‘आगामी वर्षको बजेट सकारात्मक’
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१/८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाएका छन्। आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज सोमबार भएको छलफलमा उनले बजेटको पूर्ण समर्थन गरे।
Advertisement 1
‘बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन्,’ उनले भने। बजेटमा विस्तृत छलफल हुनुपर्नेमा नभएको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘१५औं योजनाको अन्त्य हुन गइरहेको छ, त्यसलाई हामीले समीक्षा गर्न सक्यौँ वा सकेनौं?, अर्थतन्त्रमा संरचनागत चुनौती बढ्दै गएको अवस्थामा यसको सुधारका उपायहरु बजेटमा प्रस्तुत भएनन्,’ उनले भने।
सांसद माधव सापकोटाले बजेटको मुख्य चुनौती कार्यन्वयनको पाटो भएको बताए। बजेटलाई कार्यान्वयन गर्न सकेमा यो डेढ दशककै सफल बजेट हुने विश्वास व्यक्त गरे। ‘बजेट परिचालनको क्षमता घट्दै गएको छ, यो निकै चुनौतीको विषय हो। सार्वजनिक खरिद ऐनका विषयमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ,’ उनले भने।
Advertisement 2
सांसद निशा डाँगीले समग्रमा अघिल्लो वर्षभन्दा यो वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गरिन्। ‘अनुमानित राजस्व र वैदेशिक अनुदानबाट आगामी वर्षको खर्च बेहोर्न सकिने परिप्रेक्ष्यमा जुन आकारको बजेट आएको छ त्यो सन्तुलत नै देखिन्छ। करसम्बन्धी सूचना विश्लेषण गर्न एआइको प्रयोगको घोषणाले राजस्व संकलनको नयाँ अभ्यास थपिदिएको छ,’ उनले भनिन्, ‘मानव स्वास्थ्यका लागि हानिकारक रहेको मदिराजन्य, सुर्तिजन्य पदार्थमा लगाइएको शुल्कको वृद्धि सकारात्मक छ।’
उक्त शुल्क वृद्धिले राज्यको राजस्व वृद्धि गर्नुका साथै राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको देखाउने सांसद डाँगीको भनाइ छ। ‘बजेटमा राम्रा पक्ष भए पनि आन्तरिक ऋण बढाइएको छ, त्यो चिन्ताजनक विषय हो,’ उनले भनिन्। सांसद रोशन कार्कीले सरकार परिवर्तनसँगै सरकारको सिद्धान्त र प्राथमिकता परिवर्तन हुन नहुने भन्दै बजेट कार्यानवयन प्रभावकारी रुपमा हुनुपर्नेमा जोड दिए।