बाँकेमा रु ३ करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज। प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर रु ३ करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष १ महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए।
चालु आर्थिक वर्ष २०८२/८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल १ हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पक्राउ गरिएको उनले बताए।
Advertisement 2
प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले रु १ करोड ९५ लाख ६० हजार ४९३ बराबरको राजस्व सङ्कलन गरेको छ। सोही क्रममा ४९ जना पक्राउ परेका छन् भने दुईवटा गाडी, २१ मोटरसाइकल र दुईवटा ई–रिक्सा बरामद गरिएको छ।
ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु १ करोड २७ लाख १९ हजार ५०० राजस्व सङ्कलन गरिएको छ। त्यसैगरी, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारीसाधन नियन्त्रणमा लिँदै रु ६ लाख २५ हजार ५०० राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Advertisement 3
उक्त अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २१२ जना पक्राउ परेका छन्। बरामद लागूऔषधतर्फ १ किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, ४ ग्राम चरेस, ५ किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र चार हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। पक्राउ परेका १९१ नेपाली पुरुष, नौ महिला र १२ भारतीय नागरिकसमेत रहेका छन्।
यसैबीच, ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ। गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी ३ जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको प्रनाउ पातलीको भनाइ छ।














