गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्।
बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ मात्रै मत खसे। मुख्यमन्त्री गुरुङलाई एमाले २७ जना सांसदले मात्रै मतदान गरेका छन्। गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ ।
Advertisement 1
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वासको गुमाएका हुन् । उनले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिनाअघि प्रमाणित भएको दाबी गरे । उनले राखेको विश्वासको मतको विपक्षमा ३० मत खसेका छन्। एक जना तटस्थ बसेका छन्। मतदानमा ५८ जना सांसद सहभागी थिए। नेकपा (एमाले)का सांसद मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गरेका छन्। त्यस्तै, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनोमार्चा र जनता समाजवादी पार्टी (जसपा)का सांसदले विपक्षमा मतदान गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन्। उनलाई २९ वैशाखमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनी पहिलो पटक २०७४ मा मुख्यमन्त्री बनेका थिए। त्यतिवेला माओवादी र जनमोर्चाले समर्थन जनाएको थियो।