आँसुको आयतन

“अब त बिर्सिस् होला है ?”
अचेल आफैँले आफैँलाई यो प्रश्न गर्ने गर्छु ।
अहो ! कस्तो जटिल प्रश्न । मन अल्झाइदिने, अतीत बल्झाइदिने, मेघ गर्जाइदिने, आँसु बर्साइदिने…….!

Advertisement 1

समय ईश्वर हो । समय देवता हो । समय सर्वशक्तिमान छ, आफ्नै गतिमा चलिरहन्छ निरन्तर । न त कसैको डर मान्छ, न त कसैको आदेश मान्छ । न त कसैले रोक भनेर रोकिन्छ । त्यसैले त समय सबै चीज हो । म अहिले जे लेख्तै छु, यो पनि एक समय हो, म वर्तमानमा लेख्तै छु ।  होला केही भूतकालका कुराहरू जसलाई वर्तमानमा मेरो कलमले कागजमा दौडाइरहेको छ । कति सत्य होलान्, कति काल्पनिक । जे भए पनि मलाई लेख्न मन लाग्छ । लेख्नु मेरो काम हो । हातमा कलम भयो कि मेरो हात चल्न थालिहाल्छ । मलाई अक्षरहरू कोट्याइरहन मन लाग्छ । अक्षरका मालाहरू सिलाएर भावनाका पर्दाहरू खोल्न मन लाग्छ । म ढुलमुले स्वभावको मान्छे । मेरो मन कहिल्यै स्थिर हुँदैन । कहिले म सुखको चरम सीमामा मेरा पैतालाहरू सगरमाथाको शीरमा पुगेको अनुभूत गर्छु त कहिले मेरा पैतालाहरू मृतसागरमा ढासिएका, निकाल्नै कठिन अवस्थामा रहेको महसुस गर्छु । मैले अघि नै भनिसकेँ अब त बुझ्नुभयो होला हैन ? म अस्थिर छु । त्यही अस्थिरतालाई म शब्दहरूको रूप दिन्छु, वाक्यहरूको आकार दिन्छु र सिङ्गो एउटा लेखको स्वरूप खडा गर्छु ।

मनमा खेल्ने हरेक गन्थनहरू लेख्तै जाने हो भने त हाम्रो सम्पूर्ण समय यसैमा गएर जीवन सकिएको पनि पत्तो पाइँदैन होला । तैपनि “सधैँ लेखिरहनु” भन्ने मान्छेलाई सम्झन्छु र लेख्छु कैयन् कुरा । जसले  मलाई हरेक लेखहरू, हरेक कथाहरू, हरेक कहाँनीहरू लेख्न प्रेरित गर्थी, जो मेरा हरेक लेखको पाठक थी, उसैको निर्देशनलाई म आजसम्म मानिरहेछु । मलाई सम्झना आइरहेछ, कसरी म प्रेमपत्रहरू दश-पन्ध्र पेजको लेख्थेँ । न त हात थाक्थ्यो, न त मन, न त दिमाख नै । र त्यति लेखिसक्ता पनि लाग्थ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन । र, आज ? व्यक्त गर्न कुरा नै पाउँदिनँ । लाग्छ, के मेरो भण्डार रित्तियो ? वा मेरो सेन्सिटिभीटीमा ठेला पर्‍यो ? होइन, यी कुनै पनि कुरा होइनन्, म यथावत् नै छु भन्ने धारणालाई कुम्लोझैँ बोकी मेरो अन्तर्मन विद्रोह गर्न खोज्छ । म कलम हातमा लिन्छु र कामना गर्न थाल्छु – आज चाहिँ ठूलै साहित्य नै लेख्छु ।

Advertisement 2

“ए मूर्ख ! तैँले के लेख्छस् ? कसका लागि लेख्छस् ? लेख्न भन्न के नै बाँकी छ र ?” अन्तर्मनले बीजारोपण गरिदिन्छ कैयौँ प्रश्नहरू । तिमीलाई सम्झिन्छु, अझ अलि बढी सम्झिन्छु । तिम्रो त्यो साथ, त्यो माया, त्यो प्रेम, त्यो निकटता सम्झन्छु । आँखाबाट धरधरी सेती बर्सिन थाल्छ। परेली भिँज्छन् ।  “केटा मान्छे पनि रुन्छन् र ?” भनेर कताकता पढेको स्मरण हुन्छ र समाजकासामू परेलीमै आँसु लुकाउन बाध्य हुन्छु । रोज मेरो प्रात:काल तिमीलाई सम्झेर प्रारम्भ हुन्छ, रोज मेरो मध्याह्नन तिम्रै सम्झनाको लयमा विलीन हुँदै बित्छ, रोज मेरो सन्ध्या तिम्रै यादमा सेती नदीझैँ भित्रैभित्र सुसाएर बित्छ । कसरी एउटा अनजान मान्छे आफ्नो दैनिकीको अभिन्न अङ्ग  बनिदिन्छ, नछुटिने लत बनिदिन्छ, प्रेम बनिदिन्छ, अहम् बनिदिन्छ, सारा संसार बनिदिन्छ ? मलाई यसबारे जान्नु छ । यो कुरा केही पछि गरूँला । तर, यतिखेर मैले यी शब्दहरू कोर्दै जाँदा मेरा आँखाहरू फेरि भिज्न थालिसकेछन्, मलाई लागिरहेछ म अब केही लेख्नै सक्तिनँ । हेरौँ मेरा आँसुले कहाँसम्म लेख्न सक्नेछन् ।

आँसु….! मेरा जिन्दगीभरका साथी ।  आफ्नो अनूकुलता-प्रतिकूलतामा मलाई मेरा थुप्रै साथीहरूले छोड्दै जानेछन्, छोड्नेछैनन् मेरा आँसुहरूले मलाई कहिल्यै । यी त मेरा बाँचुन्जेलका साथी हुन्, स्थायी साथी हुन् । आज म मेरा गणितका शिक्षकहरूलाई प्रश्न गर्न चाहन्छु, जसले मलाई नर्सरीदेखि प्रवीणतातहसम्म गणित पढाए । हे मेरा गणितका गुरुहरू हो, तपाईँहरूले मलाई जोड, घटाउ, गुणन, भागमात्र होइन, बीजगणित, ज्यामिति, त्रिकोणमिति, सम्भाव्यता लगायत थुप्रैका शुत्रहरू रटाउन लगाउनुभयो । तपाईँका गणितका शुत्रहरूले अल्फा, बिटा र गामालाई त खुसी दिए होलान्, वास्तविक जीवनमा प्रमाणपत्रबाहेक केही दिन सकेनन् । तपाईँहरूले मलाई आयत, वर्ग, बेलना, सोली, पृज्मको क्षेत्रफल र आयतन निकाल्न त सिकाउनुभयो, तर दु:खका आँसुको आयतन निकाल्न किन सिकाउनु भएन ? सबभन्दा पहिला जान्नुपर्ने त खासमा हामीले हाम्रा आँसुको आयतन निकाल्न नै रहेछ । जब हामी हाम्रा जिन्दगीभरका साथी आँसुको आयतन नै निकाल्न सक्तैनौँ भने त्यो बेलना, गोला, सोलीको आयतन जानेर के काम ? म मेरा आँसुको आयतन निकाल्नलाई तयार हुन्छु । निकाल्ने पो कसरी ? लम्बाई, चौडाई, उचाईँ नाप्न खोज्छु । नाप्ने पो कसरी ? के आँसुको आयतन निकाल्न नै नसकिने हो र ? खैर म जान्दिनँं । मेरा गुरुहरूले मलाई सिकाएनन्, मेरो पाठ्यक्रममा राखिएन । मैले पनि किन जान्नुपर्‍यो र ? गुरुभन्दा जान्ने किन बन्नुपर्‍यो ? मलाई लाग्छ, तर यो जान्नुपर्ने विषय हो । कसैले कसैका लागि कति आँसु बगायो ? त्यसको आयतन कति रहेछ ? यति नजान्दासम्म मनमा लागेको डढेलो पनि कहाँ नियन्त्रण हुन्छ र ? आदरणीय मेरा गणितका शिक्षकहरू, अर्को जन्ममा म देउता भएर जन्मिनेछु, तपाईँले पत्ता लगाउन नसकेको आँसुको आयतन म निकाल्ने छु, निकाल्न सिकाउनेछु । ताकि, कसैका लागि कसैले बगाएको आँसुको आयतन कति रहेछ, सबैले सजिलै थाहा पाउन् । अँ सबभन्दा पहिले त तिम्रा लागि मैले बगाएका आँसुको आयतन नै पत्ता लगाउनेछु । अनिमात्र तिमीलाई बिर्सिनेछु ।

Advertisement 3

बिर्सिनु…..? हो मैले तिमीलाई बिर्सिनु छ, नचाहेरै । तर म चाहेर पनि तिमीलाई बिर्सिन सक्तिनँ, अनि तिमी जो चाहेर पनि मलाई सम्झन सक्तिनौँ । घरीघरी तिमीलाई बिर्सेको अभिनय गर्छु, तर सक्तिनँ तिमीलाई बिर्सिन, जसरी ग्रह-उपग्रहरूले बिर्सिँदैनन् सुर्यलाई परिक्रमा गर्न । ग्रहहरूले सूर्यको परिक्रमा गर्न बिर्से भने के होला सोच त । पृथ्वीले सूर्यलाई भुल्यो भने के होला, विचार गर त । मैले तिमीलाई भुल्नु पनि ठीक त्यस्तै  त हो नि ।  चुरोट खाने मान्छेले “चुरोट छाडेँ ” भनेको भोलिपल्ट चुरोट सल्काइरहेको देख्ता जति आश्चर्य मानिँदैन, त्यति नै आश्चर्य मानिँदैन मैले बिर्सिएँ भनेर पनि तिमीलाई सम्झिरहँदा ।  मान्छेको मन पनि कस्तो है ? जसमा एउटा कुरा पसिसकेपछि त्यसलाई निकाल्नै गाह्रो, बहुतै गाह्रो । निकाल्न खोज्यो कि त आफू नै समाप्त हुने डर । तिमीलाई यो मनबाट हटाउन खोज्छु, प्रत्येक पटक हटाउने प्रयास गर्दागर्दा म आफैँ पछि हट्न थाल्छु । सायद यही होला माया, यही होला प्रेम । सायद ? यो सायद शब्दले पनि मलाई घरीघरी धक्का दिइरहन्छ । सायद यस्तो भएर उस्तो भएर तिमी मबाट टाढिए होउली ? सायद तिमीलाई मैले बुझ्न सकिनँ होला, सायद मैलेभन्दा बढी बुझ्ने अर्कै पाए होउली, सायद  …. ! नानाथरी यस्तै सोच्छु र मनमा भूकम्प गएजस्तो हुन्छ । यसको तीव्रता कति छ, कम्पन कति छ, हलचल कति छ, प्रभाव कति छ भनेर नाप्न खोज्छु, यो भूकम्पको कम्पन सिस्मोमिटरले नाप्न सक्दो रहेनछ, नाप्दो रहेछ त केवल कम्पित हुनेको मन मुटुले । मेरो मन मुटुले । अँं कुनैबेला तिम्रो मन मुटुले पनि ।

———————————————–
———————————————–
– नबोल मसँग
– ह्या नाटक नगर्नु बढी बढी
– अरू क्यार्दै छौ चल्ली ?
– यस्तै बसिरा । हजुरलाई धेरै सम्झिराछु । हजुर नबोल्दा कति एक्लोपनको फिल हुन्छ । कहिले रिसको झोकमा के-के बोल्छु पत्तै पाउँदिनँ, मलाई माफ गरिदिनुस्  मलाई माफ गरिदिनुभएन भने कतिखेर मर्दिन्छु म थाहा छैन मलाई । भिडियो कल गरम् ?
– चुप लाग, पिटाई खाल्लिस् ।  किताब पढ खुरुखुरु राम्रोसँग, अरू सबैकुरा छोड । तिम्लाई छोड्न काँ सक्छु र म ? भोलि गरम्ला है, अहिले अरू पनि छन् मस्तै ।
…………………………………………………………

– मलाई फोन नगर्नुस् त मैले भन्दियाछु ।
– तिमीलाई के भयो आजकल भन त, विगत सम्झेऊ त ।
– सम्झिनु छैन मलाई, म यस्तै छु । म अब यस्तै भएँ ।
– यस्तो नगर त चल्ली मेरो मोया लाग्दैन र तँलाई ?
– अँ लाग्दैन, अब फोन गर्नुभयो भने ब्लक गर्दिन्छु ।
– ल गरेर देखा त ?
…. यु कान्ट रिप्लाई टु दिस कन्भरसेसन, लर्न मो(र)….

सोचेको थिएँ सबै म्यासेजहरू डिलिट गरिसकेको छु । यति त बाँकी नै रहेछ । हुन त म्यासेजहरू डिलिट गर्दैमा मान्छेलाई मनबाट डिलिट गर्न त कहाँ सकिन्छ र ? म्यासेजहरूझैँ मान्छेलाई मनबाट डिलिट गर्न यदि मिल्दो हो त सबैभन्दा पहिले म तिमीलाई नै मेरो मनबाट हटाउने थिएँ, सकिन्न र पो !

साँझ परिसकेको छ । पुग्नुपर्ने ठाउँ पनि टाढा छ । बाटो किनारमा म पुग्नुपर्ने ठाउँको गाडी  रोकिएको छ । गाडीभित्र धेरै सिट खाली छन् । खलासी अघिदेखि चिच्याउँदैछ पश्चिम पश्चिम भनेर । तर किन हो, म गाडीमा चढिरहेको छैन । अर्को गाडी कुरिरहेको छु ।
वास्तवमा मलाई नै थाहा छैन, के कुर्दैछु भनेर ।  गाडी त पक्कै होइन, किनकि गाडी त यहीँ छ । सायद जे कुरिरहेको छु, त्यो हिजो पनि आएको थिएन, आज पनि आउँदैन र भोलि पनि आउने छैन ।

मान्छेको जीवन भनेकै यस्तै रहेछ है  । आउने कुरा आउँदैनन्, नआउने कुरा नचाहेर पनि आइदिन्छन्, आफ्नै आँखावरिपरी, खेल्छन् लुकामारी, दुखाइदिन्छन् मुटु, भिजाइदिन्छन् आँखाहरू  । जस्तो तिमी, मैले बोलाउँदा पनि आउँदैनौँ, तिम्रा यादहरू भने नबोलाउँदा पनि आइदिन्छन् । बिर्सन नसकेरमात्र हो, नत्र जीवनमा बिर्सिनुपर्ने कुराहरू त  धेरै छन्, जसमध्ये सबैभन्दा पहिले तिमी । सामान्यज्ञानमा पढेको थिएँ, पढेको कुरा चाँडै बिर्सिने रोग ‘अल्जाइमर्स’। त्यो त भयो पढेको कुरा बिर्सिने । यो धरतीमा कुनै यस्तो रोग होला कि नाई जसको सङ्क्रमण भएपछि टुटेका मुटुहरूलाई सजिलै भुल्न सकियोस् । ठीक अहिले म थोमस अल्वा एडिसनलाई  सम्झिरहेको छु । यदि एडिसन अहिले बाँचेकै हुन्थे त म मेरो होइन, अरूको नाम, तिम्रो नाम कसरी भुल्न सकिन्छ भनेर उहाँसँग परामर्श  लिन जान्थेँ । तर उनी त परलोक भइसके । सायद मेरो भाग्य नै यस्तै रहेछ । “भाग्य ? भाग्यमा त विश्वास गर्दिनँ भन्थिस् त ।” अँ भन्थेँ, भन्छु । भन्दिनँ पनि । जब मान्छे टुट्छ नि दोष थुपार्ने यही भाग्यलाई त हो । पुकार्ने उही भगवानलाई न हो ।

म मान्छे पनि कस्तो स्वभावको है ? खाली भयो कि जे पनि सोच्न भ्याइदिने । मनलाई सधैँ खेलाईरहने । मनलाई शान्त बस्नै नदिने । अँ मैले सुरुमै भनिसकेँ नि म अस्थिर मान्छे । खाली भएपछि मात्र ? होइन, काममै हुँदा पनि सम्झिरहन्छु, सोचिरहन्छु तिम्रै बारेमा, मनमनै कथा कविताहरू कोरिरहन्छु तिम्रा-मेरा जनजीविकाका। पढ्न भनेर किताब समातेर बस्यो, अलिअलि जबर्जस्ति पढ्यो, तिम्रो नाम आयो दिमाखमा, छोड्यो पढ्न, कि त सुत्यो कि त लेख्न थाल्यो तिम्रै बारेमा । पढ्न थाल्दा कति ठाउँमा त किताबमा तिम्रै नाम पनि हुँदो रहेछ,जब देख्छन् यी आँखाले तिम्रो नाम, आँखा आफैँलाई नै  देख्न भुलिदिन्छन् ।

वरिपरी हेर्छु, स-सानादेखि ठूल्ठूला सबै रुखहरूमा नयाँ पालुवा पलाइसकेका छन् । प्रकृति हरियाली भइसकेको छ । बसन्तको आगमन पो भइसकेको रहेछ । पुराना पालुवाहरू कति झरेर गए होलान्, कति हावाले झराए होलान् र त नयाँ पालुवाहरू पलाएका होलान्, जसरी मलाई झराएर गएपछि तिम्रा जीवनमा पनि नयाँ पालुवाहरू पलाए । बसन्तमा बसन्तमय बन्यो तिम्रो जीवन । मेरो जीवन भने उजाड शिशिर नै छ, शिशिरमै गयौ डाँडो काटेर तिमी , सायद अब कहिल्यै मेरो जीवनमा बसन्तले प्रवेश पाउनेछैन ।

” कति जान्ने भएको ? मेरा बारेमा मात्र कति सोचेको ? पढ्नु पर्दैन ?”
अनायासै तिमीले नै सोधेजस्तो लाग्छ, होइन रहेछ, वास्तवमा म आफैँले आफैँलाई सोध्दो रहेछु अझै पनि  । पढ्न त पढेँ नि । के पढेँ त्यो तिमी बुझ्न सक्तिनौँ, म बुझाउन सक्तिनँ । मार्गरेट मिचेलको ‘गोन विथ द विन्ड’ को हावा म तिमीलाई अनुभूत गराउन चाहन्थेँ, निकोलस स्पार्क्सको ‘द नोटबुक’ तिमीलाई उपहार दिन चाहन्थेँ, विलियम शेक्सपियरको ‘रोमियो एण्ड जुलिएट’ तिम्रै अगाडि पढेर तिमीलाई सुनाउन चाहन्थेँ र चाहन्थेँ रुमीका कैयन् प्रेमरूपी विश्वप्रसिद्ध कविताहरू तिम्रैसामू वाचन गर्न । खासमा हामी संसारको दुई भिन्नाभिन्नै भागमा किन जन्मियौँ होला ?

सोच्तासोच्तै पाँच पो बजिसकेछ, साँझको । आफ्नै घर जानलाई चिच्याइरहेको गाडी चढेर आफ्नै घर जाऊँ या अर्को गाडी चढेर तिमीकहाँ जाऊँ ? यस्तै सोच्छु । मान्छेको मन न हो, नानाथरी सोचिरहन्छ । सोच्नलाई न त कसैको आदेश चाहिन्छ, न त निर्देशन, न पैँसा । सोच्न त पाइयो नि । मनले भन्छ, अर्कै गाडी चढेर तिमीकहाँ जाऊँ, तिमीलाई भेटूँ, दिमाखले भन्छ, खुब भेटेको भेट्यै हो, व्यवहार भुलिस् र उसको ? किलाझैँ गाडिएका मेरा गोडाहरूलाई  आफ्नै घर जाने गाडीले स्वागत गर्छ, पछाडितिरको सिटमा म थचक्क बस्छु । म बसमा बस्नेबित्तिकै ड्राइभरले गीत लाएछन् । थानेश्वर गौतम र शान्तिश्री परियारको युगल धुन “छुट्नलाई पो रैछ क्यारे हे सानू तिम्रो-मेरो यति धेरै माया बसेको ।” ले पूरा गाडी नै रोइरहेको छ । मलाई लाग्दछ – यी गाडीका सबै सिटहरू रोइरहेका छन् । मेरो काटिएको घाउमा फेरि नुन परेछ । जङ्गलको बतासझैँ म सुसाइरहेँ ।

मैले मेरा जीवनका हरेक क्षण, हरेक पल तिम्रासामू एल्बमका पानासरी पल्टाइसकेको थिएँ । एउटै कुरा भनेको थिइनँ, जसभित्र सयौँ कुरा लुकेर बसेका थिए । जुन कुरा हृदयमा धमिराको गोलो जसरी बसेको थियो । भित्रभित्रै खाइरहन्थ्यो । …. भन्न चाहन्थेँ, भनिनँ । कि त कतिबेलै सायद भनी पो सकेँ कि ?  भन्नै पो  चाहेन कि ? चाहेन भनेँ किन चाहेन हूँला अब आफैँ अनुमान गर्नु । हुन त तिमीलाई के चाँसो ? किन अनुमान गरिरहनपर्‍यो र है ? तिमी त व्यस्त मान्छे, अर्कैकी भइसकेकी मान्छे …. । …. समयले गरायो हामीलाई धेरै टाढा, हिँड्यौ अलगै-अलग सहर, जलाइदियौ हाम्रा साझा रहरै-रहर, तिम्रा लागि भए म जहरै-जहरै, तिमीलाई सम्झिरहन्छु म हरेक प्रहरै-प्रहर । ती झिमझिम् गर्ने परेलीहरू, चन्द्रमाजस्ता जूनेली आँखा, मैनजस्तै आँखीभौँ, गुलाब फूल फुलेझैँ फुलेका गाला, कसिएको छाती, रसिला ओठ, मिलेका सेता दन्त लहरहरू, हिस्सी परेको बाटुलो गोलो अनुहार, हाँस्ता हिस्सी परेको गालामा देखिने खोपिल्टा, कालो लामो कपाल र मिलेको जीउडाल सकिँदैन बिर्सिन जत्ति कोसिस गरे पनि ।

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार ०६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry