बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर। डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ?
Advertisement 1
सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी र यस्ता धेरै प्रश्नहरु क्यान्सर रोग विशेषज्ञसमक्ष राखे। नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा उज्ज्वल चालिसेसँग क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका, क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका र हाल किमोथेरापी तथा अन्य उपचार प्रक्रियामा रहेका बिरामीले पीडादायक भोगाइ राखेका थिए।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सर रोगसँग सङ्घर्ष गरी जीवन जितेका व्यक्तिहरू जीवन जिउन प्ररेणा, उपचाररत बिरामीमा आशा एवं आत्मविश्वास जगाउने, सर्भाइभरहरूबीच अनुभव आदानप्रदान गराउने तथा परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम सफल भएको बताईन्।
Advertisement 2
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेले क्यान्सरका बिरामीबाट आएका प्रश्नको जवाफ दिँदै क्यान्सर रोग पत्ता लागेपछि उपचार गरे निको हुने बताउँदै चौथो चरणमा पुगेमात्रै समस्या आउने बताए। उनले क्यान्सर निको भएपछि पुरानै जीवनमा फर्केर सहज जीवनयापन गर्नसक्ने बताउँदै रोग लागेपछि नआत्तिन, नियमित उपचार र परीक्षणमा रहनुपर्ने बताउनुभयो। उहाँले क्यान्सर निको भएपछि गर्भधारण गर्न र बच्चा जन्माउन सकिने बताउँदै क्यान्सर रोगबाट गाउँगाउँमा सचेतना प्रवाह गर्न आवश्यक भएको बताए।
कार्यक्रमका सभापति एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सर रोगलाई केबल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग पनि जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्यए।
Advertisement 3
स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंले सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका बताए। कार्यक्रममा नगरपालिकाभित्र क्यान्सर रोगको उपचारमा रहेका र क्यान्सर रोग निको भएकाहरुको सहभागिता थियो।








