कञ्चनपुरबाट बैतडी गइरहेको बस डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं। डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।
Advertisement 1
दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए। दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।
प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।