“फाइल बोकेर सिंहदरवार धाउनु नपरोस्”

फाइल बोकेर सिंहदरवार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको सहरी विकास मन्त्री सीता गुरुङले बताएकी छन् । प्राविधिक र वातावरणीय मूल्याङ्कनविना लहडमा बनाइएका पूर्वाधारले समस्या निम्त्याएको बताउँदै मन्त्री गुरुङले सहभागी लुम्बिनी प्रदेशभरिका नगरपालिकाका जनप्रतिनिधिको बीचमा पनि विकासप्रतिको बुझाइमै समस्या रहेको औँल्याइन् ।
Advertisement 1
नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले नागरिकको घरदैलोमा सेवा पुर्याउन लागिपरेको बताइन् । घरबाट सदरमुकाम जान डेढ दिन लाग्ने र क्याम्पस पढ्न दुई घण्टा हिँड्नुपर्ने बाध्यताका बीच सडक माग्न सिंहदरवार आउँदा आफ्नै फाइल कर्मचारीले लुकाएर दुःख दिएको प्रसङ्ग सम्झँदै मन्त्री गुरुङले भनिन्, ‘त्यही भएर अधिकारसहितको सङ्घीयता ल्याएको हो, फाइल बोकेर सिंहदरवार पस्नु नपरोस् भनेर पालिका सरकारले नागरिकलाई यो महसुस दिलाउने गरी काम गर्नुपर्दछ ।’
सडक, गाडी र भिड हुँदैमा सहर नबन्ने उल्लेख गर्दै उनले भनिन्, ‘’सुविधासहितको अस्पताल, प्रदूषणरहित पार्क, नजिकै विद्यालय, खेल्ने उपयुक्त मैदान, सडकमा गाडीसँगै पैदल यात्रुलाई पर्याप्त स्पेस, व्यवस्थित ढल निकास, निश्चित दुरीमा सडकमै स्वच्छ खानेपानी तथा फोहोर सङ्कलनको व्यवस्था, सार्वजनिक शौचालय, आरामस्थल, बजारसँगै राम्रो पार्किङलगायत व्यवस्थापन भएको अवस्थालाई मात्रै सहर भन्न सकिन्छ ।’
Advertisement 2