राजनीतिक स्थिरतामा दलका कार्यकर्ताको भूमिका

प्रजातान्त्रिक शासन ब्यबस्थामा राजनीतिक दलको महत्वपूर्ण भूमिका हुन्छ। नेपालले पनि करीव ३० वर्ष निर्दलीय राजनीतिक व्यवस्था बेहोरेको थियो जसमा सबै राजनीतिक बिचारहरू समेटिन सकेनन्। किन कि त्यो ब्यबस्थामा प्रजातन्त्र थिएन। त्यसैले सबै दलहरू मिलेर ०४६ को आन्दोलन गरे र बहुदलीय प्रजातान्त्रिक शासन ब्यबस्थाको पुनर्वहाली गरे। पुनर्बहाली यस अर्थमा कि बहुदलीय प्रजातान्त्रिक ब्यबस्था २०१५ साल मै आएको हो तर राजा महेन्द्रले खोसी दिदा २ वर्ष पनि यो ब्यबस्था टिक्न सकेन।
Advertisement 1
प्रजातान्त्रिक शासन ब्यबस्था भनेको कानूनी शासन हो जस भित्र मानव अधिकार, वैयक्तित स्वतन्त्रता,नियन्त्रण र सन्तुलनको ब्यवस्था र पालना, न्यायीक स्वतन्त्रता, मौलिक हक, कानूनी सर्वोच्चता आदि पर्छन्। यसैले यो ब्यबस्था अंगीकार गर्ने राजनीतिक दलहरूले प्रजातन्त्रका यी मूल्य र मान्यतालाई निःशर्त पालना गर्नु पर्छ।
जेन– जी आन्दोलनका कारण हालै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेस सहितका पुराना दलहरूको उपस्थिति प्रतिनिधिसभामा टीठ लाग्दो देखियो। यिनीहरूलाई मतदाताले नरूचाउनुको पछाडि विगतमा यी दलहरू र यिनका नेताले खेलेको भूमिका नै प्रमुख कारण हो। यी दलहरूले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्न सकेनन्, प्रजातन्त्रलाई सुशासनमा रूपान्तरण गर्न सकेनन्, जसको परिणामले जेन–जी हरू आन्दोलित हुन पुगे।
Advertisement 2
नेपालको राजनीतिक ईतिहासमा देखिएका विभिन्न राजनीतिक दलहरू मध्ये प्रजातन्त्रको स्थापना र यसलाई सुशासनको माध्यम बनाउने लक्ष्यका साथ अगाडि बढेको दल नेपाली कांग्रेस हो। यो पार्टीले आफ्नो सन्निकट महाधिवेशनलाई लक्षित गरी आफ्नो पार्टीमा सदस्यता सूचीकृत गर्दै छ, आफ्ना भातृ– भगिनी संस्थाको खोजी गर्दैछ। वास्तवमा हरेक राजनीतिक दलका आधार भनेका दलमा आवद्ध कार्यकर्ता नै हुन्। यी जति सकृय भएर पार्टीका नीति तथा कार्यक्रमा जनता समक्ष लैजान सक्छन् ती पार्टी त्यत्तिकै बलिया हुन्छन्। विगतमा हाम्रा राजनीतिक दल र यिनका कार्यकर्ताको भूमिका यस किसिमको नपाईदा ती पार्टीहरू जनताको रोजाईमा पर्न सकेनन्। यी र यस्तै अवधारणालाई ध्यानमा राखेर नेपाली कांग्रेसले अहिले आफ्ना आधारहरू पूनरावलोकन गर्दैछ। यसैको परिणाम स्वरूप आफ्ना सदस्यता वितरण गर्दैछ।
यसरी सदस्यता वितरण विगतमा पनि गर्ने गरिन्थ्यो। यसरी सदस्यता पाउदा सदस्य पाउने ब्यक्तिको छाती गर्वले फुल्थ्यो, सदस्यतामा ईमान्दार र निष्ठावान कार्यकर्ताहरू समेटिन्थे, सदस्यहरूमा आफ्नो जिम्मेवारीको वोध हुन्थ्यो तर विगत केही समय यता सदस्यता वितरणका आधारहरू वस्तुगत हुन छाडे, ईमान्दारिता एवं कर्तब्य निष्ठता ओझेलमा पर्न थाले, सदस्यता वितरणमा सेन्सरसीप लागू गर्न थालियो अर्थात आफ्नो पक्षधरलाई च्याप्न थालियो, अवसरवादीहरूको कब्जामा पार्टी पर्न थालेको अनुभूति हुन थाल्यो। यसको परिणाम के भयो भने पार्टी जनता संग निकट हुन सकेन, पार्टीले ईमान्दार र कर्तब्यनिष्ट कार्यकर्ताहरू समेट्न सकेन, चाकडीबाजहरूको घेरामा पार्टीको नेत्तृत्त्व पर्न थाल्यो। यो परिवेशमा अहिलेको सदस्यता वितरण हुदैछ। विशेष अधिवेशनबाट निर्वाचित वर्तमान कार्य समितिले अवश्य पनि विगतका यी गल्तीहरू दोहोर्याउने छैन भन्ने लाग्छ। यस पृष्ठभूमिमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्न पार्टीको जगको रूपमा तयार भएका पार्टीका सदस्यहरूले पार्टीको नीति, दर्शन र कार्यक्रममा आधारित भएर आफ्नो कर्तब्य निर्वाह गर्न जरूरी हुन्छ। अहिले सदस्यता दर्ता गर्दा वा नविकरण गर्दा अनिवार्य रूपमा स्थानीय तहमा रहेर मात्र दर्ता गरिने ब्यबस्थाले जनता संग जोडिन सक्ने र जोडिएका ब्यक्तिले मात्र सदस्यता पाउने अपेक्षा गरिन्छ। त्यसै ले यसरी छानिने सदस्यहरू जनताको सुख दुःखमा भिज्न सक्ने, स्थानीय समस्या संग जुध्न सक्ने, पार्टीको दर्शन र अवधारणालाई जनता समक्ष राख्न सक्ने मामिलामा खरो रूपमा उत्रन सक्नु पर्छ। अन्य विचारहरूलाई पनि सम्मान गर्ने धैर्यता यिनीहरूमा हुनु पर्छ, स्थानीय परम्परा,संस्कार र संस्कृतिको सम्मान गर्न सक्नु पर्छ, जनताको सरोकारलाई स्थानीय सरकारबाट अनुमोदन गर्न सक्नु पर्छ। विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्ने अवसरको रूपमा यो अभियानलाई लैजान जरूरी छ।
Advertisement 3
नेपाली कांग्रेस मुलुकको जेठो र प्रजातन्त्रको संवाहक भएका नाताले प्रजातान्त्रिक अभियानमा जोडिन आएका अन्य दलहरूलाई समेत नेपाली कांग्रेसको सुधारिएको गतिविधिले अवश्य पनि प्रेरित गर्ने छ। देश विकासको अभियानमा लागेका सबै दलहरू साच्चिकै रूपमा प्रजातन्त्रमा जोडिन सके भने त्यसको फाईदा केवल नेपाल र नेपालीले पाउने छन् र नेपालमा देखा परेको राजनीतिक अस्थिरता समाप्त हुने स्थिति बन्ने छ।








