गत आर्थिक वर्ष संघ र प्रदेशमा साढे २१ अर्ब बेरुजु

काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब रुपैयाँ देखिएको छ। आन्तरिक लेखापरिक्षणबाट गत आर्थिक वर्षमा २१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी देखिएको छ।

Advertisement 1

महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्षको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ। जसमा नियमित गर्नुपर्ने बेरुजु १ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु १ अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको छ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले सरकारको गत आर्थिक वर्षको संघीय सञ्चित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवं सरकारका बजेटरी तथा गैरबजेटरी निकायको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषहरूको कारोबारलगायत विषय समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखापरीक्षकको कार्यालयलाई बुझाइएको जानकारी दिए। ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण यही कात्तिक १४ गते महालेखापरीक्षकलाई बुझाइसकेको छौं। यसमा सरकारको गत आर्थिक वर्षको कारोबारको यथार्थ वित्तीय अवस्थाको चित्रण छ,’ उनले भने।

Advertisement 2

उक्त विवरणअनुसार गत आर्थिक वर्षमा संघीय सञ्चित कोष कुल २ खर्ब २४ अर्ब ९९ करोड १३ लाख रुपैयाँले ऋणात्मक छ। विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ को सुरूमा संघीय सञ्चित कोष कुल १ खर्ब ८१ अर्ब २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस वर्ष कुल प्राप्ति १३ खर्ब ३५ अर्ब ९२ करोड ७४ लाख रहेको र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ तथा विनिमय दर वा अन्य समायोजन १४ अर्ब ४४ करोड २८ लाख रुपैयाँ छ।

यसबाट यस आर्थिक वर्षको सुरूको मौज्दात समेतको समायोजनबाट आर्थिक वर्षको अन्त्यमा संघीय सञ्चित कोष कुल २ खर्ब २४ अर्ब ९९ करोड १३ लाखले ऋणात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले तयार पारेको विवरणमा भनिएको छ। गत आवमा सरकारको बजेटरी निकायको नगद तथा बैंक मौज्दात ८४ अर्ब ७८ करोड ४८ लाख ऋणात्मक रहेको छ। गैर बजेटरी निकायको सोही अवधिको नगद तथा बैंक मौज्दात भने ७१ अर्ब ८२ करोड ७३ लाख धनात्मक रहेको छ।

Advertisement 3

यसरी गत आर्थिक वर्षमा सरकारको नगद तथा बंैक मौज्दात १२ अर्ब ९५ करोड ७५ लाखले ऋणात्मक देखिन्छ। गत आर्थिक वर्षका लागि सरकारले १२ खर्ब ४७ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ५६ अर्ब २६ करोड ५६ लाख मात्रै संकलन भएको छ। त्यस्तै, सरकारले गत आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट खर्च गर्ने लक्ष्य राखेकोमा १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख बराबरको मात्रै खर्च भएको देखिएको छ। ‘कुल खर्च रकममध्ये संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ ३ खर्ब पाँच अर्ब ६३ करोड १५ लाख खर्च भएको छ भने संघीय सञ्चित कोषबाट विनियोजन हुने व्ययतर्फ सोझै भुक्तानी बाहेक १० खर्ब ४० अर्ब ५८ करोड ६ लाख रुपैयाँ खर्च भएको छ,’ केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणमा भनिएको छ।

सरकारले गत आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई संघीय सञ्चित कोषबाट ४ खर्ब ८ करोड ७० लाख बजेट हस्तान्तरण गर्ने लक्ष्य राखेकोमा ३ खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख बराबर मात्रै हस्तान्तरण भएको छ। जसमा प्रदेश सरकारलाई ७६ अर्ब एक करोड ९९ लाख र स्थानीय तहलाई २ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपैयाँ बराबर हस्तान्तरण देखिन्छ।

गत आर्थिक वर्षमा सरकारको विभाज्य कोषमा संकलन भएको कुल रकम ४ खर्ब १९ अर्ब ६४ करोड ३१ लाख मध्येबाट ३ खर्ब ८० अर्ब ८१ करोड ८८ रुपैयाँ बाँडफाँट भएको र ३८ अर्ब ८२ करोड ४३ लाख बाँडफाँट हुन बाँकी रहेको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। गत आवमा सरकारको कुल १८ अर्ब १२ करोड १२ लाख रुपैयाँ पेश्की बाँकी रहेको पनि उक्त विवरणमा उल्लेख छ। जसमा म्याद ननाघेको पेश्की ७ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड ४९ लाख रहेको छ। गत आर्थिक वर्षमा सरकारले कुल ३ खर्ब ६० अर्ब ८ करोड ७५ लाख रुपैयाँ बराबर ऋण उठाएको देखिन्छ।

जसमध्ये वैदेशिक ऋण १ खर्ब २५ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र आन्तरिक ऋण २ खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तिर्नका लागि २ खर्ब २३ अर्ब २७ करोड ९५ लाख खर्च गरेको छ। केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सरकारबाट रू ४१ अर्ब ७५ करोड ७८ लाख आन्तरिक ऋण लगानी भएको छ। त्यस्तै, सार्वजनिक संस्थानमा रू ६ अर्ब ९९ करोड ४३ लाख बराबरको शेयर लगानी भएको तथा वैदेशिक शेयर लगानी रू २१ करोड ६० लाख बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण तथा अनुदानबाट शोधभर्ना लिनुपर्ने करिब रू २४ अर्ब बराबर शोधभर्ना हुन बाँकी रहेको देखिएको छ। ‘शोधभर्ना हुन बाँकी वैदेशिक ऋण रकम रू १७ अर्ब ९ करोड २१ लाख छ। त्यस्तै वैदेशिक अनुदान तर्फ रू ६ अर्ब ७४ करोड ५ लाखसमेत गरी शोधभर्ना हुन कुल बाँकी रकम २३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ छ। सरकारका बजेटरी निकायसँग रू ९७ अर्ब ८४ लाख र गैर बजेटरी निकायहरूसँग रू १९ अर्ब ९९ करोड ७० लाख रकमको जिन्सी तथा सम्पत्ति रहेको अभिलेख रहेको पनि कार्यालयले जनाएको छ।

प्रकाशित :२०८१ कार्तिक २६, सोमबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry