उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

बागलुङ। ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ। पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो।
Advertisement 1
हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो। चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ लाख ५० हजारको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। साँघुको सहतमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ।
उनले भने, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ।”
Advertisement 2
ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ। पुल नहुँदा हरेक वर्षात्मा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो। साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो।














