यु वा हत्या हुन्छ अनि अघि सारिन्छ । क्षमता छ वा छैन हेरिँदैन । सिधै सेतो साडीमा जनतामाझ उभ्याइन्छ र सहानुभूतिको मत बटुल्ने प्रयास हुन्छ । त्यही प्रवृत्तिको विरोध न गर्नुभएको हो रामकुमारीले । सक्षम महिलालाई अवसर दिने कुरामा जहिले पनि टीका लगाएर दिने, टिके प्रवृत्ति छ । त्यसको हामीले पनि विरोध गर्नुपर्छ । हिजो हामी क्रान्तिको जुन आगो बोकेर आयौं, आज त्यो प्रवृत्ति मर्दै गएको छ दास प्रवृत्ति मौलाउँदै गएको अवस्था छ ।
० केन्द्रको रोग अहिले बागमती प्रदेशतिर पनि सरेको देखिन्छ । त्यो विवादको जड के हो ?
– एकलकाँटे मनोवृत्ति नै हो विवादको जड । पार्टी एकता भएपछि पार्टीभित्र जसरी सरकार बनेको छ । सरकारले पार्टीको निर्णय नमान्ने रोग छ । केन्द्रमा झैँ गुटगत सोचबाट बाहिर ननिस्कने, सहभागीदेखि हरेक कुरामा गुटगत चिन्तनले डेरा जमाएकै कारण समस्या हुँदै गएको हो । केन्द्रको अधिनायकवादको छाया अहिले प्रदेशतिर पनि सरेको छ । अविश्वासको प्रस्ताव दर्ता लगेका छौं । पहिला अविश्वासको प्रस्ताव फेस गर्छु भन्ने मुख्यमन्त्री रातारात संसद् भग गराएर भागिरहेको स्थिति छ ।
० तपार्इंकी छोरी मिस नेपाल बन्दा कम्युनिष्टका सन्तान पनि मिस नेपाल बनाइएको भन्दै चर्काे आलोचना भयो । छोरी मिस नेपाल हुँदा कतिको खुशी लागेको छ ?
– आरोप त गलत साबित भइसक्यो । श्रृंखलाले एउटा ट्रेण्ड नै परिवर्तन गरिदिएकी छन् । अहिले मुलुक र हरेक क्षेत्रमा उसको गतिविधिले ब्युटी कन्टेस्ट भनेको शरीरको प्रदर्शन होइन, बौद्धिकताको प्रदर्शन रहेछ भन्ने कुरा स्थापित भएको छ । त्यसैमा मलाई गर्व छ ।
० श्रीमान्÷श्रीमती नै राजनीतिमा हुनुहुन्छ । यसरी राजनीतिमा होमिँदा परिवार चलाउन कत्तिको सकस हुँदो रहेछ ?
– बालबच्चा हुर्काउनेदेखि हरेक चिजमा अप्ठ्यारो हुँदोरहेछ । हिजो आन्दोलनबाट आइयो । पार्टीको जिम्मेवारी लिएर काम गर्दा घरपरिवार हेर्नुपर्ने, बालबच्चा हुर्काउनुपर्ने, समय दिनेदेखि सबै काम महिलाले भ्याउनुपर्छ । मेरो परिवारले मलाई बुझ्ने, साथसहयोग दिने भएका कारण सहज भयो । आफ्नो पूरा समय पार्टीमा दिएर लाग्नु भनेको चुनौतीपूर्ण विषय हो । त्यही चुनौतीलाई स्विकार्दै हामी अघि बढेका हौं । चुनौतीलाई स्विकारेर जो लड्न सक्छ उसैले अवसर प्राप्त गर्ने हो । यो चुनौती लिन मैले सानैदेखि सिकेँ ।
० तपाई जिल्लाको अध्यक्ष पनि । पार्टी छिन्नभिन्न भएपछि जिल्लाको गतिविधि कस्तो छ ?
– हिजो अदालतले फैसला गरेपछि एमाले एमाले एक हौं भनेर हिँडिरहेको स्थिति छ । पार्टी कार्यालयमा तालबन्दी थियो । एक पक्षले तालाबन्दी फोड्ने काम गर्दै छन् । यसले अराजकता निम्त्याएको छ । झडपमा जाने स्थिति देखिँदै छ । एमाले हुँदा पनि पार्टी एकीकरणपछि अध्यक्ष मै हुँ । तर, अहिले उच्छृंखलता बढेको छ । हामी पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ भनेर लागेका हौं । अन्योल सदैव रहँदैन, एउटा निकासचाहिँ आउँछ तर यही अन्योलताको मौका छोपेर केही मान्छेले उच्छृंखल गतिविधि गरिरहेका छन् । त्यो उच्छृंखलता कति दिन टिक्ला र ?
० तपाईहरूजस्ता नेत्रीको कुरा पार्टी हेडक्वार्टरले कत्तिको सुन्ने अवस्था छ ?
– महिला नै एकताबद्ध भएनन् । पार्टीमा भन्दा गुटमा रमाए । एकढिक्का भएर आवाज नउठाउने, गुट–गुटमै रमाउने भएपछि पार्टीले प्रयोग मात्र गर्छ महिलालाई । जो चाकरी गर्छ उसलाई अवसर दिने, जो विद्रोह गर्छ उसलाई पाखा पारिदिने, तिकडम गर्ने, लाञ्छना लगाउने गरी खेलिरहेको अवस्था छ ।