सङ्कटग्रस्त घोषणापछि प्रधानमन्त्री ओली मधेस भ्रमणमा

जनकपुरधाम। मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन्। उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका छन्।

Advertisement 1

मधेस प्रदेशका ८ जिल्लामा अहिले खानेपानी तथा सिँचाइको सङ्कट उत्पन्न भएको छ। यसबारे स्थलगत रुपमा जानकारी लिन उनी यहाँ आएका हुन्। उनले महोत्तरी र बाराका विभिन्न आयोजनाको उद्घाटनका साथै स्थानीयलाई सम्बोधन गर्ने क्रम जारी छ।

मधेस प्रदेशमा यस वर्ष लामो समयदेखि आकासे पानी परेको छैन। नदी तथा खोला, नहर, पोखरीका साथै चापाकलमा पानी अभाव भएपछि मधेस प्रदेशलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। मधेस प्रदेश सरकारले खानेपानी अभाव भएको क्षेत्रमा ट्याङ्कर र दमकलबाट स्थानीयलाई खानेपानी उपलब्ध गराइरहेको छ। जलसतह घटेपछि यहाँ सिँचाइ प्रणालीमा प्रभाव परेको छ। साउनको दोस्रो हप्ता सुरु भए पनि धान रोपाइँ ५० प्रतिशत पनि नभएको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

Advertisement 2

मन्त्रालयका अनुसार ९० प्रतिशत धानखेती रोपाइँ पूरा हुनुपर्नेमा अहिलेसम्म ४७ प्रतिशतमात्र धान रोपाइँ भएको छ। गत वर्ष सो अवधिमा ८० दशमलव ६ प्रतिशत धान रोपाइँ भएको थियो। मधेस प्रदेशमा ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती भइरहेको छ। नदी र नहरको पानी तथा बोरिङ एवं पम्पको सहयोगमा धान रोपाइँ भएको हो। धान रोपिएको खेतमा पानी अभाव भएको छ। धानका बेर्ना सुक्न थालेका सर्लाहीका किसान रामनरेश महतोले बताए।

सिँचाइ अभावले धान उत्पादनमा कमि आए त्यसको असर कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्ने मन्त्रालयलले जनाएको छ। चुरेक्षेत्रमा जथाभावी दोहनसँगै मधेसमा पानीको स्रोत कम हुँदै गएको वातावरण विद्हरुको भनाइ छ।

Advertisement 3

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि मधेसका किसानलाई के– कस्ता सुविधा दिनेबारे स्पष्ट हुन नसकिएको प्रा डा योगेन्द्र यादवले बताए। ‘घोषणा गरेरमात्र हुँदैन आवश्यक मापदण्डका आधारमा काम गर्नुपर्छ”, उनले भने।

मधेस प्रदेश सरकारले भने प्राथमिकताका आधारमा खानेपानी समस्या समाधान गर्न डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले राससलाई बताए।

प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry