सार्वजनिक संस्थानमा सरकारको ७ खर्बभन्दा बढी लगानी

कामठाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८२ प्रतिनिधिसभामा पेस गरेका छन्।

Advertisement 1

सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०/८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती, सुधारका क्षेत्रलगायत विषय समेटेर सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको अर्थमन्त्री पौडेलले बताए।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालित छन्। तीमध्ये २० पूर्णसरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको भन्दा दुई दशमलव २० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।

Advertisement 2

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा पाँच दशमलव ८६ प्रतिशतले वृद्धि भई ७ खर्ब तीन अर्ब ९३ करोड पुगेको छ। यसमध्ये शेयर लगानी रु तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु तीन खर्ब ३९ अर्ब सात करोड रहेको छ।

आव २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ। आव २०७९/८० को तुलनामा शून्य दशमलव २२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११ दशमलव ५७ प्रतिशत रहेको छ।
सञ्चालनमा रहेका संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द भएका छन्। आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२ दशमलव ८८ प्रतिशतले कम हो।

Advertisement 3

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु तीन अर्ब ६३ करोड रहेको छ। नाफामा रहेका संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव ५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा आठ दशमलव ६५ प्रतिशतले बढेको छ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रु १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकामा आर्थिक वर्ष २०८०/८१ मा रु आठ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात आव २०८०/८१ मा दुई दशमलव चार प्रतिशत रहेको छ।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १५:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry