मधेश प्रदेशमा काँडेभ्याकुर

काठमाडौं। नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ। समुद्री सतहदेखि ४ सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो।
Advertisement 1
चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गर्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ।
चरा अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए। उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुरकोे पहिलो अभिलेख गरिएको हो।
नेपाल पन्छीविद् सङ्घ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेस प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ। पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ–फागुनमा गरिएको थियो भने दोस्रो चरणमा गर्मीयाम लक्षित सर्वेक्षण हाल यही जेठ १८ गतेदेखि सुरु गरिएको छ।
Advertisement 2
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेस प्रदेशका आठै जिल्लाका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी सर्वेक्षण सुरु भएको जनाइएको छ।
काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो। प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि सात प्रदेशमा अभिलेख भइसकेको छ। अब बारा जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ।








