सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज। सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ। हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ।
Advertisement 1
संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन्। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए।
‘चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ,’ उनले भने, ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ।’ सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ।
Advertisement 2
विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो। भारतले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरेको छ। यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ।