चुनौतीका बीच निजामती सेवा दिवस

रबिन्द्र प्रसाद पौड्याल। तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी गरेको मितिलाई आधार लिँदा नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भएको छ। राज्यको मेरुदण्ड मानिने निजामती कर्मचारीलाई राष्ट्रसेवाप्रति समर्पित बनाउने, उनीहरूको सेवा र योगदानको सम्मान गर्ने, उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्ने, प्रशासनिक सुधार तथा सुशासन प्रवद्र्धन गर्नेजस्ता पवित्र उद्देश्यका साथ २०६२ भदौ २२ गतेदेखि निजामती सेवा ऐन जारी भएको मितिलाई अवसरका रुपमा मनाउने गरी निजामती सेवा दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। निजामती सेवा ऐन जारी भएदेखि नै ऐनले नेपालमा आधुनिक प्रशासनिक संरचनाको मार्गदर्शक कानुनका रुपमा सरकारी सेवालाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। तर आजको निजामती सेवाको वस्तुस्थिति, कार्यप्रणाली, आमनागरिकको यस सेवाप्रतिको धारणालाई हेर्दा हरेक वर्ष मनाइने निजामती सेवा दिवसप्रति प्रश्न उठ्छः चुनौतीको बीचमा किन यो दिवस मनाइन्छ?

Advertisement 1

मूलतः नेपालको निजामती सेवा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, अक्षमता र जनताको असन्तुष्टिजस्ता थुप्रै चुनौतीबाट गुज्रिरहेको छ। तैपनि, यो दिवसलाई निरन्तरता दिनुको पछाडि गहिरो अर्थ छ – यो केबल उत्सव होइन, बरु प्रेरणा, सुधार र राष्ट्रसेवाको प्रतिबद्धताको प्रतीक हो। यो दिवसको औचित्यको पुष्टि गर्न नेपालको निजामती सेवाको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू, दिवसको महत्व र भविष्यका सम्भावनासमेत हेर्नुपर्ने हुन्छ।

निजामती सेवा र दिवसको ऐतिहासिक पृष्ठभूमि

Advertisement 2

नेपालमा निजामती सेवाको सुरुआत राणाकालीन समयबाट नै भएको थियो, तर यो अनौपचारिक र परिवार केन्द्रित थियो। विसं २००७ को प्रजातन्त्र प्राप्तिपछि प्रशासनिक सुधारको आवश्यकता महसुस भयो। विसं २०१३ को निजामती सेवा ऐनले यसलाई औपचारिकता दियो, जसमा कर्मचारी नियुक्ति, पदोन्नति, अनुशासन र सेवासुविधाजस्ता विषयहरू समेटिएका थिए। यो ऐनले योग्यता–आधारित नियुक्तिलाई प्राथमिकता दियो, जसले प्रशासनलाई राजनीतिबाट अलग राख्ने प्रयास गरेको थियो।

विसं २०६२ देखि निजामती सेवा दिवसलाई औपचारिक रूपमा मनाउन थालियो, जसमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा सुरु भयो। निजामती सेवाको चरित्र दर्शाउने गरी पाँच वर्षका लागि २०७८ सालमा तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराले सेवाको दिशालाई स्पष्ट पारेको छ। इतिहास हेर्दा निजामती सेवा सधैँ चुनौतीपूर्ण नै रहेको छ। पञ्चायतकालमा राजनीतिक नियन्त्रण, प्रजातन्त्रपछि अस्थिरता र सङ्घीयतापछि नयाँ संरचनाका समस्या, यी सबैले सेवालाई प्रभावित पारेका छन्। तैपनि, यो दिवसले कर्मचारीहरुलाई इतिहासको सम्झना गर्ने र वर्तमानलाई सुधार्ने अवसर प्रदान गर्ने मञ्च उपलब्ध गराएको छ।

Advertisement 3

वर्तमान चुनौतीहरूप्रति विहंगम दृष्टि

नेपालको निजामती सेवा थुप्रै चुनौतीबाट गुज्रिरहेको छ, जसले यसको प्रभावकारितालाई घटाएको छ। पहिलो र प्रमुख चुनौती हो भ्रष्टाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निजामती कर्मचारीविरुद्धका उजुरीहरूमा ६० प्रतिशतभन्दा बढी भ्रष्टाचारसँग सम्बन्धित छन्। स्थानीय तहको वडासम्म भ्रष्टाचार संस्थागत हुँदै गएको नागरिकको बुझाई निजामती सेवाका लागि ठूलो चुनौती हो। विकास आयोजनामा करोडौँ रुपैयाँको हिनामिना हुने गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने गरेको उदाहरण र यस्ता समाचार तथा अदालतबाट ठहर भएका भ्रष्टाचारका उदाहरणहरु भ्रष्टाचारका रुपि चुनौतीलाई थप बल दिन र निजामती सेवाप्रति जनताको विश्वासलाई क्षयीकरण गर्नसक्ने प्रमुख कारणसमेत बनेको छ।

दोस्रो, राजनीतिक हस्तक्षेप। नेपालमा राजनीतिक परिवर्तनसँगै कर्मचारीको सरुवा र निजामती सेवाको सर्वोच्च पदमा पदोन्नति राजनीतिक आधारमा हुने आम बुझाई रहेको छ। लोक सेवा आयोगको स्वायत्तता भए पनि उच्च पदहरूमा हुने सरुवा तथा पदस्थापनामा राजनीति हाबी हुने चलन प्रचलित भइसकेको छ। यसले योग्य कर्मचारीहरूलाई हतोत्साहित गर्छ र सेवालाई अक्षम बनाउँछ। त्यसैगरी सङ्घीय संरचनामा प्रदेश र स्थानीय तहमा राजनैतिक आस्थाका आधारमा भर्ना भएको कर्मचारीको दबाब, योग्य कर्मचारीको अभाव र तहगत समन्वयको कमीले थप समस्या निम्त्याएको छ।

तेस्रो, प्रविधि र क्षमताको अभाव। डिजिटलयुगमा पनि नेपालको प्रशासन कागजी प्रक्रियामा अड्किएको छ। ई–गभर्नेन्सको प्रयास भए पनि, कर्मचारीहरूमा डिजिटल साक्षरताको कमी छ। कोभिड–१९ महामारीले यो कमजोरीलाई उजागर गरेको थियो। यसबाहेक प्रशिक्षण र क्षमता विकासका कार्यक्रम अपर्याप्त छन्, जसले कर्मचारीलाई आधुनिक चुनौती सामना गर्न असमर्थ बनाउँछ। चौथो चुनौती भनेको जनतासँगको दूरी हो। निजामती सेवा जनमुखी हुनुपर्नेमा यो अझै पनि ब्युरोक्रेटिक र जटिल छ। सेवा प्राप्त गर्न जनताले थुप्रै झन्झट बेहोर्नुपर्छ, जसले असन्तुष्टि बढाउँछ। महिला, दलित र पिछडिएका वर्गहरूको प्रतिनिधित्व पनि अपेक्षित हुन सकेको छैन, जसले यस सेवालाई समावेशी बनाउन सकेको छैन।

उल्लिखित चुनौती प्रतिनिधि चुनौती हुन्। गन्दै जाने हो भने चुनौतीको सङ्ख्या औँलामा अटाउने भन्दा बढी होलान। उसो भए यी चुनौतीका बीचमा निजामती सेवा दिवस मनाउनु किन त? यो प्रश्न स्वाभाविक होला। यसको जवाफ प्राप्त गर्नुअघि के बुझ्नुपर्छ भने कुनै पनि सङ्गठन होस् वा राष्ट्र, त्यसको सञ्चालनमा खटिएका कर्मचारीको प्रतिरुपको रुपमा सङ्गठन वा राष्ट्र हुन्छ। अतः निजामती सेवा दिवस निजामती सेवाका चुनौतीलाई नजरअन्दाज गर्न होइन, बरु तिनलाई सामना गर्ने र चुनौती निर्मूल गरी अपेक्षित नतिजा दिन प्रेरणा दिने दिनका रुपमा मनाउनका लागि आयोजना गरिनुपर्छ। यो दिवसले उत्सवको रुपमा कर्मचारीलाई आफ्नो दायित्व सम्झाउने र सुधारका लागि मार्गप्रशस्त गर्ने अवसर दिनसक्छ।

चुनौतीका बीच दिवसको महत्व

चुनौती हुँदाहुँदै पनि निजामती सेवा दिवस मनाउनुका थुप्रै कारण होलान्। यो दिवसले मूलतः कर्मचारीलाई उत्प्रेरित गर्छ। पुरस्कार वितरण जस्ता कार्यक्रमहरूले उत्कृष्टताको सम्मान गर्छन्। उत्कृष्ट निजामती सेवा पुरस्कार (एक लाख रुपैयाँसहित १० जनालाई) र सर्वोत्कृष्ट पुरस्कार (दुई लाख रुपैयाँ)जस्ता मौद्रिक प्रोत्साहनले कर्मचारीलाई मेहनत गर्न उत्साहित गर्छ। यो प्रेरणाले चुनौतीसँग लड्ने शक्तिसमेत दिन्छ। यसका अलावा यो दिवसले सुधारको अवसर पहिल्याउने मञ्च प्रदान गर्छ। सिंहदरबारमा आयोजित मुख्य कार्यक्रममा उच्च अधिकारीले चुनौतीबारे छलफल गर्छन्, जसले नीतिगत सुधारलाई प्रोत्साहन दिन्छ। जस्तैः भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन वा डिजिटल प्रशासनको विस्तार। दिवसका अवसरमा तय गरिएको नाराले कर्मचारीलाई व्यावसायिक, सुशासनप्रिय, जिम्मेवार र उत्तरदायी हुन आत्मबल दिन्छ, जसले अन्ततः चुनौतीलाई सम्बोधन गर्न सहयोग गर्छ।

निजामती सेवा दिवसलाई समग्र राष्ट्रसेवकहरुको एकताको प्रतीकका रुपमा समेत हर्ने सकिन्छ। सरकारी सेवा राज्यको मेरुदण्ड हो, जसले विकास, सेवा वितरण र कानुन कार्यान्वयन गर्छ। यो दिवसले कर्मचारीलाई राष्ट्रसेवाप्रति समर्पित बनाउँछ। चुनौतीहरूका बीचमा पनि यो उत्सवले सकारात्मक सन्देश दिन्छ– हामी सुधारतर्फ अघि बढिरहेका छौंँ। उदाहरणस्वरूप, रक्तदान र वृक्षरोपणजस्ता गतिविधिले सामाजिक जिम्मेवारीलाई बढावा दिन्छ।

सरकारी संयन्त्रले नागरिकको मन जित्नका लागि जनतासँगको सम्बन्ध सुधार आजको अपरिहार्य तत्व भएको छ। यो दिवसका आवसरमा आयोजना हुने कविता प्रतियोगिता, छलफल, अन्तक्र्रिया, अन्तरसम्वादहरूले जनतालाई प्रशासनबारे जागरूक बनाउँछ। यसले पारदर्शितालाई बढाउँछ र चुनौतीहरू समाधानमा जनसहभागिता सुनिश्चित गर्छ। अन्तरराष्ट्रिय सन्दर्भलाई हर्ने हो भने भारतको ‘सिभिल सेवा दिवस’ वा संयुक्त राष्ट्रसङ्घको ‘पब्लिक सर्भिस डे’जस्ता उदाहरणले पनि दिवसका माध्यमबाट चुनौतीका बीचमा प्रगतिको बाटो पहिचान हुने मान्न सकिन्छ। मूलतः निजामती सेवामा विद्यमान चुनौतीहरू नै निजामती सेवा दिवस मनाउनुपर्ने कारण हुन् किनकी यो दिवसले चुनौतीलाई सामना गर्ने र त्यसलाई हटाउने ऊर्जा दिन्छ।

चुनौतीहरू सम्बोधनका लागि सुझावहरू

निजामती सेवाका चुनौतीलाई सामना गरी नागरिकको अपेक्षा अनुकूलको सेवा प्रदायकका रुपमा पुष्टि गर्नुपर्ने जिम्मेवारी निजामती सेवाको रहेको छ। विद्यमान अवस्था, व्यवस्था, प्रणाली र प्रविधि सुधार नगरी सेवाको सुधारको अपेक्षा गर्न सकिन्न त्यसैले हरेक वर्ष औपचारिकताका लागि मात्र नभई निजामती सेवा दिवसलाई अवसरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ। दिवसका अवसरमा राजनीतिक र प्रशासनिक नतृत्वले एकबद्ध भई मुलुकको मार्गदर्शक कानुनका रुपमा निजामती सेवासम्बन्धी कानुनमा सेवा प्रवाह, आचरण÷अनुशासन, योग्यता प्रणालीको संरक्षण, समतामूलक सेवाको प्रवद्र्धन, राजनीतिक तटस्थता, प्रतिबद्ध कर्मचारी संयन्त्र, प्रविधिमैत्री संरचनालगायतका विषयलाई कार्यान्वयनयोग्य व्यवस्था गर्ने आवाजलाई दृढ तबरमा उठाउनु जरुरी छ।

यसबाहेक, नागरिकले प्रश्न उठाउने भ्रष्टाचारजन्य गतिविधिको प्रणालीगत संरचना भत्काउन कानुनी एकरुपता, नगदको डिजिटल ट्र¥याकिङ प्रणाली, ‘इ–प्रोक्योरमेन्ट’ र अनलाइन सेवा विस्तारजस्ता उपाय अवलम्बन गर्नु जरुरी हुन्छ। लोक सेवा आयोगलाई थप अधिकारसम्पन्न बनाई अन्तरराष्ट्रिय अभ्यासमा आधारित कर्मचारी छनोट र नियुक्ति प्रणाली अवलम्बन गरिनुपर्छ। स्वचालित पदोन्नति र सरुवा प्रणालीले योग्यतामा आधारित प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने हुन्छ। कर्मचारीको क्षमता विकासका लागि नियमित प्रशिक्षण र प्रविधि शिक्षा आवश्यक छ। सङ्घीयतामा कर्मचारी वितरणलाई सन्तुलित बनाउनु पनि जरुरी छ। जनमुखी सेवा सुनिश्चित गर्न क्षतिपूर्तिसहितको नागरिक बडापत्र र सुझाव प्रणाली लागू गर्न सकिन्छ। महिला र अल्पसङ्ख्यकको प्रतिनिधित्व बढाउन संविधानप्रदत्त समावेशीता सिद्धान्तको पूर्ण परिपालनासमेत अनिवार्य छ।

भविष्यका सम्भावनाहरू

भविष्यमा निजामती सेवा दिवसलाई चुनौतीहरू समाधान सहज रुपले गर्नसक्ने दिवसको रुपमा मुक्तकण्ठले प्रशंसा गर्नसकिने प्रशासनको प्रतीक बनाउन सकिने सम्भावना छ। सुशासन सूचकाङ्कमा नेपालको स्थिति सुधार्न यो उत्सवले भूमिका खेल्न सक्छ। युवापुस्तालाई आकर्षित गर्न, डिजिटल नेपालको अवधारणा सँग जोड्दै इ–गभर्नेन्सको उदाहरणका रुपमा दिवसलाई रुपान्तरित गर्न सकिन्छ। तथापि, यसका लागि सबै कर्मचारी, नागरिक, निजीक्षेत्र, दातृ निकाय सबैको साथ र प्रोत्साहन भने आवश्यक हुन्छ।

अन्त्यमा, चुनौतीका बीचमा निजामती सेवा दिवस मनाउनु भनेको आशाका किरणलाई जीवित राख्नु हो। यो दिवसले इतिहासबाट सिक्दै वर्तमान सुधार्ने र भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गर्छ। नेपालको विकास यात्रामा यो उत्सव एक महत्वपूर्ण कोशेढुङ्गा बन्न सकोस्, जसले कर्मचारी र नागरिकलाई एकताबद्ध गरोस्। (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव हुनुहुन्छ)

प्रकाशित :२०८२ भाद्र २२, आईतवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry