कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली। साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ।
Advertisement 1
भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो।
साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ। बिहानदेखि भक्तजनको आवगमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ।
Advertisement 2
कैलालीको गोदावरी धाम, धनगढीको बेहडाबाबा मन्दिर, शिवपुरी धाम र धनगढीकै विभिन्न शिवालयमा भक्तजनको घुइँचो छ। साउन अन्तिम सोमबार भएकाले अन्य सोमबारको तुलनामा आज यहाँका शिवालयहरुमा भक्तजनको उल्लेखनीय उपस्थित बढेको धनगढीस्थित शिवपुरी धाममा पुरोहित हरिनारायण भट्टले जानकारी दिए।
पूजाका सामग्री, फूलमाला, बेलपत्र तथा फलफूलको व्यापार बढेको छ। धार्मिक आस्थासँगै साउनको सोमवारलाई पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने विश्वाससँग जोडेर हेर्ने गरिन्छ।








