बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

काठमाडौं। बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ।
Advertisement 1
नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोलगायत महत्वपूर्ण अङ्गमा असर पुग्ने तथा उपचार खर्चसमेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको वक्ताहरूले बताएका हुन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले जीवनको गुणस्तर सुधार गर्न बाथरोगलगायत विभिन्न रोगबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताए। युवा अवस्थामै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको वर्तमान अवस्थामा स्वस्थ जीवनका लागि जनस्वास्थ्यसम्बन्धी सचेतना अझ प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
Advertisement 2
सेन्टरका अध्यक्ष डा विनीत वैद्यले बाथरोग ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोग भएकाले लक्षण देखिनासाथ उपचार सुरु गर्नुपर्ने बताए। सेन्टरले अनुसन्धान, शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए। वार्षिकोत्सवकै अवसरमा सेन्टरले आजदेखि ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा पनि गरेको छ।
सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले अध्यक्ष वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने पुष्टि गरेको बताए। बाथरोगबारे आमसञ्चार माध्यम तथा सम्बन्धित निकायमार्फत अझ व्यापक जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए।
Advertisement 3
कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ब्याण्डको तर्फबाट सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख डा कृष्ण ढकाल, मानव संसाधन विभागकी पवित्रा कार्कीलगायत वक्ताले बाथरोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। कार्यक्रममा सेन्टरमा दीर्घ सेवा गरेका कर्मचारी तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो।








