‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन
काठमाडाैं। जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा २६ सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्। संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि २ हजार ६ सय ६९ जनाले आवेदन दिएका हुन्।
Advertisement 1
श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले मेलामा उपस्थित भएर १ हजार ४ सय ६९ जना र अनलाईनमार्फत १ हजार २ सय जनाले आवेदन दिएको जानकारी दिए। उनका अनुसार प्रदेशका ९ वटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन्। विभिन्न रोजगारदाताले २ हजार ६ सय ५४ जना माग गरेका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबीच समन्वय गर्न श्रमादान मेलाले महत्वपूर्ण भूमिका खेलेको बताए। मेलामा सुरक्षित आप्रवासन, रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन गरिएका थिए।