नेपाली मूलका विदेशी नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क व्यवस्था गर्ने निर्णय

काठमाडौं। नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै अध्यागमन सेवामा विशेष सुविधा प्रदान गर्ने निर्णय गरिएको छ। सोअनुसार आगमन तथा प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गर्ने तयारी अघि बढाइएको हो।
Advertisement 1
अध्यागमन विभागका अनुसार नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा, संस्कृति र मातृभूमिसँगको सम्बन्धलाई सुदृढ बनाउने तथा उनीहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
निर्णयअनुसार पर्यटन प्रवद्र्धन र लगानी आकर्षणलाई समेत ध्यानमा राख्दै लक्षित समूहका लागि छुट्टै सेवा डेस्क सञ्चालन गरिनेछ। यसबाट आगमन–प्रस्थान प्रक्रिया सरल र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
Advertisement 2
यसअघि एसोसिएसन अफ नेपाली ओरिजन लगायत नेपाली मूलका विदेशी नागरिकका प्रतिनिधि संस्थाहरूले अध्यागमन सेवामा पृथक डेस्कको माग गर्दै आएका थिए। सोही सन्दर्भमा केही दिनअघि सम्बन्धित प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याल सँग भेट गरी औपचारिक रूपमा प्रस्ताव पेश गरेका थिए।
उक्त आग्रहलाई सम्बोधन गर्दै गृहमन्त्रीको निर्देशनमा अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकका लागि पृथक सेवा व्यवस्था गर्ने निर्णय कार्यान्वयनतर्फ अघि बढाएको जनाएको छ।














