सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी विस्तार

काठमाडौं। सामाजिक सुरक्षा कोषले सबै नेपाली श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै लगेको जनाएको छ। कोषले प्रारम्भमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना सुरु गरे पनि हाल वैदेशिक रोजगारमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरू र सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई समेत समेट्दै आएको छ।

Advertisement 1

कोषका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा कुल रोजगारदाता संख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिक संख्या २३,७४,४८६ मा पुगेको छ। यस वर्ष मात्रै ८,८२,९४६ नयाँ श्रमिक सूचीकृत भएका छन्। तिनीहरूमा ६,०१,८२५ औपचारिक क्षेत्र, १७,७१,५३७ वैदेशिक रोजगार क्षेत्र र १,१२४ अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकहरू रहेका छन्।

८३ अर्ब ६५ करोड संकलन, दावी भुक्तानीमा उल्लेखनीय वृद्धि
आ.व. २०८१/८२ मा मात्र २५ अर्ब ३६ करोड योगदान रकम संकलन भई हालसम्मको कूल संकलन रकम ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ।

Advertisement 2

योजना अनुसार नियमित योगदान गर्ने श्रमिकहरूलाई विभिन्न योजना अन्तर्गत कोषले भुक्तानी दिँदै आएको कोषले बताएको छ। स्वास्थ्य तथा मातृत्व योजनाबाट १,१०,६९६ श्रमिकलाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५,९३३ जनालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १,१२,८६८ जनालाई १३ अर्ब १३ करोड को भुक्तानी गरिएको छ।

यस वर्ष ३,६२,००० दावी भुक्तानीमार्फत ५ अर्ब ८७ करोड र हालसम्म ७,५६,००० दावी भुक्तानीमार्फत कुल १५ अर्ब ७५ करोड वितरण गरिएको छ।

Advertisement 3

सापटी योजना अन्तर्गत ७ अर्ब ४ करोडको भुक्तानी
कोष अन्तर्गत सापटी सुविधामा पनि उल्लेखनीय विस्तार भएको छ। जसमा विशेष सापटी – ३४,०२० जनालाई ६ अर्ब ९० करोड,घर सापटी – ६७ जनालाई १३ करोड र शैक्षिक सापटी – १० जनालाई १ करोड गरी कुल ३४,०९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड सापटी दिइएको छ।

सेवा प्रवाहमा प्रविधि र पहुँच विस्तार
कोषले २०७८/८२ मा थप २४ स्वास्थ्य संस्थामा स्वचालित सेवा प्रणाली (Dedicated Line) जडान गरी सेवा विस्तार गरेको छ। यससँगै हालसम्म १०७ स्वास्थ्य संस्थासँग सेवा एकीकृत गरिएको छ।

वैदेशिक रोजगार/स्वरोजगारमा रहेका श्रमिकहरूको योगदान संकलनलाई सहज बनाउन १२ वित्तीय संस्थासँग सहकार्य सम्झौता गरिएको कोषले जनाएको छ।

स्वास्थ्य सेवामा परिवारसमेत समेटिने
औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि संशोधन भई अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आइसकेको छ।

पहिले केवल श्रमिकमा सिमित औषधि उपचारको १ लाखको सीमालाई अब अस्पताल भर्ना भएमा १० लाखसम्म ५० प्रतिशत सहभुक्तानी सहित सुविधा विस्तार गरिएको छ। कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार, “अबको करिब चार वर्षभित्र श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोषमार्फत राज्यले लिने गरी कार्य योजना अघि बढाइएको छ।“

उनले थपे, “मानव संसाधनको उपयोग, सामाजिक अपनत्व विकास, र आन्तरिक पूँजी परिचालनका दृष्टिले कोषको रणनीति सुदृढ छ। सामाजिक सुरक्षाको पहुँच र पेन्सन प्रणालीलाई दिगो बनाउने उद्देश्यले कोषले समग्र श्रम बजारको सन्तुलन र उत्पादनशीलता अभिवृद्धिमा ध्यान केन्द्रित गरेको छ।“

कोषले भविष्यमा सबै नागरिकलाई समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई व्यापकता प्रदान गर्ने विश्वास लिएको जनाएको छ। यस अभियानमा साथ र सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति कोषले आभार व्यक्त गरेको छ।

प्रकाशित :२०८२ श्रावण ७, बुधबार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry